सम्पत्ति शुद्धिकरण अनुसन्धान जिल्लाबाट नै शुरु भए पछि सिन्धु विकास बंैक ठगी अभियोगमा सजायँ भोगिरहेका कर्मचारीद्वय सुमन खरेल र विरेन्द्र खत्री सहितको सम्पत्ति सम्बन्धी अनुसन्धान शुरु भएको हो ।
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुर मुद्दाको अभियोग दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा फागुन १८ गते अभियोग दर्ता गरेकी हुन् । यसअघि उक्त मुद्दा उपत्यकामा मात्रै दर्ता हुँदै आएको थियो । देशभरका अदालतबाट उक्त मुद्दा हेर्न सकिने ब्यवस्था गरे पछिको उक्त अभियोग पहिलो हो ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागको तर्फबाट रीता पौडेलको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले साविक भुम्लुटार गाविस ५ हालको भुम्लु ८ बस्ने सुमन खरेल, भक्तपुर चाँगुनारायण वडा नम्वर २ का विरेन्द्र खत्री, सोहि ठेगानाका बेलकुमारी बुढाथोकी विरुद्ध सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) सम्बन्धी अभियोग दर्ता गरेकी हुन् ।
सिन्धु विकास बंैक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी सहितको जाहेरीले सुमन खरेल समेत भएको बैकिङ कसूर मुद्दाको अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा गैरकानूनी रुपमा प्राप्त गरेको सम्पतिका बारेमा छानविन गर्न जाहेरी दर्ता भएको थियो । भुम्लु ८ का सुमन खरेलले सिन्धु विकास बैक लिमिटेडको दोलालघाट शाखाबाट आफु निमित्त शाखा प्रमुख रहेको बखत रकम अपचलन एवं हिनामिना गरी विरेन्द्र खत्रीलाई दिई दुवै जनाले एक आपसमा मिलेमत्तो गरी सिन्धु विकास बंैकबाट गैरकानूनी रुपमा प्राप्त गरेको रकम विभिन्न ब्यवसायमा लगानी गर्ने तथा लुकाउने उद्देश्य गरेकाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पतिका बारेमा छानविन गर्न जाहेरी दर्ता भएको हो ।
२०७८ मंसिर २८ गते उनिहरु विरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निर्णय भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले २०७८ पुष २ गते बैकिङ कसुर मुद्दाका आरोपीहरुको मिसिल सहित अनुसन्धानका लागि पठाएको थियो । आरोपित सुमन खरेलले बैंकका भल्ट बचत खातामा १ करोड १७ लाख रुपैयाँ बंैक खातामा जम्मा गर्नु पर्नेमा नगरी विरेन्द्र खत्री सहितका ब्यक्तिका नाममा जम्मा गरेका थिए । खरेल विरुद्ध उच्च अदालत पाटनले बैकिङ कसुर मुद्दामा विगो बमोजिम २ करोड ५३ लाख ८७ हजार रुपैयाँ जरिवाना र ४ वर्ष ६ महिना कैद तथा अर्का आरोपित विरेन्द्र खत्रीको हकमा विगो बमोजिम १७ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायँ सुनाएको थियो । अनुसन्धानबाट सुमन खरेलले २ करोड ५४ लाख ५४ हजार ८ सय ६९ रुपैया तथा उनका बाबु र परिवारका अन्य सदस्यहरुका नाममा भएको सम्पत्ति तथा विरेन्द्र खत्री र उनका परिवारका सदस्यको हकमा ९ करोड २५ लाख ९ हजार ९ सय ९५ रुपैयाँको श्रोतका बारेमा अनुसन्धान भईरहेको छ । खत्री ६० हजार धरौटीमा छुटेका थिए ।





