2026 August 05/ 02:52: 13am

नवराज केसी
          प्राचीन मुलुक हाम्रो देश नेपाल विगतमा तुलनात्मक रूपमा छिमेकी देशहरूभन्दा कस्तो अवस्थामा थियो ? वर्तमानमा छिमेकी देशले कस्तो खालको परिवर्तन गर्न सफल भएका छन् अर्थात् विकास, समृद्धिको कुन तहमा पुगेका छन्  । हामी कहाँ छौँ ? हाम्रो देश किन बनेन अर्थात् विकसित एवं समृद्ध हुन सकेन यस सन्दर्भमा प्राचीनकालदेखि नै नेपाल र  छिमेकी मुलुकहरुको अवस्था र तत्कालीन घटनाहरू सँग तुलना गर्दै केही प्रष्ट्याउने प्रयास गरेको छु  ।
कसरी नेपाल प्राचीन देश हो ?
           नेपाल संसारको सबभन्दा प्राचीन देशहरूमा पर्दछ । नेपालको अस्तित्व झण्डै ईसापूर्व ८०० देखि रहेको मानिन्छ जुन बखत नेपालमा किराँत वंशको शासन प्रारम्भ भएको थियो । सो समयमा भारतमा वैदिक सभ्यता फस्टाउँदै थियो । महर्षी वाल्मिकीले संस्कृत भाषामा अनुष्टुप छन्दमा रामायण लेख्दै थिए भन्ने मान्यता छ । प्राचीन ग्रिसका महान कवि होमरले ‘इलियड’ र ‘ओडिसी’ जस्ता महाकाव्य लेखिरहेका थिए भनेर भनिन्छ । “इलियड“ र “ओडिसी” युरोपेली साहित्यका सबैभन्दा पुराना ग्रन्थहरू हुन् । चीनमा झोउ वंशको शासन चलिरहेको थियो र मेसोपोटामिया हालको इराक अर्थात् असिरियन साम्राज्य बलियो बन्दै थियो । ई. पू. ८०० भनेको इस्वी सम्वत सुरु हुनुभन्दा ८०० वर्ष अगाडिको समय हो । यो समय वैदिक सभ्यता प्राचीन साम्राज्यहरूको उदय र फलाम युगको सुरुवात भएको ऐतिहासिक काल मानिन्छ । नेपाल एक स्वतन्त्र राष्ट्रका रूपमा कहिले उपनिवेश नबनेको कारण पनि यसको ऐतिहासिक महत्व अद्वितीय र गर्वयोग्य छ । नेपाल शब्दको सबैभन्दा पुरानो अहिलेसम्म पाइएको लिखित अभिलेख अर्थात् शिलालेख लिच्छवि राजा मानदेवको पालामा वि. सं. ५२१ मा चाँगुनारायण मन्दिर परिसरमा स्थापित गरिएको पाइएको छ । जसमा संस्कृत भाषामा लिच्छवी राजाहरूको प्रशंसा राज्य व्यवस्था र केही ऐतिहासिक घटनाहरू उल्लेख गरिएको छ । यस शिलालेखमा नेपाल शब्दको स्पष्ट रूपमा प्रयोग गरिएको छ । यसमा “नेपाल अधिपति” भन्ने शब्दावली पाइन्छ जसबाट लिच्छविकालमा नेपाल भनेर चिनिने राज्यको अस्तित्व पुष्टि हुन्छ । मानदेव लिच्छवी वंशका पाँचौं शक्तिशाली शासकका रूपमा रहेका थिए । लिच्छवी वंशको शासनको सुरुवात झन्डै ई. पू .३८५ बाट भएको अनुमान गरिन्छ यसको मतलब प्रमाणित रूपमै ई.पू. ३८५ देखि नेपाल देशको नामाकरण सुरु भएको अहिलेसम्मको प्रमाणले देखाउँछ ।
            यति प्राचीनकालदेखि नामांकरण भएर अस्तित्वमा रहेको देश नेपाल किन बनेन भनेर भन्नुभन्दा पहिला के इतिहासमा नेपाल बनेको थियो त? छिमेकी देशहरूको दाँजोमा कस्तो स्थितिमा थियो? त्यसतर्फ जाउँ । नेपालको इतिहासलाई पाँच मुख्य कालखण्डमा वर्गीकरण गरिएको छ । प्राचीनकाल, मध्यकाल, आधुनिक काल, राणाकाल र समसामयिक काल ।
१) प्राचीनकाल
