जिएन प्रधान
एमालेको समर्थन फिर्ता र एकाएकको सत्ता समीकरणबाट सत्ताबाट बाहिरिनु पर्दाको छटपट्टी अहिले प्रचण्ड महोदयमा राम्रै देख्न पाइन्छ ।सत्ता समिकरण फेरिएको एकहप्ता पनि नबित्दैदेखी यो सरकारको आयु लामो छैन । एक महिनामै ढल्छ,यो महिनाबाट उता कट्दैन, त्यो महिनाबाट उता कट्दैन । हामीले भ्रष्टाचारको फाइल खोल्न लागेपछी मेरो नेतृत्वको सरकार ढाल्न पुगे । रवि लामीछानेलाई राजनीतिक प्रतिशोध साँधेर झुठा मुद्दा लगाइयो । ऊ अर्थात रवि लामिछाने कुनैपनी सहकारीको अध्यक्ष÷प्रबन्धक होइन, नत ऊ उल्लेखित सहकारीहरूको कुनैपनी सदस्य, संचालक हो भनी विभिन्न तर्कहरू उठाइ रविको बचाउमा खम्बा बनेर संसद्मा उभिएको देख्न सकिन्छ । प्रचण्ड यसरी रक्षाकबच वनेर रविको पक्षमा उभिनुको पनि स्वार्थ रहेकोमा कहिँ कतै लुकेर बसेकोछैन । घाम जतिकै छर्लङ्ग छ । एउटा कारण हो एमाले प्रचण्ड नेतृत्वको सरकार हटेर एमाले अध्यक्ष केपि ओली नेतृत्वमा नेपाली काँग्रेससङ्ग समेत मिलेर अर्को सरकार बनाउने निश्चित भै प्रचण्डले विश्वासको मत लिने दिनसम्म रास्वपाले साथ सहयोग गरेको गुणको बदला तिर्न आवश्यक थियो भने अर्कोतिर भविष्यमा पनि रास्वपासंगको हिमचिम र उसको पक्षमा लागे बापत सिङ्गो रास्वपाको र उसका समर्थकहरूको सहानुभूती र रास्वपा कार्यकर्ता र समर्थकरूको छाडा र अश्लिल गाली गलौजबाट जोगिनको लागि पनि नेकपा माओवादी उर्फ प्रचण्डले यो भूमिका खेलेको स्पष्ट हुन्छ । अर्को कारण हो अब आउने २०८४ को सङ्हीय र प्रदेश निर्वाचनमा सम्भव भएसम्म रास्वपासङ्ग चुनावी तालमेलको लागि पनि सजिलो बनाएको हुनुपर्छ ।
यतिमात्र नभै प्रचण्डको बाध्यात्मक फूर्ती के पनि देख्न पाइन्छ भने नेपाली काँग्रेसको सहयोगमा सरकार हाँकी रहेकै अवस्थामा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भेलामा नेपाली काँग्रेसबाट प्रस्तुत गरिएको राजनीतिक दस्तावेज र प्रतिवेदनमा अब आउँदो ०८४ को निर्वाचनमा कोहिसँग गठबन्धम नगरी एक्लै चुनाव लड्ने घोषणा गर्नुको साथै नेकपा माओवादीलाई हेर्ने दृष्टिकोणमै पनि लचिलो नभै उहीँ पुरानै दृष्टिकोण कायम राख्न पुगेबाट झस्किँदै हटास मनस्थितिमा एकाएक नेपाली काँग्रेसलाई गल हत्याएर अथवा आकस्मिक रुपमा धोका दिएर एमालेको समर्थनमा सरकारको नेतृत्व गर्न पुगेकोलाई पनि सायद कसैले विर्सेको छैन । सबैमा स्मरण हुनुपर्छ कि २०७९ को निर्वाचन पछि मात्रै पनि नेपाली काँग्रेस र एमालेलाई २÷२ पटक धोका दिएकोलाई पनि यति छिट्टै विर्सन सकिन्न ।
