विश्वासमा सम्वन्ध राख्ने र अविश्वास पछि हत्या गर्ने क्रुर अपराधीक घटनामा बृद्धि भएको छ । प्रहरी प्रशासनमा दिएका उजुरीका बारेमा गहिरो अनुसन्धानमा बेवास्ताका कारण पनि यस्ता घटनाको संख्यामा बृद्धि हुन थालेका छन् । पछिल्ला दुई घटनाले त्यहि पुष्टि गरेको आफन्तले गुनासो गरेका छन् ।
प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार २०८१ असोज १५ गते देखि बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ घर भएकी ३५ बर्षिया निशा लामा २०८१ फागुन १४ गते मृत अवस्थामा फेला परेकी हुन् । प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका ३६ बर्षीय सुनिल रञ्जितकार निशाको हत्यामा संलग्न छन् । निशाको कंकाल भेटिएको २४ घण्टा नबित्दै प्रहरीले फागुन १५ गते सुनिललाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानमा सुनिलले निशासँग डेढ वर्ष अघि देखि सम्बन्ध रहेको, सम्बन्धमा अविश्वास बढे पछि घरबाट बोलाएर पाँचखाल जंगलमा पु¥याई क्रुरतापूर्वक ढुंगाले टाउकोमा हानेर मारेको उल्लेख गरिएको छ । जबकी प्रहरीलाई असोज १७ गते मृतकका श्रीमान राईफल लामाले हराएकी श्रीमती खोजतलास गर्न र शंका लागेका उनै ब्यक्ति सुनिललाई पक्राउ गरी सोधपुछ गर्न अनुरोध गरेको थियो । मोबाईल रेकर्डमा समेत निशा र सुनिल बीच निशा हराएको दिन असोज १५ गते १६ पटक सम्पर्क भएको देखिएको थियो । मोबाईलमा गरिएका कुराकानीका आधारमा पनि निशालाई सुनिलले बेपत्ता बनाएका धेरै आधार थिए । तर पनि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्ने तर्फ चासो नदिएकाले लामो समयसम्म निशाका बारेमा जानकारी हुन नसकेको श्रीमान् राईफलले बताए ।
निशा हराए पछि पनि सुनिल विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा एक युवतीले जर्बजस्तिकरणी गर्ने प्रयास गरेको भन्दै उजुरी समेत गरेकी थिईन् । काठमाडौको जडिबुटी चोकमा समेत पूर्व प्रेमिकालाई कुटपिट गरेको अभियोगमा उनी विरुद्ध जाहेरी दर्ता भएको थियो । प्रहरीले सुनिलको श्रीमतीलाई ल्याएर सामान्य सोधपुछ भने गरेको थियो । उनले श्रीमान् दमको विरामी भएकाले आउन नसक्ने बताएकी थिईन् । सुनिलको श्रीमतीले प्रहरीमा निशा पटक–पटक आफ्नो घर धुलिखेलमा पाँचखालबाट तरकारी पु¥याउन आउँदा देखेको र बोल्ने गरेको बयान दिएकी थिईन् ।
विश्वास दिलाएर ‘सम्बन्ध’
अविश्वास पछि ‘हत्या’
सुनिल र निशाको चिनजान डेढ वर्ष अघि भएको थियो । निशाका श्रीमान् गाडी चलाउथें । तरकारी बोक्ने क्रममा एक पटक गाडी दुर्घटनामा प¥यो । श्रीमानले भएको सबै सम्पति अन्र्तगत गाडी र जमिन सबै निशाका नाममा पास गरिदिएका थिए । निशा र राईफलबाट तीन सन्तानको जन्म भएको छ । उनिहरुको लालनपालन तथा नियमित परिवारको खर्च संचालनका लागि पनि पेशा अनिवार्य थियो । निशा घरमा रहेर तरकारी खेति गर्ने र श्रीमान गाडी चलाउने पेशा गर्दै आएका थिए । उनि २४ सै घण्टा ब्यस्त हुन्थे । तरकारी राति लैजानु पर्ने, भनेको समयमा सुत्न र खान समेत नपाउने, श्रीमती, सन्तान र आफन्तका लागि दुःख नगरी सुख हुँदैन भन्ने सोच बोकेर काम गरिरहन्थे ।
मण्डनदेउपुर ११ तथा आसपासका क्षेत्रबाट तरकारी संकलन गरी लैजाने क्रममा एक पटक गाडी दुर्घटनामा प¥यो । गाडी बनाउन ग्यारेज लैजाने क्रममा धुलिखेलमा सुनिल रञ्जितकारसँग निशाको भेट भयो । निशाका नाममा गाडी भएकाले उनि आफै ग्यारेजमा आएकी थिईन् । त्यतिबेला सुनिलले निशाको नम्वर लिए । निशाले पनि सुनिलको नम्वर राखिन् । क्रमशः उनिहरु बीच कुराकानी हुन थाल्यो । निशा धुलिखेल आउँदा सुनिलसँग भेट हुन थाल्यो । धुलिखेल आउँदा उनले तरकारी ल्याई दिने गरेकी थिईन् । निशासँग भएको सुन, नगद र अन्य सम्पति र निशाको शरीरमा समेत सुनिलले आँखा गाड्दै गए । निशाले असल नियतले गरेको चिनजान गलत बाटो तर्फ मोडिदै गयो । निशालाई अर्काे मोवाईलको सिम किनेर त्यस मार्फत कुराकानी हुन थाल्यो । क्रमशः सम्बन्धहरु अघि बढिरहे । निशाले विश्वास