        प्राचीनकाल अन्तर्गत किराँत, लिच्छवी शासनकाललाई जनाउँछ यो शासनकाल ई. पू. देखि  १२ औँ शताब्दीसम्म चलेको थियो । नेपालको पहिलो राजा किरात वंशको राजा यलम्बरलाई मानिन्छ । किरात शासनको कुनै पनि प्रमाणित शिलालेखहरू नभेटिएको हुँदा त्यसबेलाको सामाजिक, आर्थिक अवस्था, तत्कालीन विकासको स्थिति प्रमाणित रूपमा भन्न सकिँदैन तर लिच्छवी राजाहरूले नै आफ्नो शासनकालमा आफूले लेखेका शिलापत्रमा किरात राजाहरूको उल्लेख गरेको पाउँछौं । लिच्छवी शासनकालमा भने शिल्पकला, अर्थात् ढुङ्गामा कुँदिने कला, मूर्ति शिल्प र वास्तुकलामा उच्चतम विकास भएको समय थियो जसको उदाहरण चाँगुनारायण मन्दिर परिसरका मूर्तिहरू शिलालेखहरू लाई लिन सकिन्छ । लिच्छवी राजा अंशुवर्मा ले ई.स. ६०५ देखि ६२१ सम्म राज्य गर्दा काठमाडौँ उपत्यकामा हालको हाडीगाउँ क्षेत्र नजिकै हिन्दू बौद्ध कलाको उत्कृष्ट मिश्रण ले त्यतिबेलाको एक भव्य दरबार बनाउन लगाएका थिए जसलाई मानगृह अर्थात् कैलासकुट भवन भनेर भनिन्छ त्यहीँबाट उनले राजनीतिक र प्रशासनिक निर्णयहरू लिन्थे । उक्त अनुपम दरबारको बारेमा चीनबाट व्यापारको सिलसिलामा नेपाल मा आएका चिनिया यात्रुहरू ले विशेष रूपमा वर्णन गरेका थिए । लिच्छवी शासनकालमा जल वितरण प्रणालीको सुरुवात अथवा ढुङ्गेधारा को प्रविधि जुन प्रविधि संसारमा अन्त कतै पाइँदैन । पानीको मुहानबाट पानीलाई राजकुलोको निर्माण गरी राजकुलो हुँदै ग्राम, बस्ती वरपरका पोखरीहरूमा जमाउने र बजार, ग्राम अथवा बस्ती भित्रका जमिनको सतह मुनि अदृश्य पानी बग्ने रेशाहरू बनाई ढुङ्गेधारामा झार्ने र खानेपानीको स्रोत जुटाउने अत्यन्तै मौलिक सृजनात्मक प्रविधि को सुरुवात त्यतिबेला भइसकेको थियो । लिच्छविकालको समयमा नेपालले जल व्यवस्थापन ढुङ्गेधारा, मूर्तिकला, लेखोट, राज्यव्यवस्था सुधार जस्ता क्षेत्रमा राम्रो प्रगति गरेको थियो भने त्यही समकालीन समयमा भारतमा गुप्त वंशको शासन चलिरहेको थियो । समुन्द्र गुप्तले भारतलाई एकीकृत गरे भने चन्द्रगुप्त द्वितीयको समयमा कला साहित्य खगोलशास्त्र गणितको विकास भएको थियो आर्य भट्टको समयमा शून्य अङ्कको परिकल्पना भएको थियो र नालन्दा विश्वविद्यालयको स्थापना भएको थियो । त्यसैबेला हिन्दुधर्मको पुनर्जागरण मूर्ति पूजा र मन्दिर निर्माणको वृद्धि अत्यधिक रुपमा भएको थियो । नेपालमा लिच्छवि शासन व्यवस्था रहँदा भारतमा गुप्त वंशको स्वर्णयुग चलिरहेको थियो ।  नेपाल र भारतबीच धार्मिक सांस्कृतिक र व्यापारिक सम्बन्ध मजबुत थियो ।
          त्यस्तै चीनमा नेपालको लिच्छवी शासनको समकालीन शासकहरूमा टाङ वंश अत्यन्त शक्तिशाली थियो । त्यही बेला नेपालका राजा नरसिंह देवकी छोरी भृकुटीले तिब्बती राजा सोङ चोङ गम्पोसँग विवाह गरेकी थिइन् । टाङवंशले चीनमा व्यापारिक मार्गहरू जस्तो सिल्क रोडलाई पूर्नविस्तार, गर्यो कागजको विकास छपाई कला र कम्पासको विकास त्यतिबेला भएको थियो र बौद्ध धर्मको ठूलो विस्तार भएको थियो । चीनसँग पनि नेपालको राम्रो सम्बन्ध थियो नेपालबाट बौद्ध धर्म चिन पुगेको थियो । यसरी लिच्छवी शासनकालको समयमा संसारका विभिन्न भागहरूमा ठूला सभ्यताहरू फस्टाइरहेका थिए । नेपालले मुख्य रूपमा भारत चीन र दक्षिण पूर्वी एसियासँग सांस्कृतिक तथा व्यापारिक सम्बन्ध राखेको थियो । समग्रमा भन्दा लिच्छवी शासन व्यवस्था हुँदा नेपालको राजनीतिक रूपमा स्थिर शासन व्यवस्था थियो । सांस्कृतिक विकासको रूपमा हिन्दू बौद्ध संस्कृतिको मिश्रण मूर्तिकला लेखनको सुरुवात भएको अवस्था थियो । आर्थिक समृद्धि अन्तर्गत व्यापारिक मार्गहरूको विकास स्थानीय अर्थतन्त्र राम्रो र मजबुत बनाइएको थियो । 
