2026 August 05/ 04:24: 42am

    बनेपा/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ वटा स्थानीय तह मध्ये बनेपा देशभरका स्थानीय तहहरु मध्ये चौथो भएको छ ।
    जिल्लाका अन्य १२ पालिका मध्ये पनौतीले ७३ नम्वर प्राप्त गरेको छ भने रोशीले ७०.१ नम्वर प्राप्त गरेको छ । धुलिखेल नगरपालिकाले ६९.३ प्रतिशत, खानीखोला गाउँपालिकाले ६२.३, महाभारत गाउँपालिकाले ६१.१, बेथान्चोक गाउँपालिकाले ६०.९, मण्डनदेउपुर नगरपालिकाले ५७.७, पाँचखाल नगरपालिकाले ५७.६, नमोबुद्ध नगरपालिकाले ५६.३, भुम्लु गाउँपालिकाले ५५.४ प्रतिशत र तेमाल गाउँपालिकाले ५३.१ प्रतिशत नम्वर प्राप्त गरेका छन् । चौरीदेउराली गाउँपालिकाले ५२.९ प्रतिशत अंक प्राप्त गरेको छ । कार्यसम्पादनमा जिल्लाका अधिकांश पालिकाहरुको अवस्था कमजोर देखिएको छ । ७० प्रतिशत पनि कटाउन नसक्ने १० वटा पालिका छन् । ६० पनि कटाउन नसक्ने ६ वटा पालिका छन् । 
    बनेपा नगरपालिकाले १ सयमा ७८ अंक प्राप्त गर्दै चौथो बनेको हो । बनेपासँगै स्याङजाको आँधिखोला गाउँपालिका पनि आयोगको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट चौथोमा पर्न सफल भएको छ । डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको छ । आयोगले विभिन्न १७ वटा सूचक राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा अमरगढी नगरपालिका ७५३ स्थानीय तहमध्ये ८१.७ अंक प्राप्त गरी देशकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो । अमरगढी पछि उत्कृष्ट हुने पालिकामा ईलामको सुर्याेदय नगरपालिका रहेको छ । आयोगको कार्यसम्पादन मूल्यांकनमा सुर्याेदयले ८०.२ अंक प्राप्त गरेको हो । समग्र पालिकामा नै उत्कृष्ट अमरगडी र दोस्रो सुर्याेदय हुँदा २ सय ७६ नगरपालिकामा पनि उनीहरु नै उत्कृष्ट भएका छन् । ४६० गाउँपालिकामध्ये उत्कृष्ट स्याङजाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ भएका छन् । उनीहरु दुवै गाउँपालिकाले बराबर ७८.२ अंक प्राप्त गरेका छन् । समग्र ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा पनि कालिगण्डकी र नेत्रावती तेस्रो उत्कृष्ट पालिका बनेका छन् । आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक भएको हो ।