लक्ष्मण तिमल्सिना
बेथान्चोक
‘शिक्षामा कचहरी’ नाटकको समापनमा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे र विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मालाई विद्यालय जान नमानेकी छोरीलाई विद्यालय पठाउन कसरी मनाउने ? सन्र्दभमा सम्झाउने भूमिकामा आमाको जिम्मेवारी प्रदान गरियो । छोरी विद्यालय जानै मान्दिनन । विद्यालयले गरेको विभेद उनका लागि भावनात्मक चोट र विभेद थियो ।
विद्यालयमा एक शिक्षकले हरेक पटक आउने अवसर आफु निकटका विद्यार्थीहरुलाई मात्रै उपलब्ध गराउँदै आएका थिए । अन्तिम पटक तीन विद्यार्थीलाई उपलब्ध गराएको अवसरमा विद्यार्थीहरुले असहमति जनाएका थिए । असहमतिका बाबुजत तीन विद्यार्थी छानिए । विद्यालयले निर्णय परिवर्तन गर्न मानेन । विभेदपूर्ण निर्णय गर्ने विद्यालय र शिक्षकका कारण विद्यालय जान नमानेकी बालिकालाई सम्झाउने भूमिका उहाँहरुलाई प्रदान गरिएको थियो । पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले आफै विद्यालय पुगेर शिक्षकहरुलाई निर्णय पुर्नविचार गर्न, आगामी दिनमा आउने अवसरका बारेमा सार्वजनिक पाटीमा सूचना टाँस गर्ने, खुल्ला प्रतिस्पर्धा तथा सबै विद्यार्थीहरुलाई पालो पालो अवसर उपलब्ध गराउन प्रतिवद्धता माग गर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउँदा पनि बालिका विद्यालय जाने कुरामा टसमस हुन सकिनन् । नाटकको मुख्य भाग नै त्यहि थियो । विद्यार्थीहरु सामुदायिक विद्यालयमा नियमित किन गई रहेका छैनन ? त्यसको सहि कारण पत्ता लगाउँदै विद्यार्थीहरुलाई नियमित विद्यालय उपस्थित गराउने, विद्यालयमा भएका अन्य विषयमा समेत शिक्षक, अभिभावक र विद्यार्थी बीच समन्वयात्मक भूमिका खेल्ने लगायतका विषय नाटकमा देखाईएको थियो । बेथान्चोक गाउँपालिकामा गएको विपत्ति, विपत्ति पछि बालबालिकालाई परेको मानसिक असर तथा त्यसबाट उत्पन्न परिस्थितीका बारेमा नाटकमा उल्लेख गरिएको थियो । नाटकको मुख्य उदेश्य सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा असर पारेका विषयहरुलाई समेटिएको थियो ।
पुर्व मन्त्री बास्कोटाले सभ्यता, समाज हुँदै विकास भएको शिक्षालाई समयानुकल बनाउँदै लैजानु पर्नेमा जोड दिए । सामुदायिक विद्यालयमा राज्यको लगानी भए पनि त्यसको सदुपयोगका लागि ध्यान दिन नसकिएको बताउँदै बालबालिकाहरुको सिकाई अनुभव बढाउन र सिकेको कुरालाई ब्यवहारीक रुपमा प्रयोग गर्ने गरी वातावरण निर्माण गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताएका थिए । प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले अभिभावकहरुको मानसिकता सामुदायीक विद्यालय भन्ने वित्तिक्कै कमजोर हुन्छ भन्ने भास्य नै गलत हुन थालेको बताए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोक गाउँपालिकामा संचालन भईरहेको शिक्षामा कचहरी नाटक तथा शिक्षासँग सम्वन्धित कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले विद्यालयले भोगिरहेका समस्या तथा बालबालिकाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भिम न्यौपाने, शिक्षा कार्यालयका जंग भण्डारी र पासाङ लामा, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, क्याम्पस प्रमुख राजेश तिमल्सिना लगायत क्याम्पसका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरु, वडा अध्यक्ष पुरुषोतम तिमल्सिना लगायतका जनप्रतिनिधिहरु, विद्यालयका सहायक प्रधानाध्यापक पदम तिमल्सिना लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्रीको अभाव, असमानता लगायतका विषयहरुले पनि गुणस्तरमा असर पारेको बताईएको थियो ।
पार्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका लागि फ्रिडम टु लर्न युकेको आर्थिक सहयोग तथा बेथान्चोक गाउँपालिकाको सहयोग रहेको छ । फ्रिडम टु लर्न नेपालका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । बेथान्चोक गाउँपालिकाको पार्वती, श्रीकृष्ण गोपाल र सरस्वती मावीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रा.डा.निलमकुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अघि उक्त कार्यक्रम कृष्णगोपाल मावी र सरस्वती मावीमा आयोजना गरिएको थियो ।