अर्को कुरो प्रचण्ड महोदयको यी अभिब्यक्तिहरू पनि मनन गर्न आवश्यक छ कि आफू र आफ्नो नेतृत्वको सरकारमा मिल्न आए सबै पवित्र, सबै असल पार्टी, सबै पवित्र गठबन्धन, उत्तरपन्थी गठबन्धन हुन्छ । जब माओवादी वाहेक अरुको गठबन्धन हुन्छ अनि दक्षिणपन्थी गठबन्धनको कालो आरोप लगाउन पुग्छ । यसबाट पनि स्पष्ट हुन्छ कि राजनीतिका नेताहरूको बोलिको अस्थिर मनस्थितीको दृष्टिकोण अनि सत्ताको चरम आशक्तीको आरोप । यहि मनोदशाको कारण नै २०७४ मा एकता भै बनेको “नेपाल कम्युनिष्ट पार्टी” डेढवर्ष पनि टिक्न नपाइ पूनः पार्टी विभाजन हुन पुग्यो । यदि इच्छा र चाहना भएको भए अदालतबाट दुई पार्टीलाई पूर्ववत् अवस्थामै फर्काइदिए पनि प्रकृया पु¥याएर र नाम अर्कै राखेर फेरि पार्टी एक राख्नसक्थ्यो ।
जेहोस् अहिले नेकपा माओवादीको लागि नेपाली काँग्रेस र राप्रपा भन्दा पनि प्रमूख शत्रु बन्न पुगेको छ । नेकपा एमाले । हुन पनि किन नहोस् कि आफूले खाइरहेको प्रधानमन्त्रीको पद स्वयम्लाई सुईको नै नदिई अर्थात् रातारात नाटकीय शैलिमा सत्ता परिवर्तन गर्न पुग्नुले कती चोट पर्न गयो अथवा कति मर्माहत भए यो क. प्रचण्डलाई नै थाहा होला । यसैले पनि रीसको पारो १०० डीग्री पुगेको हुनुपर्छ क. प्रचण्डमा । र, सत्ताबाट बाहिरिए पछि आफू निक्कै राम्रो प्रधानमन्त्री बन्दै गरेको अवस्थामा आफूलाई सत्ताच्युत गर्न पुगे भनी जनताको सहानुभूती तान्ने प्रयास गर्दैछ अहिले । जबकी एमाले समर्थनको पछिल्लो प्रचण्ड नेतृत्वको सरकारले कति लोकप्रिय र राम्रा कामहरू गर्दै थिए भन्ने कुरा तत्कालीन जनताको असन्तुष्टि र जन आक्रोशले पनि प्रष्ट हुन्छ । आर्थिक रुपमा गिर्दै गएको आर्थिक सूचांक, अनियन्त्रित मूल्य बृद्धि, युवाहरूको बिदेश पलायनमा तिब्रता, राष्ट्र सेवक कर्मचारीहरू लगायत सरकारी एवं विभिन्न सार्वजनिक निकायहरूमा सेवारत कर्मचारी, शिक्षक, प्रहरी, सेना तथा सामाजिक सुरक्षा भत्ता आदिमा रोक लगाई निराशा तुल्याउने काम गर्नुको साथै देशको अर्थतन्त्रको मेरुदण्ड बनेको उद्योग ब्यवसायीहरूलाई धरासायी बनाउने काम गरेबाट पनि तत्कालीन प्रचण्डको सरकारप्रति वितृष्णाको चाङ्गले जनता आक्रोशित भएको कुरा पनि सबैमा सम्झना हुनुपर्छ ।
अहिले सडकमा केही अराजक र उदण्ड ब्यक्तिहरूको सडक नारा र वर्तमान केपि ओली विरुद्धको छाडा र अश्लील गाली गलौज यो भन्दा अघिदेखिको जन आक्रोशको निरन्तरता हो भन्दा कुनै फरक पर्दैन । मात्र पछिल्लो पटक केपि ओली प्रधानमन्त्री भै अगाडि बढेको सरकारप्रतिको मात्र आक्रोश होइन भन्ने कुरालाई पनि बुझ पचाएर आफू चोखिने प्रयास गर्न किमार्थ मिल्दैन । अहिलेको केपि ओली सरकारप्रति लक्षित गरि सडकमा जुन आन्दोलनको नाटक प्रदर्शन गरिएको छ यसमा सत्ताबाट हात धुनुपरेको बिछिप्त मनस्थितिको भरपुर साथ रहेकोमा कोहि अनभिज्ञ छैन । चाहे रास्वपा अध्यक्ष रवि लामिछनेको समर्थनको नाममा होस, चाहे दुर्गा प्रसाईंको अराजक झुण्डमा होस् चाहे काठमाण्डौका मेयर बालेन साहको समर्थक बनी सडकमा उफ्रिन होस् यो सबैमा सहभागीहरूको अनुहार एउटै हो भन्दा कुनै फरक पर्दैन ।
प्रचण्डमा अहिले केही फुर्ती बढ्नुमा गएको स्थानीय तहको उप–निर्वाचनमा आफ्नो गुमेको स्थानीय निकायभन्दा केही स्थानमा जित हासिल गर्नुले पनि केही बढी हौसिएको छ नै । यसको अर्थ यो होइन कि प्रचण्डले जनताको लागि कुनै लोकप्रिय काम गरेर जनता नेकपा माओवादी प्रति आकर्षित भएको होस् । तर हामीले यो सम्झिन आवश्यक छ कि कुनैपनि राष्ट्रको निर्वाचनमा यदि सत्तामा रहेका पक्षबाट धाँधलीको लागि बल प्रयोग गरिएन, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन गराइएको अवस्थामा सरकारप्रतिको असन्तुष्टिको प्रतीकको रुपमा सत्ता इतरलाई मत जाहेर गर्ने परम्परा नै रहेकोछ भन्दा अन्यथा हुनेछैन । यो पनि सरकारमा रहेर वा वाहिरै रहेर कुनै लोकप्रिय काम गरेर होइन । मात्र सरकारको बारम्बारको भिन्न–भिन्न गठबन्धनको ताजा आक्रोश यहि नयाँ गठबन्धनको ताजा सरकारलाई पोखेको स्पष्ट हुन्छ । यो बेला जुनसुकै ब्यक्तिको नेतृत्वमा सरकार बनेको भएपनि त्यही प्रधानमन्त्री सँग सम्बन्धित पार्टी र सरकारप्रति आक्रोश पोख्ने समय रहेको छ । यो निर्वाचनको समयमा प्रचण्ड प्रधानमन्त्री रहेको भए प्रचण्ड र उसकै पार्टीप्रति जनआक्रोश ब्यक्त गरिन्थ्यो र सत्ता बाहिरकोलाई मत जाहेर गर्न पुग्थ्यो । गएको २०७९ को संघीय र प्रदेशको निर्वाचनमा रवि लामिछानेको रास्वपातिर माहोल झल्किनु पनि पुराना दलहरूप्रतिको आक्रोशको बिकल्प हो भन्दा फरक पर्दैन ।
पुराना पार्टीहरूको यस्तै अस्थीर गठबन्धन सरकारको कार्य शैलीबाट आजित भएर नै अर्को तेश्रो विकल्पको रुपमा नयाँ पार्टी र नयाँ नेताहरूलाई रोज्न पुगेका हुन नयाँ खाले युवाहरूले । यो भन्दा अघिको कुनैपनि दल वा सरकारमा रहेर काम गर्ने अवसर नपाएका कारण भ्रष्टाचारको दाग लाग्न नभ्याएबाट यिनीहरूले देशका लागि केही गर्लान् भनी आशा जगाएका हुन् । खासगरी यो दललाई सरकारमा जान भन्दा पनि सरकार बाहिर बसेर सत्ता संचालकहरूलाई खबरदारी गर्न भनी जनादेश दिएको थियो । तर २१ सिटको बिजयीसँगै गृहमन्त्री तथा उप प्रमको पद काखी च्याप्दै सरकारमा समिलित हुन पुगे एमाले