
मोतीराम तिमल्सिना
धुलिखेल
आज चैत्र ७ गते विहीबार देखि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ शुरु भएको छ । परीक्षालाई आवश्यक पर्ने सम्पूर्ण तयारी हिजो नै पुरा गरिएको थियो । यो पटक विद्यार्थी संख्या कम भएका कारण केन्द्र घटेका छन् । केन्द्र घटेका कारण विगतमा जस्तै केहि विद्यालयहरुका विद्यार्थीहरु डेरा लिएर बस्न बाध्य भएका छन् ।
प्राविधिक तर्फका १ सय ९६ विद्यार्थी बनेपामा डेरा लिएर बसेका छन् । परीक्षा शुरु हुनु एक साता अघि देखि नै विद्यार्थी र अभिभावकहरुलाई डेराको चिन्ता थपिएको थियो । पाँचखाल, भुम्लु, चौरीदेउराली, खानीखोला, रोशी, तेमाल र महाभारत लगायतका पालिकाहरुमा विद्यार्थीहरु डेरा लिएर परीक्षा दिन बाध्य भएको अभिभावकहरुको गुनासो छ । डेरा लिएर परीक्षामा सहभागी हुँदा अभिभावकलाई आर्थिक बोझ र विद्यार्थीलाई मानसिक तनाव हुने गरेको विद्यार्थीले बताए । आईतबार परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गराईएको थियो । केन्द्राध्यक्षहरुलाई परीक्षा अघि, परीक्षाको समयमा र परीक्षा सकिए पछि गर्नुपर्ने तयारी लगायतका विषयमा अभिमुखीकरण गराईएको थियो ।
यो वर्ष जिल्लामा ३४ वटा केन्द्र मार्फत परीक्षा संचालन हुँदैछ । जसमध्ये तीनवटा केन्द्रमा महिला केन्द्राध्यक्ष रहेका छन् । ‘बनेपाको चैतन्य माविमा निशादेवी मानन्धर, पूर्ण सञ्जीवनी माविमा गायत्री तिमल्सिना र हनुमान मावि पातलेखेतमा सरिता सुनुवार केन्द्राध्यक्ष रहनु भएको छ’–शिक्षा विकास तथा समन्वय इकाई काभ्रेकी इकाई प्रमुख उप सचिव देवका ढकालले भनिन्–‘गत वर्ष ४० वटा परीक्षा केन्द्र कायम थिए । यो वर्ष विद्यार्थी संख्याका आधारमा ६ वटा कटौती गरिएको छ । ३४ वटा केन्द्र कायम भएका छन् ।’
केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणसँगै परीक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराईएको छ । सहभागी केन्द्राध्यक्षहरुले परीक्षा संचालन खर्च कम भएको बताएका थिए भने प्राविधिक तर्फ १० दिनको परीक्षाका लागि गरिएको ब्यवस्थापन ११ दिनलाई पु¥याउनु पर्ने गुनासो गरेका थिए । प्राविधिक तर्फ ११ दिन एसईई संचालन हुनेछ । महाभारत गाउँपालिका स्थित गोकुले माविका केन्द्राध्यक्ष पदम तिमल्सिनाले दुर्गम क्षेत्रमा सुरक्षा निकायको उपस्थिती पनि कम हुने र भएको उपस्थितिमा पनि ब्यवस्थापन गर्न पर्याप्त खर्च नहुने बताए । शिक्षा सदन माध्यमिक विद्यालयका केन्द्राध्यक्ष लक्ष्मण दाहालले प्राविधिक तर्फको ब्यवस्थापकीय कार्यमा त्रुटी रहेको बताए । शिक्षा सदन माविमा जिल्लाभर पढाई हुने प्राविधिक विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले परीक्षा मर्यादित, अनुशाशित, ब्यस्थित गर्न निर्देशन दिए । राजनीतिक दबाब र प्रभावबाट समेत मुक्त भई निष्पक्ष