वडा कार्यालयको सहयोगमा विद्यालयले बाल विकास केन्द्र देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्था गरेको छ । विद्यालय हाता भित्र ‘जंकफुड’ निषेध गरिएको छ ।
मोतीराम तिमल्सिना
श्रीखण्डपुर, धुलिखेल
काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक तथा ललितपुर जिल्लाबाट रोजगारका लागि शहर प्रवेश गरेका अभिभावकका सन्तानको स्थायी विद्यालय हो धुलिखेल ५ स्थित श्रीखण्डपुर माध्यमिक विद्यालय । चालु शैक्षिक सत्रमा ३६९ जना विद्यार्थी अध्ययनरत थिए । जसमध्ये ३ सय भन्दा धेरै विद्यार्थीको श्रीखण्डपुरमा अस्थायी बसोबास छ । ‘अस्थायी’ बसोबासीको ‘स्थायी’ विद्यलाय बनेको छ श्रीखण्डपुर मावी ।
‘स्थानीयसँगै अस्थायी बसोबासीहरुको आकर्षण बढेको छ’–वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले भने–‘विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बालबालिकाहरुलाई आवश्यक पर्ने हरेक खालका शैक्षिक गतिविधिमा सहयोग गर्न वडा कार्यालय तयार भएको छ ।’ वडाले विनियोजन गरेको बजेट मार्फत अभिभावक साझेदारी कार्यक्रम मार्फत कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुका लागि दिवा खाजाको ब्यवस्थापन गरिएको छ । वडा कार्यालयले विनियोजन गरेको ४ लाख रुपैया बजेट मार्फत बालबालिकाहरुका लागि दिवा खाजा तथा शिक्षकहरुलाई नमूना विद्यालय अवलोकन गराईएको छ । ‘विद्यालयमा जंकफुड निषेध गर्ने उद्देश्यले सरकारले उपलब्ध गराएको शुन्य–पाँच कक्षाका विद्यार्थीहरुका लागि दिवा खाजा थप गरेर सबै विद्यार्थीहरुका लागि अभिभावक विद्यालय र वडा कार्यालयको साझेदारीमा चालु शैक्षिक सत्रमा पूर्ण रुपमा कार्यान्वयन गरिएको छ’–वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले भने–‘आगामी शैक्षिक सत्रमा वडा कार्यालयले बजेट विनियोजन गरी विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने गरी शिक्षक कर्मचारीको ब्यवस्थापन गरिनेछ ।’
विद्यालयमा दैनिक ज्यालादारी गर्ने अभिभावकहरुका सन्तान अध्ययन गरिरहेका छन् । उनिहरुले बालबाकिलाहरुलाई नियमित खाजा लगायत अन्य शैक्षिक सामाग्रीको ब्यवस्थापन गर्न कठिन छ । गरिव विद्यार्थीहरुका लागि विद्यालय आफैले खर्च ब्यवस्थापन गर्ने गरी शिक्षा उपलब्ध गराएको छ । विद्यार्थीहरुका गुनासा सुनुवाईका लागि शिक्षिका शोभा दाहाल सापकोटालाई तोकिएको छ । सूचना पाटीको ब्यवस्था गरिएको छ । अधिकांश विद्यार्थीहरुले विद्यालयमा हुने सबै खालका गुनासाहरु शिक्षिका सापकोटा मार्फत दिने गर्छन । नाम उल्लेख नगरी गोप्य गुनासा भए त्यसको सुनुवाईका लागि समेत सूचना पाटी राखिएको शिक्षिका सापकोटाले बताईन् । ‘विद्यार्थीहरुले शौचालय फोहोर हुँदा, खानेपानी तथा अन्य शैक्षिक कृयाकलापमा केहि समस्या भए तत्कालै गुनासो गर्छन’–शिक्षिका शोभा दाहाल सापकोटाले भनिन्–‘छात्र भन्दा छात्रा विद्यार्थीहरुको गुनासो धेरै आउँछ । तत्कालै सम्बोधन गर्ने गरी विद्यालयले सुनुवाई गरेको छ ।’