         वैज्ञानिक तथा प्रविधिको विकास अन्तर्गत जल व्यवस्थापन ढुङ्गेधारा को मौलिक प्रविधिको विकास भएको थियो र व्यापार अन्तर्गत भारत  चीन–तिब्बतसँग राम्रो व्यापार फस्टाएको थियो । भौगोलिक हिसाबमा भारत र चीनभन्दा एकदमै सानो देश भएतापनि समग्र हिसाबले भन्दा त्यस समयमा नेपालको सभ्यता संस्कृति धर्म र अर्थतन्त्रको राम्रो आधार स्तम्भ रहेको युग थियो । समाज जातीय रूपमा विभाजित भएपनि धार्मिक सहिष्णुता उच्च थियो । आर्थिक रुपमा कृषि र व्यापार फस्टाएको थियो । वास्तुकला मूर्तिकला तथा संस्कृत साहित्यले नयाँ उचाई हासिल गरेको थियो ।
२) मध्यकाल 
            नेपालको इतिहासमा मध्यकाल भनेको मल्ल शासन काल अर्थात् मल्लकाल लाई जनाउँछ जुन बाह्रौँ शताब्दीदेखि १८ औँ शताब्दीसम्म चलेको शासन व्यवस्था हो मल्लकाल नेपालको इतिहासमा सांस्कृतिक धार्मिक कलात्मक तथा आर्थिक दृष्टिले अत्यन्तै समृद्ध काल मानिन्छ यही कारणले गर्दा यसलाई नेपालको स्वर्णयुग पनि भनिन्छ । मल्लकालमा काठमाडौँ उपत्यकामा ३ महत्वपूर्ण समृद्ध राज्यहरू (भक्तपुर, काठमाडौँ, ललितपुर) थिए । राजनीतिक स्थिरता थियो कला र वास्तुकलामा धेरै ठूलो उन्नति भएको थियो । मल्लराजाहरूले धेरै मठ मन्दिर दरबार स्तम्भ तथा धरोहर निर्माण गरेका थिए । प्रसिद्ध पेगोडा शैलीको तलेजु मन्दिर, काष्ठमण्डपको विकास त्यही बेलामा भएको थियो । त्यस समयमा त नेपालमा वास्तुकला शिल्पकला को उच्चतम विकास भएको समय मानिन्छ जुन समयमा मान्छेहरूभन्दा कलात्मक मूर्तिहरु र घरहरू भन्दा अनुपम कलाले भरिएका मन्दिर बढी बनेको समय थियो । त्यतिबेलाकै धरोहर काठमाडौँ, ललितपुर, भक्तपुरका दरबार क्षेत्रहरू अहिले पनि युनेस्को सम्पदा सूचीमा परेका छन् भने धार्मिक तथा सांस्कृतिक रूपले पनि विकास भएको समय थियो । हिन्दू र बौद्ध दुवै धर्म फस्टाएका थिए कुमारी प्रथा अथवा जीवित देवी कुमारीको पूजाको शुरुवात तथा अन्य जात्राहरु व्यवस्थित रुपमा मनाउने क्रम त्यही बेलादेखि थालिएको थियो । 
त्यसबेलाको आर्थिक तथा व्यापारिक विकास अन्तर्गत नेपाल भारत तिब्बत व्यापारको मार्ग केन्द्र बनेको थियो । काठमाडौँ त्यतिबेला व्यापारिक केन्द्र शहर बनेको थियो । मल्लकालमा नै धातु मुद्राको अर्थात् सुन चाँदी र तामाका मुद्राहरू प्रचलन ल्याइएको थियो । मल्लराजा जयस्थिति मल्लले तत्कालीन अवस्थामा मल्लकालीन समाजलाई व्यवस्थित अनुशासित र संगठित बनाएका थिए । जातीय वर्गीकरण, करप्रणाली, कानुनी सुधार र धार्मिक संरचनाको व्यवस्थापन जस्ता सुधारात्मक उपलब्धिहरू भएका थिए उनलाई नेपालमा समाजिक सुधारको जनक मानिन्छ । 
              मल्लकालको समकालीन समयमा भारतमा मुगल साम्राज्य खडा भएको थियो त्यसबेला ताजमहल जस्तो अद्भुत भवन निर्माण भएको थियो । मुगल चित्रकला फस्टाएको थियो र व्यापारिक रूपले भारत निकै समृद्ध बनेको थियो भने गणित खगोलशास्त्र र चिकित्सा विज्ञान को विकास भएको थियो । र भारतले युरोपसंग व्यापार विस्तार (विशेषगरी ब्रिटिस इस्ट इन्डिया कम्पनीको सुरुवात) गरेको थियो । त्यस्तै मल्लकालको समयमा तिब्बतमा धार्मिक सांस्कृतिक तथा व्यापारिक रूपमा उल्लेखनीय विकास भएको पाइन्छ पाँचौं दलाई लामाको समयमा पोताला दरबारको निर्माण भएको थियो नेपालका मल्लराजाहरुले तिब्बतसँग सुनचाँदी, नुन र उन आदिको व्यापार गरेका थिए । नेपाली कलाकार (अरनिको लगायत) हरुले तिब्बतमा नेपाली पेगोडा शैलीको मन्दिर, गुम्बा तथा मूर्तिहरू बनाउन मद्दत गरेका थिए । 