परीक्षा संचालनका लागि निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी ढकालले त्रुटी भएमा कानून अनुसार कारवाही गरिने बताए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले परीक्षा केन्द्र मर्यादित गर्न सुझाव दिए । प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले सुरक्षाका हिसावले मजबुत रहने बताउँदै निर्धक्क परीक्षा संचालनका लागि अनुरोध गरिन् । आवश्यक सुरक्षा ब्यवस्था मिलाई सकिएको बताउँदै प्रहरी प्रमुख खड्काले सुरक्षामा कुनै कमी हुन नदिने बताईन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले परीक्षाका लागि आवश्यक निर्देशिका सहितका सामाग्रीहरु उपलब्ध गराईएकाले सोहि अनुसार गर्न निर्देशन दिईन् । अभिमुखीकरण कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्षहरु, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतको सहभािगता रहेको थियो ।
परीक्षामा एकजना दृष्टिविहीन, एक जना कारगारमा रहेका कैदी परीक्षार्थी सहभागी भएका छन् । एसईई परीक्षा २०८१ मा नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुने गरी तयारी गरिएको थियो । ग्रेड बृद्धिका लागि ६ सय २ जना विद्यार्थी सम्मिलित हुँदैछन् । प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागी हुनेछन् । कुल विद्यार्थी ६ हजार ३ सय ९१ सहभागी हुनेछन् । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थी सहभागी हुनेछन् । पुरानो पाठ्यक्रम अनुसार २०७८ र २०७९ का ७ जना ग्रेड बृद्धिमा छन् ।
३४ मध्ये तीन विद्यालयका शुन्य विद्यार्थी छन् भने ३० भन्दा धेरै विद्यालयमा १० भन्दा कम विद्यार्थी छन् । केहि विद्यालय पहिलो पटक एसईईमा सहभागी हुँदैछन् । शुन्य विद्यार्थी भएका विद्यालयहरु ज्ञानोदय मावि दाप्चामा नियमित तर्फ शुन्य विद्यार्थी छन् भने ग्रेड बृद्धिमा तीन जना छन् । फेमश इङलिस बोर्डिङ स्कुलबाट पनि नियमित तर्फ शुन्य र ग्रेड बृद्धिमा एक जना विद्यार्थी छन् । सगुन विद्या मन्दिर खनालथोकबाट पनि नियमित तर्फ शुन्य र ग्रेड बृद्धिमा तीनजना विद्यार्थी छन् । २ सय १६ विद्यालयबाट नियमित र ग्रेड बृद्धि तर्फ ६ हजार ३ सय ९१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
जिल्लामा सबैभन्दा धेरै विद्यार्थी बनेपा साँगामा रहेको नेपाल प्रहरी स्कुलमा छन् । उक्त विद्यालयबाट १ सय ९५ विद्यार्थी छन् । एकसय भन्दा धेरै विद्यार्थी भएको अर्काे विद्यालय भालेश्वर मावि रहेको छ । जसबाट १ सय १६ जना नियमित तर्फ र २ जना ग्रेड बृद्धिमा सहभागी हुँदैछन् । तेश्रो ठुलो र धेरै विद्यार्थी भएको विद्यालय सञ्जीवनी मावि हो जसबाट १ सय १३ जना विद्यार्थी सहभागी हुँदैछन् । नीजि विद्यालयमा पनि एक सय भन्दा धेरै विद्यार्थी छैनन् । नीजितर्फ बनेपाको बेलर इन्टरनेशनल