2026 August 05/ 01:10: 19am

    बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा रहेका १६ वटा सामुदायिक क्याम्पस मध्ये १४ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाको कानपुर र डेडिथुम्कामा भने विद्यार्थीहरुको सहमतिमा संगठन दर्ता गरिएको छैन । विद्यार्थी संख्या समेत कम भएकाले विद्यार्थी संगठन र क्याम्पस ब्यवस्थापन बीचको सहमतिमा दुई क्याम्पसमा निर्वाचन नगर्ने निर्णय भएको हो । 
    जिल्लाका १६ क्याम्पसमा २ हजार ५ सय ८९ जना विद्यार्थी भर्ना भएका छन् । कानपुर क्याम्पसमा १२ र डेडिथुम्कामा ७ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । धुलिखेल क्याम्पसमा २ सय ५०, सञ्जिवनीमा ३ सय २४, काभ्रेमा ५ सय ४१, चैतन्य १ सय ९६, तेजगंगा २ सय १५, इन्द्रेश्वरमा १ सय १५, कुशादेवीमा ७४, सर्वमंगलामा २ सय ३८, प्रकाशमा ५४, प्रभामा १ सय ६५, दाप्चामा १४, मंगल जनविजयमा ५३, पार्वतीमा ८१ र जनकमा २ सय ५० जना विद्यार्थी भर्ना भएका छन् । निर्वाचन कार्यक्रम अनुसार फागुन १९ गते संगठन दर्ता, २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूची उपर दावि विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन, २६ गते उम्मेदवारका लागि मनोनयन पत्र वितरण, २७ गते प्रत्यक्ष र समानुपातिक दुबै तर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला र उम्मेदवारको अन्तिम नमावली प्रकाशन २९ गते र निर्वाचन चैत्र ५ गतेका लागि तोकिएको छ । जिल्लामा एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजवादी निकट विद्यार्थी संगठन क्याम्पसमा दर्ता भएका छन् ।