सामुदायिक विद्यालयको अर्काे नमूना कार्य सूचना अधिकारीको जिम्मेवारी सहित प्रशासन समेतको जिम्मेवारी दिएर आधारभुत तह ६–८ इन्चार्ज नवराज तिमल्सिनालाई तोकिएको छ । विद्यालयबाट प्रदान गर्नु पर्ने हरेक सूचना शिक्षक तिमल्सिना मार्फत उपलब्ध हुने गरेको छ । पारदर्शिता, जवाफादेहिता र गुणस्तरीयताका लागि विद्यालयले संविधान तथा कानूनले तोकेका सबै ब्यवस्थाहरु गर्ने प्रयत्न गरेको सूचना अधिकारी शिक्षक नवराज तिमल्सिनाले बताए । विद्यार्थीहरुका लागि तातो तथा चिसो शुद्ध पानी उपलब्ध गराउँदै आएको विद्यालयले हरित विद्यालय निर्माणमा जोड दिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराईले विद्यार्थीहरुको सिकाई अभिबृद्धिका लागि ई–लाईब्रेरी, मंगलादेवी बगैंचा निर्माण तथा हरित विद्यालय निर्माण, पुरनो भवनको डेकोरेसन सहित भित्ते लेखन, आर्कषक कोठाहरुको सजावट, पाठ्यक्रमले निर्धारण गरेका विषयहरुलाई सीपमुलक सिकाई, डिजिटल प्रविधि मार्फत सिकाई गराउने उद्देश्यले पहिलो चरणमा चारवटा कक्षामा प्रोजेक्टर तथा स्मार्ट बोर्ड लगायतका सुधारका कार्यहरु प्रारम्भ गरिएको बताए ।
विद्यालयको भौतिक पूर्वाधारलाई सम्पन्न र सुन्दर बनाईराख्न धुलिखेल नगरपालिकाले चउरमा ब्लक निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ भने ब्यवस्थापकीय सुधारका लागि सामाजिक विकास मन्त्रालय मार्फत सहयोग उपलब्ध हुने क्रममा छ । लेखापाल, सुरक्षा गार्ड, कम्प्युटर शिक्षक, सहयोगी तथा बालविकास केन्द्रमा समेत गरी विद्यालयमा २८ जना शिक्षक कर्मचारी कार्यरत छन् । अध्ययनरत विद्यार्थीहरु मध्ये ७० प्रतिशत भन्दा धेरै तामाङ समुदायका छन् । अधिकांश डेरामा बसोबास गर्छन । कोहि विद्यार्थीहरु त शैक्षिक सत्रको बीचमा र अन्त्य हुन लाग्दा समेत भर्ना हुन आउने गरेका छन् । विद्यालयले पहिलो पटक कक्षा ४ देखि अंग्रेजी माध्यमबाट अध्यापन गराउन शुरु गरेको छ । वडा कार्यालय मार्फत प्राप्त हुने थप सहयोगले आगामी शैक्षिक सत्रबाट थप कक्षाहरुमा समेत अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक जुजुभाई मानन्धरले बताए ।
विद्यालयको शैक्षिक सुधारका लागि महत्वपूर्ण मानिएको छ एमजीएमएल कार्यक्रम । ‘एमजी’ मात्रै नभई ‘एमएल’लाई थप प्राथमिकतामा राखिएकाले कक्षा ६ देखि पनि विद्यार्थीको सिकाईमा सहयोग गरेको छ’–विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराईले भने–‘विद्यालयमा कार्यान्वन भईरहेको कक्षा ५ सम्मको एमजीएमल कार्यक्रम सामुदायिक विद्यालयको शैक्षिक सुधारको जग बनेको छ ।’ विद्यार्थीहरुको आत्मविश्वास बढेको छ । विद्यार्थीहरुले विहान देखि घर नर्फकँदा समेतको अवस्थामा आफ्ना कृयाकलापलाई अनुशासित भएर सम्पन्न गरिरहेका छन् । शिक्षकहरुलाई ई हाजिरीको ब्यवस्था गरिएको छ । आधारभुत तहको शुन्य–कक्षा ५ ईन्चार्ज शिक्षक शिव बञ्जाराले बालबालिकाहरुलाई गुणस्तरीय खाजा र सरसफाईमा विशेष ध्यान दिएको बताए । विहानको समयमा बालबालिकाहरुले हरेक दिन फरक–फरक विद्यार्थीहरुले सदन अनुसार कुनै नै कुनै प्रश्नोत्तर चलाउँछन । जसले उत्तर मिलाउँछ त्यो विद्यार्थीले पुरस्कार पाउने ब्यवस्था गरिएको छ ।