स्कुलबाट ९९ जना, काभे मावि बनेपा बुडोलबाट ९८ जना र विद्या सागर स्कुलबाट ८० जना विद्यार्थी सहभागी हुँदैछन् । सामुदायिक विद्यालयतर्फ कुशादेवी मावि कुशादेवीबाट ७७ जना, आजाद मावि बालुवाबाट ७१ जना, पार्वती माविबाट ६३ जना, जनक मावि मेथिन्कोटबाट ५७ जना विद्यार्थी सहभागी हुँदैछन् । विद्याकुञ्ज अनौपचारीक माध्यमिक विद्यालयबाट १ सय ६२ जनाले परीक्षा दिदैछन् ।
कुन केन्द्रमा कति विद्यार्थी
पूर्ण सञ्जीवनी मावि परीक्षा केन्द्रमा चार वटा विद्यालयका १ सय ६१ जना विद्यार्थी सहभागी हुनेछन् । जसमा नैमिषारन्य गुरुकुल विद्यालयबाट ४ जना र हिमालय इन्टरनेशनल एकेडेमीबाट ५ जना विद्यार्थी सहभागी छन् । सबैभन्दा धेरै सञ्जीवनी माविबाट १ सय १३ जना विद्यार्थी छन् । सर्वमंगला मावि पाँचखाल केन्द्रमा १० वटा विद्यालयका ३ सय ३८ जना विद्यार्थी सहभागी हुनेछन् । प्रभा मावि कात्तिकेदेउरालीमा ४ वटा विद्यालयका ८१ जना विद्यार्थी सहभागी हुनेछन् । जसमा देउराली मावि विर्तादेउरालीका ७ जना छन् ।
डेडीथुम्का माविमा ६ वटा विद्यालयका १ सय ७४ जना विद्यार्थी सहभागी हुँदैछन् । नारायणस्थान मावि पोखरी तेमालमा ६ वटा विद्यालयका १ सय २८ जना विद्यार्थी सहभागी हुनेछन् । तेमाल माविबाट ८ जना नियमित र ४ जना ग्रेड बृद्धिमा सहभागी हुँदैछन् । प्रकाश मावि भुम्लुमा ७ वटा विद्यालयबाट १ सय ४६ जना सहभागी हुँदैछन् । पार्वती मावि बेथान्चोकमा ६ वटा विद्यालयबाट १ सय १३ जना विद्यार्थी सहभागी हुँदैछन् । मंगल जनविजय मावि मंगलटारमा ८ वटा विद्यालयबाट २ सय ९ जना सहभागी हुँदैछन् । कुशादेवी मावि पनौती कुशादेवीमा ७ वटा विद्यालयका १ सय ८० जना सहभागी हुँदैछन् ।
चण्डेश्वरी मावि नालामा १० वटा विद्यालयका २ सय १३ विद्यार्थी सहभागि हुँदैछन् । इन्द्रेश्वर मावि पनौतीमा ६ वटा विद्यालयका २ सय ५६ जना विद्यार्थी सहभागी हुँदैछन् । लक्ष्मीनारायण मावि श्यामपाटीमा ६ वटा विद्यालयका १ सय ११ जना छन् । ज्ञानोदय माविका नियमित तर्फ शुन्य छन् भने ग्रेड बृद्धिमा ३ जना छन् । दाप्चा माविमा सबैभन्दा कम ६ जना र कृष्ण माविमा ९ जना नियमिततर्फ छन् । आजाद मावि बनेपामा १० विद्यालयका २ सय ९९ विद्यार्थी छन् । श्वेतवराह माविबाट नियमित तर्फ १ जना मात्रै विद्यार्थी छन् भने काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थी छन् ।
श्रीराम मावि खोपासीमा ६ वटा विद्यालयका २ सय १५ जना छन् । कानपुर मावि नमोबुद्धमा ५ वटा विद्यालयका १ सय ५ जना छन् । महेन्द्र मावि साँगामा ३ विद्यालयका ३ सय ३७ जना छन् । नेपाल प्रहरीका १ सय ९५ जना विद्यार्थी छन् । बेलर स्कुल बनेपाका ९९ जना छन् । जनविकास मावि ताल्ढुंगामा ६ वटा विद्यालयका १ सय ११ जना छन् । जनक मावि काफ्लेथोकमा ५ वटा विद्यालयबाट १ सय ४० जना सहभागी हुँदैछन् । श्रीखण्डपुर माविमा ५ वटा विद्यालयबाट ३ सय २० जना सहभागी हुँदैछन् ।
