2026 August 05/ 12:19: 13am

पनौती, रयाले/पनौती नगरपालिका वडा नम्बर १ रयाले स्थित भालचन्द्र माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको भवन पक्की भवन हस्तान्तरण गरिएको छ । नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा तथा नेपाल हिल्फे बाईलङ्ग्रिस इभि जर्मनीका प्रमुख म्यानफ्रेड लिड्नर लगायतले नव निर्मित भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । 
    विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिनालाई विद्यालय भवन हस्तान्तरण गर्दै प्रमुख अतिथी नगर प्रमुख रामशरण भण्डारीले भवनको सदुपयोग, संरक्षण र भवनबाट दिने सेवा गुणस्तरीय बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । साझेदारी स्वरुप भवन निर्माण पश्चात आवश्यक पर्ने फर्निचरका लागि चालु वर्षमा खर्च हुने गरी १९ लाख रुपैया नगरपालिकाको तर्फबाट विनियोजन गरिएको छ । कार्यक्रममा बोल्दै जर्मनीका अध्यक्ष म्यानफ्रेड लिड्नरले नेपालसँगको सम्वन्ध र सहयोग निरन्तर गर्ने बताए । शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा विभिन्न क्षेत्रमा सहयोग गरेको उनले बताए । नेपालका ९ वटा जिल्लामा कार्य गरिरहेको बताउँदै उनले आगामी दिनमा पनि निरन्तर सहयोगका लागि समन्वय गर्ने बताए । 
    उपप्रमुख गिता बञ्जाराले पनौतीको रयालेमा २०११ देखि सहयोगको शुरुवात गरिरहेको उक्त संस्थालाई निरन्तर सहयोगका लागि अनुरोध गरिन् । गुणस्तरीय शिक्षाका लागि निरन्तर स्थानीय सरकारको तर्फबाट सहयोग पु¥याएको बताउँदै उनले भवनको सदुपयोग गर्न अनुरोध गरिन् । विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिनाले २०१७ साल मंसिर ९ गते कक्षा १ देखि ३ सम्म अनुमति पाएर संचालन विद्यालयले २०४० सालमा कक्षा ५ सम्म, २०६२ सालमा निमावी र २०६७ सालमा माध्यमिक तह संचालन हुँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयत्न गरेको बताए । कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट अध्यापन शुरु गरेको उक्त विद्यालयले बार्षिक कार्ययोजना निर्माण गरी विभिन्न मनोरञ्जनात्मक खेलकुद, चित्रकला, फूलबारी निर्माण, वादविवाद, हाजिरजवाफ, शैषिक अवलोकन भ्रमण जस्ता सह तथा अतिरिक्त कृयाकलाप संचालन गरिरहेको बताए । भवन निर्माण तथा शैक्षिक सामाग्रीका लागि सहयोग गरेकोमा प्रधानाध्यापक तिमल्सिनाले बताए । 
    अध्यक्ष पदमबहादुर तामाङले विद्यालय ब्यवस्थापन समितिको जिम्मेवारी प्राप्त गरे पछि अभिभावकहरुसँग गरेको प्रतिबद्धता पुरा भएको बताए । भवन निर्माणको कार्य सम्पन्न भए पछि अब यातायात, फर्निचर तथा गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध भई सक्रिय हुने अध्यक्ष तामाङले बताए । भवन निर्माण गरी स्थानीयलाई लगाएको गुन जर्मनको उक्त संस्था र जर्मनी नागरिकलाई धन्यवाद दिदै अध्यक्ष तामाङले विद्यालयलाई निरन्तर सहयोग गर्न अभिभावकहरुलाई समेत अनुरोध गरे । कार्यक्रममा नेपाल हिल्फे जर्मनीका उपाध्यक्ष राल्फ पेस्चल, नेपालका देश निर्देशक हरि अधिकारी, कार्यक्रम संयोजक शयाम पण्डित, काठमाडौ कार्यालयका गुप्ता लगायतको टोली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष जयबहादुर तामाङ, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु, जनप्रतिनिधिहरु, पुर्व प्रधानाध्यापकहरु भिमसेन थापा, शिवराम आचार्य, ओमप्रकाश वाईवा, पूर्व सल्लाहकार समितिका अध्यक्ष तुल्सीप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु विष्ट, जग्गादाताहरु, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
    सोहि अवसरमा पूर्व प्रधानाध्यापकहरु, जग्गादाताहरु कृष्णबहादुर थापा, नारायण श्रेष्ठ, रामबहादुर थापा, अर्जुन बहादुर थापा, भक्तबहादुर थापा र खड्ग थापालाई सम्मान गरिएको थियो । विद्यालयमा १ सय २३ छात्र र १ सय ६ छात्रा गरी २ सय २९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । २० जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेको उक्त विद्यालयमा विद्यार्थीहरुको सिकाईमा जोड दिदै आईसिटी ल्याब, लाईब्रेरी लगायतका सुविधा उपलबध गराईएको प्रधानाध्यापक चन्द्र तिमल्सिनाले बताए । नेपाल हिल्फे बाईलङ्ग्रिस इभि जर्मनीले २०१३ देखि उक्त विद्यालयमा निरन्तर सहयोग गरिहेको छ । २०७० सालमा ८५ लाख रुपैयाको सहयोगमा १६ कोठे भवन निर्माण भएको छ । शनिबार उद्घाटन गरिएको भवनमा २ करोड १३ लाख रुपैया खर्च गरेको छ । असोज १०–१२ मा स्टेशनरी, स्कुल ब्याग तथा विद्यालयलाई आवशयक पर्ने कम्प्युटर, फर्निचर लगायतका सामाग्री उपलब्ध गरायो । वर्षातबाट क्षति गराएको भवनमा रङ लगाउन सहयोग गरेको थियो । निर्माण सम्पन्न भएको भवनको माथिल्लो तल्लामा ३० लाख बराबरको ट्रस्ट निर्माणका लागि सहयोग गर्ने भएको छ । 
    भुकम्प पछि उक्त विद्यालयलाई नेपाल हिल्फे बाईलङ्ग्रिस इभि जर्मनी संस्थाले टेण्ट, विद्यालय पोशाक तथा स्टेशनरी उपलब्ध गराएको थियो भने कोभिडका समयमा ४ लाख बराबरको सामाग्री उपलब्ध गराएको थियो । १९९३ अथार्त ३३ वर्ष अघि स्थापना भएको उक्त संस्थाले केहि समय अघि गण्डकी प्रदेशमा १८ करोड बराबरको प्रादेशिक अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ । नेपालका ९ वटा जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन भईरहेको कार्यक्रम संयोजक श्याम पण्डितले बताए ।