काठमाडौबाट स्कर्पियो लिएर झापा पुगेका तीन युवाले बैंकमा दुई लाख रुपैयाँ जम्मा गरि दिए पछि पचास ग्राम ‘ब्राउन सुगर’ लिएर फर्कने क्रममा पक्राउ परेका हुन् । एक लाख रुपैयाँ पछि दिने शर्तनामा थियो ।
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा आसपासको बजार क्षेत्र लागु औषध प्रयोगकर्ता र कारोवारीको ‘ट्रान्जिट’ तथा मुख्य क्षेत्र बन्ने क्रम भंग गर्न प्रहरीको सर्च अभियान तिब्र बनेको छ । लागु औषध (खैरो हिरोईन पछि) ब्राउन सुगरको कारोवार गर्ने समुहका केहि सदस्यलाई पक्राउ गरेको छ । संलग्न मध्ये तीन पक्राउ परेका छन् भने तीन फरार छन् ।
पक्राउ पर्नेमा काठमाडौ जिल्ला शंकारपुर नगरपालिका वडा नम्वर १० घर भएका ३२ बर्षीय किशोर थापा, सोहि नगरपालिका वडा नम्वर ९ का २४ बर्षिय अविशेख राजवाहक, सोहि ठेगानाका ३० बर्षिय विराट थापा रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने सोहि अभियोगमा संलग्न भई फरार भएका झापा जिल्ला लखनपुर ४ घर भई हाल विर्तामोड नगरपालिका ३ स्थित न्यु देव चस्मा घरका संचालक ४१ बर्षिय देवीप्रसाद सिवाकोटी, सोहि ठेगाना भएका ३२ बर्षिय पवनकुमार चौधरी र झापा अनारमनी गाविस २ घर भई हाल अनारमनी नगरपालिका ४ घर भएका ६१ बर्षिय फुरिदा मुस्लिमलाई पक्राउ गर्न आदेश जारी भएको छ । २०८१ मसिर १६ गते विहान १० बजे धुलिखेल नगरपालिका ९ स्थित विपी राजमार्गको काभ्रे भन्ज्याङमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले भकुण्डेबेशीबाट धुलिखेल तर्फ आउँदै गरेका बा १५ च २३५६ नम्वरको स्कर्पियो गाडी चालक अविशेख राजवाहक, सोहि गाडीमा रहेका किशोर थापा र विराट थापा सहितले गाडीको ड्यासबोर्डमा रहेको साउन्ड सिस्टम भित्र ४७ ग्रामको ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।
२०८१ मसिंर १४ गते अविशेख राजबाहक, विराट थापा र किशोर थापा स्कर्पियो गाडी लिएर झापा पुगेका थिए । झापा पुगेर उनिहरु होटलमा नभई गाडी भित्र नै सुतेका थिए । मसिंर १५ गते विहान झापा विर्तामोडमा रहेको श्री होटल एण्ड लजमा विराट थापाले एक लाख रुपैयामा ५० ग्राम ब्राउन सुगर किन्ने कुरा छिनोफानो भयो । फोनमा डिल भए पछि एनआईसी बंैकमा न्यू देव चस्मा घर र पवन चौधरीको नाममा रहेको एनआईएम वि बैकमा गरी २ लाख रुपैया जम्मा गरिदिएका थिए । बाँकी एक लाख रुपैया काठमाडौ फर्किएर जम्मा गरिदिने शर्तनामामा उक्त सामाग्री बुझाएका थिए । पैसा बैंकमा जम्मा गरिदिए पछि दुई जना भारतीय जस्तो अनुहार भएका ब्यक्तिले होटलमा नै ब्राउन सुगर दिएर फर्किए । तिनै जनाले अलिकति ब्राउन सुगर सेवन पछि भोलिपल्ट १६ गते विपी राजमार्ग हुँदै काठमाडौ आउने क्रममा प्रहरीले विशेष निगरानी र सूचनाका आधारमा पक्राउ गरेको थियो ।
गिरोह सधै ‘फरार’
विरामी बोक्ने एम्बुलेन्समा लुकाएर लागु औषध ‘डाईजेपाम’ ल्याउने धनुषा जिल्ला धनुषाधाम नगरपालिका वडा नम्वर ६ हरिपुर घर भई महोत्तरी बर्दिवास नगरपालिका वडा नम्वर १० बस्ने ४४ बर्षिय सुरेश मिझारलाई प्रहरीले रोशी गाउँपालिका स्थित विपी राजमार्गबाट २०८१ मंसिर २० गते पक्राउ गरेको थियो । उनले भाडामा लिएको एम्बुलेन्समा चालक बस्ने सिटको पछाडी राखेर लागु औषध नुफिन १ हजार एम्पुल, डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल गरी ३ हजार एम्पुल ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो । उनकै बयानका आधारमा अन्य ४ जनाको नाम बताए पनि उनिहरु सबै फरार छन् । धनुषा जिल्ला साविक ढल्केबार गाविस ५ घर भई हाल मिथिला गाउँपालिका ६ का ५१ बर्षीय कुमार शाह, सोहि ठेगानाका ४९ बर्षिय पप्पुकुमार शाह हलुवाई, २५ बर्षिया रिन्कुकुमारी शाह र नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३० बर्षिय सुरेश भुजेल रहेका छन् । उनिहरु सबै फरार छन् । पछिल्लो समय लागु औषध प्रयोगकर्ता र ओसारपसार गर्ने ब्यक्ति पक्राउ परे पनि मुख्य गिरोह पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ । एम्बुलेन्स चालक सुरेश मिझारले ११ हजार रुपैयाको प्रलोभनमा विरामी लैजाँदा उक्त सामान राखेर लगिदिएको बयान दिएका छन् ।
विरामी पु-याउने क्रममा उक्त सामान लिन काठमाडौ स्थित कान्ति बाल अस्पतालमा कोहि ब्यक्ति आउने भएकाले सामान लगिदिन मात्रै भनेको बयान प्रहरीलाई दिएका छन् । पछिल्लो समय ब्यवसायमा आएको मन्दिका कारण विभिन्न पेशा ब्यवसायमा संलग्न ब्यक्तिहरु नै लागु औषधको ओसारपसारमा संलग्न हुँदै आएका छन् ।