चैतन्य मावि बनेपामा ९ वटा विद्यालयका २ सय १७ जना विद्यार्थी सहभागि हुँदैछन् । जसमा फेमश स्कुलबाट नियमित तर्फ शुन्य विद्यार्थी छन् । आजाद मावि बालुवामा ७ वटा विद्यालयबाट १ सय ८७ विद्यार्थी सहभागी हुँदैछन् । भालेश्वर मावि पनौतीमा ८ वटा विद्यालयबाट १ सय ९२ जना विद्यार्थी सहभागी हुँदैछन् । रोशी मावि कटुञ्जेमा ३ वटा विद्यालयका १ सय ५ जना, हनुमान मावि पातलेखेतमा ६ वटा विद्यालयका १ सय ५१ जना सहभागी हुँदैछन् । सगुन विद्या मन्दिर खनालथोकबाट नियमिततर्फ ३ शुन्य छन् ।
सञ्जीवनी मावि धुलिखेलमा ११ वटा विद्यालयका २ सय ६४ जना छन् । पुरानो पाठ्यक्रम अनुसार २०७८ र २०७९ का ७ जना ग्रेड बृद्धीमा छन् भने आजाद मावि बनेपाका खुल्ला तर्फका १५ जना छन् । शिक्षा सदन मावि बनेपामा जिल्ला भित्रका सबै प्राविधिक धारका १ सय ९६ जना सहभागी छन् । नियमित तर्फका १ सय ७८ र ग्रेड बृद्धीका १८ जना छन् । दुलालेश्वर मावि दोलालघाटमा ६ वटा विद्यालयका १ सय ७१ जना छन् । हिमालय मावि बनेपामा ८ वटा विद्यालयका ३ सय ४ जना सहभागी छन् । काभ्रे मावि बनेपाबाट ९८ जना सहभागि छन् ।
जागृति मावि चौरीदेउरालीमा ६ वटा विद्यालयबाट ९३ जना सहभागि हुँदैछन् । कोशीपारीका भुमेस्थान, खाँडादेवीबाट ७÷७ र सुर्याेदय र अरनिको माविबाट ८÷८ जना सहभागि हुँदैछन् । बुद्ध हिमालय माविबाट २७ र प्रभा माविबाट ३५ जना छन् । लक्ष्मीनारायण मावि शिखरमा ६ वटा विद्यालयबाट १ सय ३५ जना छन् । जनकल्याण माविमा ४ वटा विद्यालयबाट १ सय ३५ जना छन् ।
चण्डेनी मावि मण्डनमा ६ वटा विद्यालयबाट १ सय २९ जना सहभागी हुँदैछन् । गोकुले मावि गोकुलेमा ६ वटा विद्यालयबाट २ सय १८ जना विद्यार्थी सहभागि हुँदैछन् । जनज्योती मावि जनागालमा १० वटा विद्यालयबाट २ सय ५२ जना सहभागि हुँदैछन् ।
कक्षा १२ को बार्षिक परीक्षा :
नियमित तर्फ ४,९४० परीक्षार्थी, २३ केन्द्र
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ बैशाख ११ देखि २४ गतेसम्म कक्षा १२ को बार्षिक परीक्षाका लागि उपत्यका बाहिरका लागि परीक्षा केन्द्रहरु सार्वजनिक गरिएको छ । उपत्यका बाहिर १ हजार ३ सय ६७ वटा विद्यालयबाट कक्षा १२ को बार्षिक परीक्षामा विद्यार्थीहरु सहभागी हुँदैछन् ।
काभ्रेपलाञ्चोक जिल्लामा ९९ वटा विद्यालयका लागि २३ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमा ६ हजार ९ सय ६३ विद्यार्थी सहभागी हुँदैछन् । नियमित तर्फ ४ हजार ९ सय ४० जना छन् । बाँकी २ हजार २३ जना आंशिक तर्फका छन् । ९९ मध्ये शुन्य भन्दा बाहेकका ३० वटा विद्यालयमा २० भन्दा कम विद्यार्थी छन् ।
