धुलिखेल/झुट्टा विवरण पेश गरी नागरिकता लिनेहरुको सख्या बढिरहेको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट विदेशी नागरिकल समेत नागरिकता लिई अबैद्य तस्करी गरिरहेको तथ्यहरु सार्वजनिक भए । नागरिकता विक्री प्रकरणमा संलग्नहरुलाई कारवाही पनि भएको छ । तर पनि नागरिकहरु किन झुट्टो विवरण पेश गरी नागरिकता लिईरहेका छन् ?
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नमोबुद्ध नगरपालिका ११ बस्ने २४ बर्षिया अनिशा लामाले झुट्टा विवरण पेश नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा मुद्दा दायर गरेको छ । २०७९ माघ १५ गते नमोबुद्ध नगरपालिका वडा नम्वर ११ को वडा कार्यालयमा अनिशा लामाले नागरिकताका लागि सिफारिस लिएर नागरिकता बनाएकी थिईन् । २०५७ बैशाख १५ गते जन्म मिति राखेर अनिशाले बाबुको नाम कृष्ण लामा उल्लेख गरी नागरिकता लिएकी थिईन् । सोहि नागरिकताबाट उनले राहदानी र राष्ट्रिय परिचयपत्र बनाएकी थिईन् । पुनः बाबुको नाम फरक परेको भन्दै नयाँ जन्मदर्ता बनाएर अर्काे नामबाट नागरिकता लिन लागे पछि अनिशा विरुद्ध मुद्दा दायर गरिएको हो । वडा अध्यक्ष बृष्णबहादुर तामाङ, वडा सचिव शंकरप्रसाद भट्टराई लगायतले उनले झुटो विवरण पेश गरेको जानकारी नभएको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले माघ १३ गते उक्त मुद्दा जिल्ला अदालतमा दर्ता गरेको छ ।
त्यस्तै बनेपा नगरपालिका वडा नम्वर १४ साँग बस्ने ३७ बर्षिया सविता मगर र ४५ बर्षिय विष्णुप्रकाश थापा मगरले झुट्टा विवरण पेश गरी नागरिकता लिएको अभियोग प्रशासनले सरकारी वकिल कार्यालय मार्फत अदालतमा दर्ता गरेको छ । उनिहरु दुबैजनाले दोहोरो नागरिकता लिएर राष्ट्रिय परिचयपत्र लिएको खुलासा भएको छ । सविताले काठमाडौ जिल्लाबाट पहिलो नागरिकता लिएकी थिईन् भने दोश्रो नागरिकता काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएकी थिईन् । २०५९ सालमा उनिहरुले दोहोरो नागरिकता बनाएका थिए । अहिले परिचयपत्र खिच्ने क्रममा उक्त कुरा खुलासा भएको हो । यो मुद्दा माघ ९ गते दर्ता गरिएको थियो । दिनदिनै नागरिकता लिने क्रममा झुट्टा विवरण पेश गर्ने क्रम बढेको छ । अर्काेतिर प्रविधि मैत्री प्रशासन हुन लागे पछि पहिले पहिले कीर्ते गरेको समेत अहिले खुल्न थालेको छ ।