              त्यस्तै चीनमा तत्कालीन अवस्थामा ३ प्रमुख वंशहरूले राज्य गरेका थिए । तिनीहरूमा युवान वंश चङ्गेज खानका नाती कुब्लाखानद्वारा चीन एकीकरण भएको थियो सिल्क रोडको विकास, युरोप र चीनको व्यापार फस्टाएको थियो । चीनमा पहिलोपटक कागजी मुद्राको प्रयोग भएको थियो । त्यस्तै चीनको स्वर्ण युगमध्ये एक मिङ वंशमा महान चीन पर्खालको मर्मत तथा पुननिर्माण भएको थियो । सेरामिक उत्पादन तथा व्यापार सुरुवात भएको थियो अर्को छिङ वंश शासनकालमा कृषि औद्योगिक उत्पादन तथा व्यापारमा अभूतपूर्व विकास भएको थियो । यसरी समग्रमा हेर्दा नेपालमा भने त्यस अवस्थामा मल्लकालको मुख्य उपलब्धि मठमन्दिर निर्माण नेवारी कला र व्यापार फस्टाएको थियो कला, वास्तुकला तथा संस्कृतिको विकासको उत्कर्ष काल रहेको कारण सामाजिक, सांस्कृतिक रूपमा महत्त्वपूर्ण समृद्धि नेपालले पाएको थियो । त्यसैले नेपाललाई सांस्कृतिक रूपमा स्वर्णकाल भनेर मल्ल शासनकालको अवस्थालाई मानिन्छ ।
३) आधुनिक काल
               मल्ल राजाहरू विभाजित भई मल्ल शासन कमजोर भएपछि गोरखाका राजा पृथ्वीनारायण शाहले मल्ल राजाहरूलाई पराजित गरी नेपाल एकीकरणको सुरुवात गरे । नेपालको आधुनिक काल भनेको शाहवंश काललाई मानिन्छ । यो काल विक्रम सम्वत १८२५ देखि १९०३ सम्मको समयलाई मानिन्छ । त्यस समय काठमाडौँ उपत्यकामै तीनवटा राज्य र बाइसे चौबीसी राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गर्नु नै त्यसबेलाको प्राथमिकता भएको हुँदा गोरखाका राजा पृथ्वी नारायण शाहले एकीकरण अभियान सुरु गरेका हुन् र आजको जुन नेपालको भूगोल छ यो हुनुको श्रेय पृथ्वी नारायण शाहलाई जान्छ । त्यसपछि उनका सन्तानहरूमा बहादुर शाह, गिर्वाण युद्ध विक्रम शाह को पालामा पनि नेपाल राज्यको विस्तार भएको थियो । सन् १७६८ देखि १८४० को  अवधिमा विश्वभर औद्योगिक क्रान्ति उपनिवेशवाद राजनीतिक परिवर्तन र व्यापारिक सङ्घर्षहरू भएको घटनाहरू मुख्य रूपमा देख्न सकिन्छ । विशेषगरी भारतमा ब्रिटिस उपनिवेशवादको विस्तार भइरहेको थियो भने चीनमा अफिम युद्धका कारण विदेशी हस्तक्षेप बढ्दै गएको थियो । नेपालमा पृथ्वी नारायण शाहले एकीकरण गरिरहँदा त्यसकै वरपरको समयमा सन् १७७६ मा अमेरिकाले स्वतन्त्रता प्राप्त गर्यो । 
             सन् १७८९ देखि १७९९ मा फ्रान्समा क्रान्ति भयो । सन् १८०४ मा नेपोलियन बोनापार्ट फ्रान्सको सम्राट बने सन् १८१५ मा उनको पतन भयो । सन् १८३७ मा महारानी भिक्टोरिया ले ब्रिटिश सिंहासन सम्हालेकी थिइन् । यस समयमा नेपालका छिमेकी दुवै देशहरूको अर्थतन्त्र र सार्वभौम अखण्डतामा मा ठूलो असर परेको अवस्था थियो । किनभने भारतमा ब्रिटिस उपनिवेशवादले स्थानीय शक्ति समाप्त गरेको थियो जबकि चीनमा अफिम युद्धले चीनलाई कमजोर बनाइरहेको थियो । यी घटनाहरुले नेपालमा पनि असर पार्यो । किनभने