पाँचखालमा रहेको गोल्डने फ्युचर स्कुलले एसईई उत्तिर्ण भएको प्रमाणपत्र विद्यार्थीले अध्ययन गरेको समयको शुल्क नतिरेको भन्दै दिन नमाने पछि १९ बर्षिय विद्यार्थी मानसिक तनावमा परे । साथीहरुले काटेको गाईको बाच्छोको मासु खान बोलाए पछि छ्याङ्ग लिएर पुगे ।
पाँचखाल÷विद्यालयमा अध्ययन गरेको शुल्क बुझाउन नसके पछि एक विद्यार्थीको प्रमाणपत्र एक वर्ष देखि बन्धक बनिरहेको छ । प्रमाणपत्र लिन विद्यालय पुगेका विद्यार्थीलाई शुल्क नबुझाई नदिने बताए पछि निराश भएका युवाले गाईको बाछो काटेर त्यहि बाछोको मासुसँग रक्सि खाँदा पक्राउ परेका छन् ।
भुम्लु गाउँपालिका वडा नम्वर ७ सानो वाङथली बस्ने मिलन परियार र लक्ष्मी परियारका छोरा १९ बर्षिय सुमन परियारले २०८० सालको एसईइमा पाँचखाल नगरपालिका वडा नम्वर ४ स्थित गोल्डेन फ्युचर सेकेण्डरी स्कुलबाट एसईई दिएका थिए । उनि उत्तिर्ण पनि भए । पटक–पटक विद्यालय गएर उनले प्रमाणपत्र दिन अनुरोध गरे । अध्ययन गर्दा तिर्न बाँकी शुल्क उपलब्ध नहुँदासम्म विद्यालयले प्रमाणपत्र दिन मानेन । अन्तिम पटक उनि २०८१ माघ १४ गते प्रमाणपत्र लिन विद्यालय पुगेका थिए । विद्यालयले फेरी पनि उनलाई प्रमाणपत्र नदिने बतायो । घरबाट पैसा तिर्न नसकेपछि सुमनले विद्यालयलाई पटक–पटक अनुरोध गरे । सुमनको कुरा सुनुवाई नै नभए पछि अन्ततः उनि निराश भए । के गरौ के नगरौ भएका बखत विद्यालयबाट निस्कदै गर्दा पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित दुलालथोकमा साँझको समयमा केहि साथीहरु भेट भए । उनिहरु उमेरले सबै सानो नै थिए । २०८१ माघ १३ गते गाईको बाच्छो काटी ल्याएको मासु बाँकी रहेकाले उक्त मासुसँग रक्सी खाने सल्लाह भए पछि सुमन र अर्काे एक जना साथी सँगै रहेको खाजा पसलमा गए । रक्सी किनेर ल्याए । चार जना मिलेर रक्सीसँग गाईको बाच्छोको मासु खाए । त्यसपछि सबैजना आ–आफ्नो बासस्थान पुगे । २०८१ माघ २१ गते दिउँसो प्रहरीले गाईको बाच्छो काटी खाएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनिहरुले वनमा काटेर नजिकै रहेको टायर पसलमा पकाएर खाएका थिए ।
माघ २० गते स्थानीयहरुले पाँचखाल नगरपालिका वडा नम्वर ३ स्थित तीनघरेको ठुलो सामुदायिक वन भित्र बाच्छोको मासु सडीगलि मासु र हड्डी फेला परेको जानकारी गराएका थिए । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २०८१ फागुन ६ गते अभियोग दर्ता गरेको थियो । जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले दर्ता गरेको पशुपक्षी सम्वन्धी कसुर (गौवध) मा जिल्ला अदालत काभ्रेपलाञ्चोले सोहि दिन समुनलाई धरौटीमा छाड्ने आदेश दिएको छ भने बालकहरु तीन जनालाई साधारण तारेखमा राख्ने आदेश गरेको छ । जिल्ला न्यायाधिश मातृकाप्रसाद आचार्यले गाईगोरु मारेको वा काटेको अभियोगमा दफा २८९ अनुसार धरौटीमा छाड्ने आदेश दिएका थिए । सुमनसँग अन्य तीन बालक थिए । तिनै तीन जना बालकहरु मिलेर जंगलमा पुगेको बाच्छो माघ १३ गते काटेका थिए । पसलबाट चक्कु लिई गई जंगलमा उक्त बाच्छो काटेर वाच्छाको पछाडीको दुबै फिलाको मासु काटी प्लास्टिकमा राखी बाकी रहेको बाच्छोको शरीरको भागलाई मानिसले नदेख्ने गरी केहि पर सारी छाडि दिई मासु ल्याई पकाई खाएका थिए । मासु ल्याएको केहि समय पछि सुमन परियार समेत आए पछि उसलाई छ्याङ्ग लिन पठाएका थिए । सुमनले छ्याङ्ग ल्याए पछि छ्याङ्गसँग माच्छाको मासु खाएको बयान बालकहरुले दिएका छन् । तीन मध्ये एक जना १६ वर्ष डेढ महिना, १७ वर्ष २५ दिन र अर्का एक १७ वर्ष ९ महिना २२ दिन उमेरका भएकाले कानूनको विवादमा परेका बालकलाई फरक सजाँयको माग गरिएको थियो ।
विद्यालयले गरेको गल्तिका कारण विद्यार्थीले थप अध्ययन त गर्न पाएनन् पाएनन् अन्य अपराधमा समेत उन्मुख हुने अवस्था सिर्जना भएको छ ।