गरिरहिन् । सुनिलले त्यसको फाईदा लिदै गए । असोज १० गते निशा पाँचखाल आईन् । त्यहाँ बरदान लेडिज टेलर्समा चोली सिलाउन दिईन् । त्यो विल झोलामा राखिन् । असोज १०–१२ परेको अविरल वर्षात्, त्यसपछिको क्षतिमा नागरिकहरुको ध्यान केन्द्रित थियो । निशा र राईफलको सम्बन्धमा कहिल्यै दरार आएन । निशालाई सुनिलले असोज १६ गते धुलिखेल बोलाए । घरबाट औषधी किन्न जान्छु भन्दै उनि निस्किईन् । बरदानमा सिलाउन दिएको चोली समेत लिन पाईनन् । तर त्यहि बरदान लेडिज टेलर्सको बिलका आधारमा कंकाल भएको उनको शरीरको शवको पहिचान हुन पुग्यो ।
पाँचखाल नगरपालिका वडा नम्वर ३ काफ्लेडी जंगलमा निशाको शव फेला प¥यो । कुकुरले उनको हातको हड्डीको टुक्रा लिएर गाउँ पस्यो । स्थानीयले कसको होला ? भन्दै शंका गरे । विस्तारै कुकुरका आधारमा शव भएको स्थानमा पुग्दा कंकाल फेला प¥यो । प्रहरीलाई बोलाएर कंकाल र कंकालको छेउमा रहेको चप्पल, ब्यागका आधारमा निशा भएको पुष्टि भयो । कंकाल छरपस्ट थियो । घाँटी र शरीर फरक फरक स्थानमा थियो । हातको पञ्जामा रहेको मासु खान कुकुरले हड्डी लिएर गएको थियो । तत्कालै प्रहरीले तिनै सुनिलाई पक्राउ गर्न पठायो । उनि पक्राउ परे लगत्तै दिएको बयानका आधारमा निशालाई आफैले मारेर लुकाएको बयान दिए । नियमित सम्बन्ध रहेको, उनिसँग भएको सम्पत्ति मागेको, सम्पत्ति नदिएको र सम्बन्धका बारेमा प्रहरीलाई भनिदिन्छु भने पछि फस्ने डरले मारेर शव लुकाएको बयान दिएका छन् ।
होटलमा बोलाएर हत्या
फागुन १५ गते दिउँसो बनेपा बसपार्क स्थित होटलमा २३ बर्षिया युवतीको शव फेला प-यो । बनेपा ६ बुडोलमा घर भई बनेपाको एक मेडिकलमा ल्यावमा कार्यरत शर्मिला श्रेष्ठ मृत अवस्थामा फेला परिन् । प्राप्त प्रमाणका आधारमा उनलाई आफ्नै प्रेमीले होटलमा बोलाएर हत्या गरेको खुलासा भएको छ । उनी चैत्र महिनामा जापान जाने तयारीमा थिइन् । केहि दिन अघि उनलाई मोवाईलमा ज्यान मार्ने धम्की दिएका प्रेमीका बारेमा शर्मिलाका आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । तर पनि प्रहरीले युवकका बारेमा थप अनुसन्धान गरेको थिएन । अनुसन्धान नहुँदै युवतीलाई होटलमा बोलाएर जर्बजस्ति सम्बन्ध राखी घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
युवक अघिल्लो दिन नै होटलमा दुई दिनका लागि कोठा लिएर बसेका थिए । तीन दिनसम्म होटलबाट निस्केको थाहा नभए पछि होटल सफा गर्ने क्रममा बाहिरबाट ताल्चा लगाएको फेला परे पछि प्रहरीलाई खबर गरिएको थियो । उता घरबाट ड्य्टीमा निस्किएकी शर्मिला फागुन १४ गते साँझ घर नफर्किए पछि खोजतलास शुरु भएको थियो । मोबाईल समेत सम्पर्क नभए पछि उनको खोजतलास जारी भए पनि युवक पक्राउ परेका थिएनन् । अझै उनी पक्राउ परेका छैनन् । प्रेमी युवकले दिएको यातनाका बारेमा शर्मिलाले घर परिवार र आफन्त तथा साथीहरुलाई जानकारी गराएकी थिईन् ।
चारको हत्या, ७५ को आत्महत्या
काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्षको ७ महिनामा शान्ति सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापन अन्र्तगत अपराधिक ४ सय ६ वटा घटना भएका छन् । माघ महिनामा मात्रै ५४ वटा घटना भए । ७ महिनाको अवधीमा ३ सय २० जना पक्राउ परेका छन् । माघ महिनामा १९ जना पक्राउ परे । जिल्ला प्रशासन कार्यालय काभ्रेको माघ महिनासम्मको प्रतिवेदनका आधारमा सडक दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । माघ महिनामा एक जनाको ज्यान गएको छ । १ सय जना घाईते भए भने माघ महिनामा १४ जना घाईते भए । जिल्लामा साउन देखि माघ मसान्तसम्म ४ जनाको हत्या भएको छ । फागुन महिनामा थप २ जनाको हत्या भएको छ । दुर्घटनामा थप ३ जनाले ज्यान गुमाएका छन् । ७५ जनाले आत्महत्या गरेका छन् । माघ महिानमा ९ जनाले आत्महत्या गरे । फागुन १५ सम्म चार जनाले आत्महत्या गरिसकेका छन् । यो अवधीमा प्राकृतिक प्रकोपका घटना ४९ वटा भए । ८१ जनाले ज्यान गुमाए । ९७ जना घाईते भए ।