ब्रिटिस, भारत र चीन तिनै राष्ट्र नेपालका छिमेकी थिए । नेपालले ब्रिटिस, भारत र चीनसँग सन्तुलन कायम राख्न संघर्ष गर्नु परेको थियो जसले नेपाल चिनिया युद्ध सन् १७८८ देखि १७९२ र नेपाल अंग्रेज युद्ध सन् १८१४ देखि  १८१६ जस्ता संघर्षहरु निम्त्यायो । त्यतिबेला नेपाल राज्यको सिमाना वर्तमान नेपालको सिमाना भन्दा पर पर सम्म थियो । पछि सुगौली सन्धिपश्चात् नेपाल हालको अवस्थामा खुम्चिनु परेको हो । त्यतिबेलाको आवश्यकता अनुसार अन्य विकास निर्माणका कार्यहरू भन्दा पनि नेपाल एकीकरणको कार्यलाई अथवा भौगोलिक अखण्डतालाई जोगाउने कार्यलाई मुख्य ध्यानमा राखी काम भएको थियो वर्तमान नेपालको भूगोल त्यतिबेलाकै उपलब्धिको रुपमा लिन सकिन्छ ।
४) राणा शासनकाल
              राणा शासनकाल वि.सं. १९०३ बाट २००७ सम्मको समयलाई मानिन्छ । विक्रम सम्वत १९०३ को कोत पर्वपछि नेपालमा राणा शासनको औपचारिक सुरुवात जङ्गबहादुर राणाले गरे । उनले सम्पूर्ण शक्तिलाई आफ्नो हातमा लिएर नेपालमा १०४ वर्षसम्म राणा परिवारको एकक्षत्र शासन कायम गरे । राणाशासन नेपालका लागि सामाजिक आर्थिक शैक्षिक र राजनीतिक रूपमा अत्यन्तै प्रतिगामी रह्यो । नेपाल अरु देशहरूभन्दा पछाडि पर्न गयो किनभने राणाकालमा जनतालाई शिक्षाबाट वञ्चित गरिएको थियो देशमा स्कुल, विद्यालय विश्वविद्यालयहरू खोल्न दिइएको थिएन । जसले गर्दा नेपालका जनतामा आधुनिक ज्ञानको विकास हुन सम्भव भएन । त्यस्तै उद्योग व्यापार र आर्थिक विकासको रोकावट को रुपमा राणा शासनकाल रह्यो । नेपाललाई बाहिरी विश्वसँग सम्पर्क विहीन बनाइयो । राणाहरूले निरंकुश शासन प्रणाली लागू गरे राजालाई केवल नाम मात्रको बनाएर सम्पूर्ण शक्ति आफ्नो हातमा राखे देशमा राजनीतिक दल खोल्न दिइएन । आफ्नो विलासिताका लागि तत्कालीन समयमा सिंहदरबार, सेतो दरबार बागदरबार लगायतका ठूला ठूला दरबारहरू भने बनाइएका थिए । अन्य आधारभूत पूर्वाधारहरू जस्तै सडक अस्पताल र सार्वजनिक भवन हरूको निर्माण हुन सकेन विद्युतीय सुविधा, संचार माध्यम र यातायातको विकास हुन सकेन । परिणाम त तत्कालीन अवस्थामा नेपाल आधुनिक पूर्वाधार विकासमा विश्वका अन्य देशहरूभन्दा निकै पछाडि पर्यो । 
           यस समयमा बाँकी विश्वमा भने खास गरेर भारतमा सन् १८५७ मा भारतीय सैनिक विद्रोह भएपनि ब्रिटिशहरुले दबाएका थिए । सन् १८५८ मा भारत ब्रिटिश सरकारको नियन्त्रणमा आएको थियो । र सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । त्यस्तै चीनमा ब्रिटेन र चीनबीच अफिम युद्ध चलेको थियो । अफिम युद्ध भनेको १८ औँ शताब्दीमा ब्रिटेनले भारतबाट अफिम चीन निर्यात गर्न थाल्यो । चिनियाँ नागरिकहरू अफिमको लतमा परे जसले चिनियाँ समाज, अर्थतन्त्र, श्रमशक्तिलाई नोक्सान पु¥यायो त्यसपछि चीनले अफिमलाई पूर्ण रुपमा प्रतिबन्ध गर्यो यसबाट ब्रिटेनलाई चीनसँगको व्यापारमा ठूलो घाटा लाग्यो किनकि ब्रिटेनले अफिम बेचेर धेरै पैसा कमाइरहेको थियो । त्यसपछि ब्रिटेनले चीनमा अफिम स्वतन्त्रपूर्वक बेच्न पाउनुपर्छ भन्ने माग राख्यो । त्यसपश्चात् चीन र ब्रिटेनको पहिलो अफिम युद्ध सन्  १८३९ देखि १८४२ र दोस्रो अफिम युद्ध सन् १८५६ देखि १८६० सम्म भएको थियो त्यो युद्धमा