2026 August 05/ 01:10: 34am

    धुलिखेल/धुलिखेल क्याम्पसको आयोजना तथा प्रदेश युवा परिषद्को कार्यालय बागमती प्रदेशको सहयोगमा नीति र नैतिकता सम्वन्धि दुई दिने तालिम तथा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । बुधबार शुरु भएको कार्यक्रम विहिबार समापन हुनेछ । 
    १६ वर्ष माथिका युवाहरुका लागि आयोजित कार्यक्रममा ‘नीति र नैतिकता ः बागमती प्रदेशका युवाको प्राथमिकता’ भन्ने नारा समावेश गरिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै ब्याञ्जुले युवाहरुले सिक्ने नैतिकता तथा आचरणले मुलुक र राष्ट्रको प्रतिनिधित्व गर्ने बताए । समग्र राष्ट्रलाई नेतृत्व प्रदान गर्न सक्ने सक्षम जनशक्ति आचरणयुक्त हुनु पर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले ब्यक्ति, परिवार र समाजका लागि नीति र नैतिकता महत्वपूर्ण हुने बताए । स्थानीय सुशासन र प्रशासनका बारेमा जानकारी गराउँदै नगर प्रमुख ब्याञ्जुले युवाहरुलाई अवसर पाउँदा शुसासन कायम गर्न सक्छन भन्ने देखाउने गरी कार्य गर्न अनुरोध गरे । कार्यक्रममा क्याम्पस प्रमुख सागरमणी तिवारीले कार्यक्रम माथी प्रकाश गर्दै सहभागिहरुलाई स्वागत गरेका थिए । 
    प्रकाश रोक्काको संचालनमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिक सेवाका बारेमा युवाहरुलाई प्रशिक्षण दिएका थिए । साईबर अपराध तथा लैङ्गिक हिंसाका विषयमा सरकारी वकिल कार्यालय काभ्रेका प्रमुख जिल्ला न्यायाधिवत्ता कृष्ष्णा भण्डारीले प्रशिक्षण दिएकी थिईन् । पछिल्लो समय युवाहरु साईबर अपराधसँग संलग्न हुन थालेका छन् । प्रहरी सँग समुदाय कार्यक्रमका बारेमा जिल्ला प्रहरी कार्यालय काभ्रेका तर्फबाट प्रहरी निरिक्षक कृष्ण गिरीले प्रशिक्षण दिएका थिए । ट्राफिक नियम पालना तथा सवारी साधन संचालन गर्दा ध्यान दिनु पर्ने विषयका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विकासकुमार तामाङले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नितिगत ब्यवस्था र यसको ब्यवहारीक पक्षका बारेमा क्याम्पस प्रमुख सागरमणी तिवारीले जानकारी गराउने छन् ।