विद्यालयमा अतिरिक्त कृयाकलाप अन्र्तगत हरेक शुक्रबार दिउसो २ देखि ४ बजेसम्म कक्षा कोठा भित्र र बाहिरका खेलकुद लगायतका प्रतियोगिता संचालन हुने गरेका छन् । नृत्य तथा संगित शिक्षक मार्फत इच्छुक विद्यार्थीहरुलाई सिकाउने तथा उनिहरुलाई सहभागी गराई प्रतिभा प्रस्फुटन गराउने गरिएको छ । विद्यार्थीहरुलाई अवाश्यक हुँदा विद्यालय नर्सद्वारा सरसफाई तथा नियमित परिक्षण, वडामा रहेको शहरी स्वास्थ्य केन्द्र र अस्पतालसम्म पु¥याउने ब्यवस्था गरिएको छ । वर्षमा दुई पटक दाँतको शिविर आयोजना गरी दाँत माझ्न, हात धुन तथा अन्य सरसफाईका बारेमा सचेत गराउँदै मञ्जन र ब्रस उपलब्ध गराउने गरिएको छ । छात्राहरुका लागि आवश्यक पर्ने स्यानेटरी प्याड, प्रयोग पछिको उचित ब्यवस्थापन लगायतका कार्य गरिएको छ । विद्यालयले हरेक गतिविधिमा सक्रिय सहभागी भई नगरस्तरीय कार्यक्रममा समेत उत्कृष्टता हासिल गर्दै आएको छ ।
एसईई २०८० को परीक्षामा धुलिखेल नगर स्तरीय सामुदायिक विद्यालयहरु मध्ये पहिलो भएको श्रीखण्डपुर मावीको आफ्नै इतिहास छ । २०७९ सालमा पनि छात्रातर्फ उत्कृष्ट जिपिए ल्याएको विद्यालयका लागि ब्यवस्थापन समितिले भरपुर सहयोग गरेको छ भने स्थानीय नगर र वडा सरकारको दर्बिलो साथ र सहयोग रहेको प्रधानाध्यापक जुजुभाई मानन्धरले बताए । २०३५ सालमा स्थापना भएको उक्त विद्यालयले पनौती र धुलिखेलका केहि वडाका बालबालिकाहरुलाई पनि शिक्षा प्रदान गरिरहेको छ । अशोकचन्द्र गोपाल धुँजु श्रेष्ठ अध्यक्ष रहेको उक्त विद्यालयको पक्कि भवनका लागि नगर प्रमुख अशोक ब्याञ्जुले विशेष पहल गरेका थिए । एशियाली विकास बैंकको आर्थिक सहयोगमा १६ कोठे पक्की भवन निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा विद्यालय सक्रिय छ ।
विद्यालयले अभिभावक सहयोग शुल्क बापत कम्प्युटर शुल्क कक्षा ४ देखि ८ सम्मका बालबालिकाहरुका लागि बार्षिक १ हजार ५ सय लिएको छ भने कक्षा ९ र १० लाई निशुल्क उपल्ब्ध गराईएको छ । अभिभावक सहयोग शुल्क कक्षाको तह अनुसार बार्षिक १ सय रुपैयाँ देखि १ हजारसम्म लिएको छ । बार्षिक हुने तीनवटा परीक्षाका लागि नगरपालिकाले तोके अनुसार लिदै आएको छ । मसलन्द तथा अन्य ब्यवस्थापकीय खर्चका लागि सामुदायिक विद्यालयहरुमा पर्याप्त श्रोत नहुँदा विद्यालयले उपलब्ध गराउनु पर्ने सुविधामा कठिनाई भोगिरहेको छ । सामुदायिक विद्यालयले गरेको सुधार तथा मेहनतलाई अभिभावकहरुले गरेको विश्वासलाई अझै बढाउँदै ब्यवहारीक, अनुशासित र संस्कार सहितको शिक्षा उपलब्ध गराउनु पर्नेमा अभिभावकहरुले सुझाव दिएका छन् ।