चीनले नराम्ररी हार बेहोर्नुपर्यो । पहिलो अफिम युद्धमा  ब्रिटेनले हङकङ टापु कब्जा गर्यो पाँचवटा प्रमुख चिनियाँ बन्दरगाहहरू विदेशी व्यापारका लागि खोलियो । र चीनलाई ब्रिटेनलाई ठूलो क्षतिपूर्ति तिर्न बाध्य पारियो । त्यस्तै दोस्रो अफिम युद्धमा पनि चीनले हार बेहोर्नुपर्यो । र बाध्य भएर युरोपबाट आउने अफिमको व्यापारलाई वैद्य बनाउनुपर्यो । युरोपियन व्यापारीहरू चीनभर स्वतन्त्र व्यापार गर्न पाउने भए । अफिम युद्ध नै आधुनिक चीनको पतनको सुरुवात बन्यो । र सन् १९११ मा चिङ वंश ढल्यो र चीन गणराज्य सुरु भयो । यता तिब्बत भने सन् १९१३ मा चीनबाट स्वतन्त्र भएको थियो तर फेरि १९५० मा चीनले नियन्त्रणमा लियो । 
           त्यस्तै युरोपमा औद्योगिक क्रान्तिको दोस्रो चरण सन् १८५० देखि १९०० सम्म अघि बढ्यो सन् १९१४ देखि १९१८ मा पहिलो विश्वयुद्ध भयो । र सन् १९३९ देखि १९४५ मा दोस्रो विश्वयुद्ध भयो । अमेरिका र सोभियत संघ विश्वशक्ति राष्ट्र बने ।  जब नेपालमा राणाहरू निरंकुश रुपमा शासन गर्दै थिए संसारभरी प्रजातन्त्र उद्योग र प्रविधिको विकास भइसकेको थियो । भारत स्वतन्त्र भइसकेको थियो । चीन पनि विस्तारै तङ्रिदै थियो तर नेपाल भने अझै पुरानै व्यवस्थामा अड्किएको थियो । विश्वमा आएको बदलावसँगै नेपालीहरूमा पनि राजनीतिक चेतनाको विकास त भइरहेको थियो । देशको उन्नति प्रगति नहुनु जनताको आर्थिक अवस्थाको सुधार नहुनु सामाजिक पछौटेपन बढ्नु र नेपाललाई प्रजातान्त्रिक रूपमा अगाडि बढ्न राणा शासनको अन्त्य भएपछि मात्र सम्भव हुने निष्कर्ष निस्कियो । फलस्वरूप राजा त्रिभुवन तत्कालीन राजनैतिक पार्टी र सर्वसाधारण जनताको योगदानबाट अथवा आन्दोलनबाट विक्रम सम्वत् २००७ सालमा जहानियाँ राणाशासनको अन्त्य हुन पुग्यो । र नेपालमा प्रजातन्त्रको स्थापना भयो ।
५) समसामयिक काल
         प्रजातन्त्रको स्थापना पश्चात् देशले काँयापलट गर्छ भन्ने जुन खालको अपेक्षा आम सर्वसाधारण जनताले गरेका थिए त्यो हुनसकेन तत्कालीन नेताहरूले शासन व्यवस्था चलाउन नसक्दा देशमा भाडभैलो हुन थाल्यो । उता दोस्रो विश्वयुद्धपछि सँगसँगै जहानियाँ शासन अन्त्य गरेको जापानले सन् १९४५ पछि शिक्षामा सुधार गर्यो । प्राविधिक शिक्षामा जोड दियो जसले औद्योगिक उत्पादनमा मद्दत गर्यो । दोस्रो विश्वयुद्धमा अमेरिकासँग जापानले हारे पनि अमेरिकाले जापानलाई आर्थिक सहायता दियो । जापानले औद्योगिक उत्पादन बढाउने नीति अपनायो । जापानी समाज कठोर परिश्रम, अनुशासन र सामूहिक सोचमा आधारित थियो । कम्पनीहरूमा दीर्घकालीन रोजगारीको व्यवस्था थियो जापानले कार, इलेक्ट्रोनिक्स, स्टिल, रोबोटिक्स जस्ता क्षेत्रमा लगानी गरेर उत्पादन बढायो र सो उत्पादनलाई बिक्री गर्न संसारभर निर्यात पनि बढायो । अर्थात् निर्यातमुखी अर्थतन्त्र सुरुवात गर्यो । सरकार र निजी क्षेत्रको सहकार्यले विकासको स्पष्ट योजना बनायो जापानमा राजनीतिक स्थिरता थियो जसले दीर्घकालीन योजना बनाउन सहयोग पु¥यायो । यता चीनले सन् १९४९ मा समाजवादी क्रान्ति र सुधार अन्तर्गत माओत्से तुङको नेतृत्वमा चीनमा साम्यवादी क्रान्ति भयो । भूमि सुधार भयो । जसले किसानहरूको उत्पादनमा वृद्धि गर्यो सन् १९७८ पछि