धुलिखेल/धुलिखेल सेन्टर अफ पेडियाट्रिक एक्सीलेन्सको पहिलो वार्षिकोत्सव र धुलिखेल अस्पतालमा पेडियाट्रिक न्यूरोडेभलपमेन्ट क्लिनिकको शुभारम्भ गरिएको छ । अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले उक्त कार्यक्रमको शुभारम्भ गर्दै अस्पतालले उपलब्ध गराएको सेवा र त्यसको गुणस्तरमा ध्यान दिन अनुरोध गरे ।
अस्पतालले एक वर्षको अन्तरमा २५ हजार ८ सय ६२ बालबालिकाहरुलाई उपचार सेवा उपलब्ध गराएको अस्पतालका बालरोग विभाग प्रमुख प्रा.डा.सिर्जना डंगोल सिंहले जानकारी दिईन् । उपचार सेवा, बालबालिकाहरुमा हुन सक्ने सम्भावित जोखिम, उपलब्ध उपचारात्मक अवस्था र आगामी योजनाका बारेमा जानकारी दिदै डंगोलले धुलिखेल अस्पतालले एक वर्षको अवधीमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताईन् । कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा.विराजनमान कर्माचार्य लगायतले अस्पतालले उपलब्ध गराउनु पर्ने सेवाका बारेमा धारणा राखेका थिए । बाल चिकित्सा न्यूरोडेभलपमेन्ट क्लिनिक मार्फत निरन्तर बालबालिकाको न्यूरोलोजिकल विकासलाई अनुकूल स्वास्थ्य सेवा उपलब्ध हुनेछ । कार्यक्रममा डा.पृथुजा पौडेल, अपाङ्गता भएका बालबाकिलाहरुका लागि कार्यात्मक थेरापी लगायतका सेवाका सन्र्दभमा बाल फिजियोथेरापिस्ट स्मिता केसी लगायतले धारणा राखेका थिए । त्यस्तै डा.बनिरा श्रेष्ठ, डा.अनिलराज ओझा, अवकाशप्राप्त मेजर जनरल डा.अरुण के न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।





