मोतीराम तिमल्सिना
बनेपा
एक ग्राम खैरो हिरोईनलाई ५/६ हजार रुपैया पर्ने भएकाले लागु औषध प्रयोगकर्ताहरुले सामुहिक रुपमा भारत गएर दलाल मार्फत खरिद गरेर ल्याउने र काभ्रेका विभिन्न क्षेत्रमा विक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानले खुलेको छ । प्रयोगकर्ताहरुले दैनिक एक देखि दुई हजार रुपैयाँसम्मको लागु औषध प्रयोग गर्ने गरेका छन् ।
बनेपामा सुनचाँदीको ब्यवसाय गर्ने विकास विकले सुन जोख्ने तराजुमा लागु औषध खैरो हिरोईन जोखेर विक्री गर्ने गरेको खुलासा भएको छ । उनले घर घरमा तराजु पठाएर खैरो हिरोईनको ग्राम जोख्ने र विक्री गर्न सहजीकरण गराएका थिए । विकास अहिले फरार छन् । सुनको कारोवार महङ्गो भएको, ब्यवसायमा मन्दी आएका कारण गलत बाटोबाट चाँडै धनी बन्ने नाममा उनिहरुको समुहले खैरो हिरोईनको कारोवार गर्ने गरेको खुलासा भएको हो । प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनले पनि लागु औषध (खैरो हिरोईन) बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाले पुष्टी गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले २०८१ जेठ महिनामा बनेपाबाट एउटा समुह खैरो हिरोईन सहित पक्राउ गरेको थियो । सोहि टोलीको बयानका आधारमा प्रहरी भारत तथा नेपालका विभिन्न स्थानमा अनुसन्धानमा पुगेको थियो । उक्त टोलीले खैरो हिरोईनको सञ्जाल, खरिद विक्री गर्ने कारोवारी समुह तथा प्रयोगकर्ताका बारेमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुले विक्री गर्ने दलालले प्रति ग्राम ५÷६ हजार रुपैयाँ लिने र आफै भारत गएर ल्याउँदा प्रति ग्राम २५ सय रुपैयाँ पर्ने बयान दिएका छन् ।
बनेपामा प्रयोगकर्ताहरु जम्मा हुने, सामुहिक रकम संकलन गर्ने, संकलित रकम लिएर झापा हुँदै भारत जाने, त्यहाँ दलाल मार्फत लागु औषध लिने र फर्कने, बनेपामा ल्याएर रकम अनुसारको दामासाही वितरण गर्ने गर्दै आएको प्रहरीले फेला पारेको छ । पक्राउ परेकाहरुबाट डिजिटल तराजु सहित लागु औषध लैजाँदै गरेका ब्यक्तिलाई नियन्त्रणमा लिए पछि घटनाका बारेमा खुलासा भएको हो । प्रहरीले बरामद गरेको ३८ ग्राम लागु औषध, मोवाईल २ थान र नगद ३० हजार पछिको अनुसन्धानले मोवाईलमा कुराकानी गर्ने गरेका ब्यक्तिहरुसम्म पुग्ने प्रयत्न ग¥यो । काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ७ बस्ने मनोज जोशी, पनौती ५ का ३८ बर्षिय अनिल केसी, पनौती २ का ४० बर्षिय विकास विश्वकर्मा, झापा बुधबारे ५ का ४१ बर्षिय निशुप शिवाकोटी, झापा ५ कै दिपेश राजवंशी रहेका छन् । प्रयोगकर्ताहरुले गाँजा खाँदै गर्दा खैरो हिरोईन खानुपर्ने अवस्थामा पुगेको बयान दिएका छन् ।
‘गाँजा सेवन गर्दा गर्दै खैरो हिरोईन सेवन गर्न थालेको एक वर्ष भयो । खैरो हिरोईन सेवा नगरी बस्दा शरीर दुख्ने, खाना खान मन नलाग्ने, आँखाबाट आँशु आईरहने, हिड्न नसक्ने, विरामी भएको जस्तो हुने गरेको थियो । मनोज जोशीले विक्री गर्दा एक पटकमा ३÷४ हजारको विक्री गर्ने गरेका थिए । त्यो डोज दुई पटकलाई मात्रै हुने गरेको थियो । नेपालमा एक ग्राम लागु औषध खैरो हिरोईनलाई ५÷६ हजार पर्ने जाने र धेरै महङ्गो पर्ने भएकाले भारत गई खरिद गर्दा १ ग्रामलाई २५ सय पर्ने भन्ने कुरा साथीहरुले बताए । त्यहि सूचना साथीले दिए पछि भारत गई खरिद गरी ल्याउने योजनामा निशुप शिवाकोटीसँग सल्लाह भयो । निशुप शिवाकोटीले झापामा रहेर