देंग सिया ओपिङले खुला नीति अपनाएपछि निजी व्यवसाय खोल्न अनुमति दियो विदेशी लगानीहरू भित्रर्याइयो । प्रशस्त जनशक्ति भएका कारण चीन विश्वको उत्पादन गर्ने कारखाना बन्यो । अर्थात् विश्वका ठूला ठूला बहुराष्ट्रिय कम्पनीहरुले चीनमा उत्पादनका लागि उद्योग कलकारखानाहरू खोले । चीनले मुख्य रूपमा सहज यातायात, आधुनिक सहरहरु विद्युत एवं सञ्चार जस्ता पूर्वाधार निर्माणमा ठूलो मात्रामा लगानी गर्यो त्यस्तै शिक्षा र प्रविधिमा ठूला लगानीहरु भए अलिबाबा, हुवावे, जिओमी, बिवाइडी जस्ता कम्पनीहरू विकसित भए र अहिले चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रूपमा परिचित छ ।
         यता नेपालमा भने प्रजातन्त्र आएपश्चात पनि देशमा राजनीतिक अस्थिरता नेताहरूको अकर्मन्यताले गर्दा तत्कालीन राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिई निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । राजा महेन्द्रको शासनकालमा केही उल्लेखनीय विकास निर्माणका कार्य तथा भूमि व्यवस्थापन क्षेत्रमा केही कामहरू भए सरकारी तवरबाट उद्योगधन्दाहरु स्थापना भए । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग तथा पृथ्वी राजमार्ग जस्ता महत्वपूर्ण राजमार्गहरूको विकास भए । केही राम्रा कुराहरू तत्कालीन अवस्थामा भएको पाइन्छ तर निर्दलीय पञ्चायती व्यवस्था भएको कारण आम जनताले स्वतन्त्र भएर बोल्न पाउने अवस्था रहेन अर्थात् स्वतन्त्रता को हनन भयो । र त्यसपश्चात् वि.सं. २०४६ सालमा निरंकुशताका विरुद्ध जन–आन्दोलनबाट प्रजातन्त्रको पुनर्बहाली भयो । 
            शासनसत्ता जनताको हातमा त आयो तर प्रजातन्त्रको पुनर्बाली पश्चात पनि देश विकास हुन सम्भव भएन र पनि केही मात्रामा खुला बजार अर्थतन्त्र, विदेशी लगानीको प्रवेश, शिक्षादरमा सुधार, स्वास्थ्य संरचनामा सुधार टेलिकम, सडक, जलविद्युत विस्तार लगायतका केही कामहरू त हुँदै थिए । त्यही समय नेपालमा माओवादी सशस्त्र द्वन्द सुरु भयो । सन् १९९६ देखि २००६ सम्म भएको माओवादी द्वन्दले नेपालको विकासलाई अवरुद्ध गर्यो । देशबाट सामन्तवादको अन्त्य गरिनुपर्छ अनि मात्र देशलाई विकास गर्न सकिन्छ भनेर तत्कालीन भूमिगत माओवादी र दलहरु मिलेर गरेको जनआन्दोलनले राजतन्त्र फालियो र देशमा माओवादी दलको संलग्नता सहित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । गणतन्त्रको स्थापना भएपछि देश विकास हुन्छ भन्ने जुन अपेक्षा थियो त्यसमा पनि कुठाराघात हुँदै आयो । विश्व भौतिक विकास र उन्नति प्रगतिको चरम चुलीमा अग्रसर हुँदै गर्दा छिमेकी देशहरू विकासको उच्च गतिमा हिँडिरहँदा हाम्रो देश भने यद्यपि व्यवस्था परिवर्तनकै मार्गमा रहेको छ । व्यवस्था परिवर्तन गर्दै गर्दा तिनै नेताहरूले अब देशमा विकास र समृद्धिको बाढी आउनेछ । भनेर जनतालाई आश्वासन दिएका थिए । 
