2026 August 06/ 05:49: 10am

विकास तिमल्सिना
मंगलटार

    ईलाका प्रहरी कार्यालय मंगलटारमा पुस्तकालय सहितको बहुउदेश्यीय हल उद्घाटन गरिएको छ । नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ लगायत तीन वटै पालिकाका विभिन्न वडाका वडा अध्यक्ष र स्थानीयको उपस्थिती रहेको थियो ।
    दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पुस्तकालय स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् । सम्भावनाको संसार देखाउने थलोको रुपमा समेत पुस्तकालयलाई व्यवस्थित गरिने उनले बताएका छन् । प्रहरी कार्यालयमा स्थापित पुस्तकालयमा कानुनको १९ वटै खण्डका पुस्तकहरु, नेपाली र अंग्रेजी दुवै भाषाका साहित्यिक पुस्तकहरु, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पुर्व तयारी सम्बन्धी पुस्तकहरु, नेपाल प्रहरीद्धारा प्रकाशित पुस्तकहरु राखिएको छ । विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई पुस्तकालयमा राखी सम्बनधीत कसुर लगायतको बारेका ज्ञान दिलाई अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रुपान्तरण गराउन समेत पुस्तकालय महत्वपुर्ण हुने विश्वास लिइएको छ ।
    विद्यालयसँग प्रहरी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई प्रहरी कार्यालयको गतिविधि, अध्ययनका लागि सहयोगी सामाग्रीको उपलब्धतामा समेत पुस्तकालय महत्वपुर्ण हुने प्रहरीले जनाएको छ । प्रहरी हरेक परिवारको सदस्य हो भन्ने अनुभूती दिलाउनको लागि नागरिकसँग जोडिएर विभिन्न कार्य गर्दै आइरहेको प्रहरी निरीक्षक गिरीले बताए । मंगलटारको पुस्तकालय आम नागरिकको पुस्तकालयको रुपमा रहेको उनले बताए । चिया चौतारी र गफ गर्दै पढ्ने ठाउँ प्रहरी कार्यालय बन्न सक्ने उनले बताएका छन् । कार्यक्रममा नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले पुस्तकालयलाई थप व्यवस्थित गर्न सहयोग गर्ने बताएका छन् । ज्ञानको माध्यमबाट समाज परिवर्तन गर्ने उदेश्य पवित्र उदेश्य सहित स्थापना गरिएको पुस्तकालय महत्वपुर्ण रहेको बताए ।
    कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले ज्ञानको मन्दिर उद्घाटन भएको भन्दै खुसी व्यक्त गरेका छन् । पुस्तकालय मार्फत सबै क्षेत्रका नागरिक र राजमार्गमा आराम गरिरहँदा ज्ञान लिन सक्ने उनले बताए । ज्ञान आर्जन गर्ने थलो उद्घाटन गरिएको उनले बताए । उनले विपद्को समयमा मंलटार प्रहरीले खेलको भूमिकाको प्रसंसा गर्दै ज्ञान बाँड्ने सोचको थालनी गरेकोमा धन्यवाद दिएका छन् । कार्यक्रममा अधिकांशले स्थानीय सरकारसँगको समन्वयमा शान्ति, सुरक्षा, अपराधका घटनाको छानविनमा प्रहरीले गरेको कामको प्रसंसा गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यबारेमा इलाका प्रहरी कार्यालय म्गलटारका प्रहरी सहायक निरिक्षक सन्तोष नेपालले जानकारी गराएका थिए । कार्यक्रम सञ्चालन प्रहरी नायव निरिक्षक रुपेश श्रेष्ठले गरेका थिए । सोही अवसरमा पुस्तकालय तथा बहुउदेश्यीय हल निर्माणका लागि सहयोग गर्ने विभिन्न क्षेत्रका संघ संस्था र व्यक्तिहरुलाई प्रसंसा पत्रद्धारा सम्मान गरिएको थियो ।