अध्यक्ष केपि ओलीको सिफारिसमा । तर रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछानेले विभिन्न सहकारीहरूको रकम अपचलन गरेको भनी नेपाली काँग्रेसबाट जोडदार रुपमा कुरा उठाउँदै आइरहेको थियो । अझ भनौँ भने सहकारीको रकम अपचलन गरेको ब्यक्तिलाई उप प्रम सहित गृहमन्त्री दिएपछी झन् चर्को विरोध गर्दै र राजिनामा समेत माग्दै आएको थियो । जसको बचाउमा तत्काल प्रम पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपि ओलीबाट पनि जोडदार बचाउको पक्षमा उभिए । तर सत्ता समीकरणमा आएको परिवर्तनसँगै पार्टीहरूमा पनि एकाएक लविङ्गमा परिवर्तन आयो । अहिले नेकपा माओवादी र रास्वपाका लागि एमाले पार्टी र पार्टी अध्यक्ष केपि ओली घोर शत्रु बनेको छ । प्रचण्डबाट विभिन्न सार्वजनिक मञ्चहरूमा र हालै २०८१ माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशनमा ब्यक्त गरिएका कुराहरूबाट पनि यहि पुष्टि हुन्छ । बरु नेपाली काँग्रेस प्रती केही लचिलो बनेको जस्तो गरि संसद्मा प्रमुख प्रतिपक्षको तर्फबाट बोल्ने क्रममा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा प्रती लक्षित गरि देउवा प्रती सहानुभूती राख्नुले पनि बुझ्न सकिन्छ । २०७९ को निर्वाचनसम्म कहिले एमालेसङ्ग मिलेर त कहिले नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर आफ्नो साख जोगाउँदै आइरहेका नेकपा माओवादी अबको यो गठबन्धनसँगै सबै भत्तभुङ्ग हुन पुगेको छ । ३२ सिटले तेस्रो दल बन्न पुगेको नेकपा माओवादी आफ्नो पार्टी र आफूलाई “म्याजिक कार्ड” मान्दै कहिले नेपाली काँग्रेसलाई त कहिले नेकपा एमालेलाई सहयोगी बनाउँदै खुब गर्वका साथ ६÷६ महिनामा सत्ता समीकरण फेर्दै अरु पार्टी केही होइन देशको भाग्यशाली पार्टी नै आफै हो भन्दै देश निर्माण र विकासको पक्षमा आँखा ठप्पै बन्द गरिरहेका थिए । देशलाई अग्रगतितिर होइन ऊँधोगतितिर फर्काउँदै उद्योगपति, व्यापारी, राष्ट्र सेवक कर्मचारी, किसान, मजदुर, श्रम र सिपका पौरख बोकेका युवाहरू र स्वतन्त्र आम नागरिकहरू सम्पूर्णलाई निराश तुल्याएका थिए ।
यहिबाट थप आक्रोशित भएका आम नेपाली जनतालाई आफू सत्ताबाट बाहिरिने वितिकै आफ्नै नेतृत्वको सरकारको बितृष्णालाई फर्लक्क फर्काउने प्रयासमा हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड लागि परेको छ । मानौँ अब यो देशमा केही हुँदैन, सबै क्षेत्रमा तहस–नहस पारे, कतिपय विकास निर्माणका कार्यहरू पनि बेकामका बनाए । यतिसम्म कि लोडसेडिङ्ग मुक्त गर्ने कुलमान घिसिङ्गलाई हटाउन