            गणतन्त्र आएको २० वर्ष बितिसक्दा पनि देशमा कुनै खालको परिवर्तन हुन सकेन बरु गरिबी र असमानताको खाडल बढ्दै गइरहेको छ । महङ्गी बढ्दै गइरहेको छ । जनताको कमाई घट्दै गइरहेको अवस्था छ । यता नेता र कार्यकर्ताहरू भने मनग्य कमाइरहेका छन् । भ्रष्टाचार गरिरहेका छन् । पुस्तौँ पुस्तासम्मको लागि सम्पत्ति थुपारीरहेका छन् । साधारण जनता भने झन् गरिबीको मारमा परिरहेको अवस्था छ । देशमा राजनीति व्यवस्था धेरै परिवर्तन भयो । तर विकास कहिले भएन । देशका युवाहरूले देशमै काम गर्ने वातावरण कहिले बनेन हाम्रा पाखुरा हरु हाम्रा पौरखहरू अहिले विदेशमा श्रम गर्दैछन् अरबको मरुभूमिमा सुन फलाउँदै छन् । तर यस्तो मलिलो भूमिमा काम गर्ने वातावरण भएन । हिमाल पहाड तराई मिलेर बनेको कति सुन्दर छ यो देश सयौँ जातजाति भाषाभाषी संस्कृति रहनसहन ले सजिएर बनेको छ यो देश । विश्वको मानचित्रमा सानो देश भएपनि यति सानो देशभित्र संसारमा ठूला ठूला देशमा नभएको विविधता छ । तर नेपालको दुर्भाग्य अस्थिर राजनीति, औद्योगिक विकासको अभाव, कमजोर शिक्षा प्रणाली, भ्रष्टाचार र कमजोर प्रशासन, आत्मनिर्भर हुन नसक्नु, जस्ता विभिन्न कारणले यो देश विकासमा धेरै पछि पर्यो ।नेपालमा गरिबीको अवस्थालाई मापन गर्न सन् २०२३ मा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा बहुआयामिक गरिबीको दर १७.४% रहेको छ । यो दरले नेपाललाई दक्षिण एसियाली देशहरूमा तुलनात्मक रुपमा केही राम्रो स्थितिमा देखाए पनि विश्वव्यापी रुपमा नेपाल अझै पनि गरिबीको उच्च दर भएको देशहरुमा पर्दछ यसका साथै राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२४ मा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९÷८० अनुसार नेपालको २०.२७% जनसंख्या गरिबीको रेखामुनि रहेको छ । जसको अर्थ करिब ५८ लाख ६३ हजार नेपाली नागरिक आधारभूत आवश्यकताहरू पूरा गर्न असमर्थ छन्  । 
             विश्वव्यापी रूपमा गरिबीको मापन विभिन्न सूचकांकहरूद्वारा गरिन्छ । जस्तै प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र बहुआयामिक गरिबी सूचकाङ्कहरुमा नेपालको स्थान मध्यमदेखि तल्लो स्तरसम्म पर्छ । यसरी नेपालले गरिबी न्यूनीकरणमा सुधार गर्नका लागि दीर्घकालीन आर्थिक नीति शिक्षा स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान दिनु एकदमै आवश्यक रहेको छ । यसरी नेपालको विकासलाई विगतदेखि विभिन्न चरणमा नियाल्दा अहिलेको वर्तमान अवस्थामा राजनीतिक परिवर्तन, आर्थिक सुधार, शिक्षा स्वास्थ्य र पूर्वाधार विकास लगायतका पक्षहरूमा क्रमिक सुधारहरु भएपनि अपेक्षाकृत समयअनुसार प्रगति हुन नसकेको कारण तुलनात्मक रुपमा अन्य देशहरूले विकासको तीव्र गति समातेको अवस्थामा नेपाल पछाडि परेको देखिन्छ । त्यसैले नेपालको दीर्घकालीन विकास को खाका बनाउने र लागू गर्ने हो भने सर्वप्रथम देशमा राजनीतिक स्थिरता एवं आर्थिक क्षेत्रमा सुधार आवश्यक छ जसमा अहिलेको जस्तो रेमिट्यान्समा मात्र भर नपरी स्वदेशमै रोजगारी सिर्जना गर्ने जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिमा लगानी गर्ने, उद्योग खोल्ने नीति लेराउने र विदेशी लगानी भित्र्र्याउने त्यस्तै व्यावसायिक शिक्षा र प्रविधिमा जोड दिने गुणस्तरीय सरकारी विद्यालय र अस्पतालहरू विस्तार गर्न सम्पूर्ण क्षेत्रमा पारदर्शिता कायम गर्ने, सरकारी प्रणालीलाई पारदर्शी बनाउने जस्ता कामहरू गर्न सकेमा अहिलेको अवस्थामा कमजोर रहेको नेपाल को आर्थिक एवं सामाजिक अवस्था लाई पक्कै पनि सुधार गर्न सकिन्छ ।