परीक्षामा सहभागी हुने मध्ये नियमिततर्फ सरस्वती शिक्षा गृह पाँचखाल, लिलावती मावि पनौती, बालबाटिका मावि बनेपा, नाईटिङ्गेल मावि बनेपाबाट नियमित तर्फ विद्यार्थी छैनन् । तर ति विद्यालयबाट आंशिक तर्फका विद्यार्थीहरु परीक्षा दिदैछन् । यी विद्यालयले चालु शैक्षिक सत्रमा कक्षा ११ र १२ मा विद्यार्थी भर्ना लिएका छ्रैनन् ।
जिल्लामा सबैभन्दा धेरै विद्यार्थी बनेपाको बेलर स्कुलमा रहेका छन् । नियमित तर्फ ६२५ र आंशिक तर्फ १९ गरी ६४४ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । बेलर पछि बनेपाको निस्टबाट ४६१ नियमित तर्फका छन् भने आंशिक तर्फका ५ जना छन् । कुल ४६६ जना विद्यार्थी सहभागी हुनेछन् ।
नेपाल प्रहरी स्कुल साँगामा २८४ विद्यार्थी नियमित तर्फ र १ विद्यार्थी तर्फ आंशिक तर्फबाट सहभागि हुनेछन् । नियमित तर्फ १ सय भन्दा धेरै विद्यार्थी भएका स्कुलहरुमा भकुण्डेमा रहेको जनक मावि १६७, ज्ञानकुञ्जमा १४८, सञ्जिवनी धुलिखेल १४०, आर्दश विद्या मन्दिर १२९, चैतन्य क्याम्पमा ११७, गोल्डेन फ्युचर १०९, आजाद मावि बनेपा १०५, भालेश्वर १०१, सर्वमंगलामा १०० रहेका छन् । आंशिक तर्फ जनक माविमा ३६, ज्ञानकुञ्जमा १२, सञ्जिवनी धुलिखेल ३१, आदर्श विद्या मन्दिर ३०, चैतन्य क्याम्पसमा ७८, गोल्डेन फ्युचर ३४, बनेपा ६२, भालेश्वरमा २६, सर्वमंगलामा ८६ जना रहेका छन् । अधिकांशमा नियमित र आंशिक उस्तै उस्तै देखिएको छ ।
५० भन्दा धेरै र एक सय भन्दा नियमित तर्फ कम विद्यार्थी रहेका तेजगंगा क्याम्पस पनौती नियमित ९५ र आंशिक १०२ गरी १९७ र प्रगति प्रभात बनेपामा नियमित तर्फ ८९ र आंशिक तर्फ १४ गरी १०३ जना छन् । पार्वती मावि ढुंखर्कमा नियमित ८८ र आंशिक ४७ गरी १३५, गोकुले मावि महाभारत नियमित ५२ र आंशिक ४६ गरी ९८, इन्द्रेश्वर मावि पनौती नियमित ७० र आंशिक ७२ गरी १४२, धुलिखेल क्याम्पस नियमित तर्फ ६१ र आंशिक तर्फ ४९ गरी ११०, आजाद मावि पाँचखाल नियमित ७० र आंशिक ३५ गरी १०५, काभ्रे मावि बनेपामा नियमित तर्फ ५१ जना र आंशिक तर्फ १४ जना गरी ६५ जना छन् । मिलिनियम क्याम्पस बनेपामा नियमित तर्फ ५० र आंशिक तर्फ १६ गरी ६६ जना छन् । चैतन्य माविमा नियमित तर्फ ४९ र आंशिक तर्फ ५६ गरी १०५ जना छन् । एसओएस बालग्राम पनौतीमा नियमित तर्फ ४८ जना छन् । हिमालय माविमा ४४ जना नियमित तर्फ र १५ जना आंशिक तर्फ गरी ५९ जना रहेका छन् । नियमित तर्फ १० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा पलाञ्चोक भगवती मावि ७, जनता मावि १०, जनहित मावि ९, चक्रेश्वर मावि ८, आत्मविकाश मावि १०, भुमेस्थान मावि ९, शारदा मावि १०, श्वेतबाराह माविमा ५ जना रहेका छन् । बाल निकेतन माविमा ३ जना छन् ।
कुनै समय जिल्लामा चर्चित रहेका केहि शैक्षिक संस्थामा विद्यार्थी संख्या न्यून छन् । काभ्रे क्याम्पसमा ४० जना मात्रै विद्यार्थी छन् भने ११ देखि २० जनासम्म विद्यार्थी रहेका १५ वटा भन्दा धेरै विद्यालय छन् ।