खोजे, उद्योगीहरूको बिद्युत महसुल मिनाहा गर्न लगाएर उद्योगिहरूको पक्षमा लागे, गिरीबन्धु टि स्टेस्टमा अकुत भ्रष्टाचार गरे, कम्बोडिया बैँकमा अरबबौँ लुकाएर राखे,? त्यो धरहरा के काम ? झापा दमकको बिजनेस कम्प्लेक्स के काम, नागढुङ्गा–हेटौँडा सुरुङ्ग ब्रेक थ्रोको यत्रो चर्चा किन ?, नारायणघाट–बुटवलको छ लाइनको बाटोको यस्तो फूर्ती ?? भन्नेजस्ता गैरतर्कहरू उठाएर दिउँसै रात बनाउने काम गरे । मानौँ यो देशमा आफ्नो नेतृत्वको सरकार वाहेक अरु कुनै सरकार नै होइन भन्ने जस्ता निराशावादी भ्रम सिर्जना गर्नमा समय खर्च गरे । सरकारको कार्य संचालन र जनताको कार्य सुविधाको लागि अगाडि सारिएको अति महत्वपूर्ण विधयेक माथी अनावश्यकतर्क उठाएर पूर्व प्रमको हैसियत विर्सन पुगे ।
अहिले सडक, सदन लगायत मोफसलहरूमा प्रमुख प्रतिपक्षी समेत अन्य प्रतिपक्षहरूबाट जे जति तर्कहरू प्रस्तुत गरिरहेका छन् त्यो सबै विपक्षीको विरोध गर्ने धर्म भन्दा देशलाई विकासको गतिमा अघि बढाउने काम केही होइन । यो पनि सबैले सम्झिन आवश्यक छ कि नेकपा एमाले त गएको २०७९ को निर्वाचन अघिदेखी नै चुनावी तालमेलबाट अघाइसकेको थियो भने नेपाली काँग्रेस पनि त्यही २०७९ को निर्वाचन पछिदेखी नेकपा माओवादीको फूर्ती बढेदेखी एक्लै चुनाव लड्ने र कोहिसङ्ग तालमेल नगर्ने घोषणा गरेपछी झस्केका नेकपा माओवादी उर्फ प्रचण्ड अहिले ऊ झन एक कदम अघि बढेर अब आउँदो २०८४ को निर्वाचनमा कोहिसँग तालमेल नगरी चुनाव लड्छौँ भन्नेमा कतिको दमछ भनी कतिपनी आश्चर्य मान्नुपर्ने छैन ।
एमाले र नेपाली काँग्रेस माओवादीसँगको चुनावी तालमेलबाट नराम्रोसँग धोका पाएपछिको निर्णयले माओवादीलाई पनि एक्लै लड्नुको अन्य विकल्प छैन । नेकपा एमाले र नेपाली काँग्रेसले आगामी निर्वाचनमा विशेषगरी नेकपा माओवादी केन्द्रसङ्ग चुनावी तालमेल नगर्ने कसम खाएपछि हतोत्साही बनेका प्रचण्ड अहिले ऊ जनमानसमा कसैले थाहा नपाए झैँ गरि कति न उसैको सहयोग बलमा एमाले काँग्रेस ठूलो पार्टी बनेको जस्तो लाज पचुवा भाषण छाँट्दै हिँडेको देख्न सक्छौँ । यदि यो भन्दा अघिको दुई राष्ट्रिय निर्वाचनहरूमा एमाले काँग्रेससँग तालमेल नगरी चुनाव उठेको भए बढिमा १२ शीटमा सीमित हुने थियो । तर यो दुई निर्वाचनको भरपुर फाइदा पाउन सफल भै अस्तित्व जोगाउन पाउनुनै ठूलो भाग्य बन्न पुग्यो । एमाले र काँग्रेस भाग्य बिधाता बन्न पुगे । तर अबको निर्वाचनमा माओवादीसङ्ग तालमेल नगर्ने भए पछि नै प्रचण्डलाई आगामी निर्वाचनमा एक्लै उठ्छु भनी बाध्य पर्नुलाई सबैमा पूर्ण जानकारी छ ।