खैरो हिरोईनको कारोवार गर्ने गरेका ब्यक्तिहरुको नम्वर दिए । विकास विक, मनोज जोशी र निशुप शिवाकोटी सहित चारजनाको समुहले प्रति ब्यक्ति ३० हजार उठाई एक लाख २० हजार रुपैयाँ लिएर दुई जना झापा पुग्यौ’–बयानमा भनेका छन्–‘२०८० फागुन तिरको समय हो । बनेपाबाट काँकडभिट्टा जाने बसमा चढेर विहानको ३ बजे टोली झापा पुग्यो । उक्त टोलीले मोवाईल नम्वर ९७०४७२२४२२ नम्वरमा फोन गरेर खैरो हिरोईन झिकाए । झापा ५ का दिपेश राजवंशीसँग १ लाख २० हजार रुपैया नगद दिएर खैरो हिरोईन लिए । पुनः सोहि रुटमा चल्ने बस विहान चढेर साँझ बनेपामा उत्रिए ।’
‘विकास विकको सुन चाँदी पसल छ । सुन तौल गर्ने डिजिटल तराजु मागेर मनोज जोशीले खैरो हिरोईन भाग लगाए । खैरो हिरोईनलाई घरमा लगेर फ्रिजमा राखे । तराजु समेत खाटको घर्रामा राखे । साँझको समयमा घर नजिकैको पसलमा चुरोट किन्न गए । त्यहि बेला प्रहरीले मनोज जोशी सहितको समुहलाई नियन्त्रणमा लिई खरिद गरी ल्याएको खैरो हिरोईन, जोख्न ल्याएको तराजु र विक्रीका लागि बैना लिएको रकम प्रहरीले बरामद गरेको हो । ३८ ग्राम खैरो हिरोईनको १ लाख २० हजार रुपैयाँ बुझाएको थियो ।’ मनोजलाई प्रहरीले सुर्यविनायक ५ सल्लाघारी स्थित सडक किनारबाट फेला पारेको थियो । उनको साथबाट प्रहरीले ३ पोका खैरो हिरोईन बरामद गरेको थियो । उनिहरुले दैनिक एक हजार रुपैयाँको खैरो हिरोईन सेवन गर्ने गरेको प्रहरीले बताएको छ । रकम संकलन गर्ने, भारतबाट ल्याउने ब्यापारीसँग झापा गएर किनेर ल्याउने र यता सम्पर्कमा आउने साथीहरुलाई महङ्गोमा विक्री गरी आफ्नो दैनिक लाग्ने खर्च जोहो गर्ने योजनामा रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले पक्राउ परेकालाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ को खण्ड (घ), (च) र (छ) बमोजिम कसुर गरेको ठहर गरी सजायँको माग दावी गरेको थियो । पक्राउ परेकाहरु सबै पुर्पक्षका लागि थुनामा छन् । केहि फरार छन् । पक्राउ परेकाहरुलाई प्रहरीले २०८१ जेठ १६ गते जिल्ला अदालत पेश गरेको थियो । सहायक जिल्ला न्यायाधिबक्ता राजीव न्यौपानेले लागु औषध (खैरो हिरोईन) सम्बन्धी मुद्दा जिल्ला अदालतमा काभ्रेपलाञ्चोकमा दर्ता गरेका थिए । जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले पक्राउ परेका सबैलाई २०८१ जेष्ठ १७ गते पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
प्रहरीले लागु औषध खरिद तथा विक्री तथा संचय र सेवन समेत गर्ने कार्यमा विकास विक, निशुप शिवाकोटी, अनिल केसी, मनोज जोशीको संलग्नता रहेको खुलाएको छ । सुन चाँदी पसल राख्ने विकास विक, निशुप शिवाकोटी र दिपेश राजवंशी फरार छन् । उनिहरुलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । अनिल केसी प्रहरीमा कार्यरत थिए । उनले इन्कारी बयान दिएका छन् । सापटी रकम लेनदेन मात्रै गरेको कारोबार नगरेको बयान दिए पनि प्रहरीले भ्वाईस रेकर्डका आधारमा उनको पनि संलग्नता रहेको दावी गरी मुद्दा दायर गरेको थियो । उनले दिएको चेक बरामद भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा लागु औषध सम्वन्धी २० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा फछ्र्याैट भएका छन् भने चालु वर्षका लागि ३ वटा सरेका थिए । दर्ता भएका मध्ये लागु औषध हिरोईन सम्वन्धी २ वटा, गाँजा चरेश सम्बन्धी १४ वटा र अन्य ४ वटा मुद्दा दर्ता भएका थिए ।





