
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा मानव बेचविखन, ओसार पसार तथा जिउ मास्ने बेच्ने सम्बन्धि मुद्दा दर्ता हुने क्रम बढेको छ । दर्ता भएका मध्ये केहिको फैसला भईसकेको छ भने केहि मुद्दा विचाराधिन छन् । पछिल्लो समय बैदेशिक रोजगारमा तथा अन्य मुलुकमा लगेर ललाई फकाई विक्री गर्ने भन्दा पनि स्वदेशमा नै विभिन्न प्रयोजनमा काममा राखेर बालिकाहरुको यौन शोषण गर्ने वा शरीरको विक्री गर्ने क्रम बढेको छ ।
खारेज भइसकेको पाँचखाल नगरपालिका ५ खावा स्थित युथ फ्रेण्डसिप रेस्टुरेन्टमा १३ बर्षिया बालिकालाई बेश्याबृत्ति र बेश्यागमन गराउने उद्धवराज गिरी, सुवर्ण तामाङ, नविन श्रेष्ठ पछि बनेपा ७ गोदामचोकमा खाजा होटल संचालन गर्दै आएकी धुलिखेल ९ घर भएकी ४७ बर्षिया चञ्चला महत र सोहि होटलमा कार्यरत अस्मिताको खोजी भएको छ । चञ्चलालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने उद्धवराज गिरी पनि शुक्रबार पक्राउ परेका थिए । उनलाई न्यायाधीश शिवकुमार पोखरेलको इजलासले थुनामा पठाउने आदेश दिएको छ । अन्य दुई सुर्वण र नविन पक्राउ परेका छन् । चञ्चला महतलाई यस अघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०८० जेठ १६ गते १० हजार जरिवना र ४ दिन कैद हुने ठहर गरेको थियो । पहिला पनि चञ्चला यहि अभियोगमा पक्राउ परेको भए पनि प्रहरीले सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको थियो । २०८१ माघ १४ गते जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले उनी विरुद्ध पुरक अभियोग दर्ता गरेको थियो । प्रहरीले उनलाई पुष १८ गते उनलाई खाजा घरबाट नै पक्राउ गरेको थियो ।
जिल्लाका विभिन्न साना साना होटल तथा रेस्टुरेन्टहरुमा काम लगाउने प्रयोजनमा गलत कृयाकलाप अर्थात जिउ मास्ने बेच्ने कार्यमा संलग्न गराएको अभियोगमा प्रहरीले होटल ब्यवसायीहरुलाई मुद्दा चलाई रहेको छ । मुद्दा दर्ता भए पछि केहि घटनामा संलग्न पीडितहरुले भने बयान फेरिरहेका छन् । २०८१ कार्तिक ९ गते पाँचखाल नगरपालिका ५ खावा स्थित युथ फ्रेण्डसिप रेस्टुरेन्टले बालिका र महिलाहरुलाई रोजगार दिने भन्दै यौन ब्यवसायमा संलग्न गराउने गरेको खुलेको छ । प्रहरीमा बालिकाले दिएको जाहेरी पछि गरिएको अनुसन्धानले उक्त घटनाको खुलासा भएको थियो । कार्तिक ९ गते बालिकालाई यौन ब्यवसायमा संलग्न गराएको कसैको उजुरीका आधारमा सिभिल पोशाकका प्रहरी गएर बालिकाको उद्धार गरियो । पाँचखाल नगरपालिका वडा नम्वर ५ खावा स्थित युथ फ्रेण्डसिप रेस्टुरेन्टले बालिका र महिलाहरुलाई रोजगार दिने भन्दै यौन ब्यवसायमा संलग्न गराउने गरेको खुलेको छ । प्रहरीमा बालिकाले दिएको जाहेरी पछि गरिएको अनुसन्धानले उक्त घटनाको खुलासा भएको हो ।
सानै छँदा गाउँघर छाडेर बुबाआमासँग बालिका बनेपा आएर बसोबास गरेकी बालिकाको बाबुको निधन भएको थियो । आमाले केहि समय राम्रो गर्ने प्रयास गरिन् । अन्तत अर्काेसँग विवाह गरेर गए पछि उनि एक्ली भईन् । बनेपाको सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्दै थिईन् । खान लाउन समेत समस्या थियो । त्यहि क्रममा बनेपाको गोदामचोकमा रहेको तिनै चचञ्ली महतको खाजा होटलमा काम गर्न राखि दिईन् । होटलमा यौन ब्यवसाय हुने गरेको रहेछ । चञ्चलीले दैनिक ९÷१० जना पुरुष केटाहरुलाई शारिरिक सम्पर्कका लागि बालिकासँग पठाउन थालिन् । १३ वर्षको उमेरमा उनले भोगेको पीडामा होटल सञ्चालकले दया समेत देखाईनन् । त्यहाँबाट उनी खावा पुगिन् । त्यहिबेला उनको उद्धार भएको थियो । २०८१ कार्तिक ५ गते उनैसँग खाजा खाएर खावामा रहेको युथ फ्रेन्डसिप रेस्टुरेन्टमा गईन् । त्यहि रेस्टुरेन्टमा बस्ने र खाने गर्दै थिईन् । त्यहि दिन देखि उनको रोजगार शुरु भएको थियो । उनलाई कार्तिक ६ गते देखि नै सोहि कार्यमा बाध्य पारियो । कार्तिक ९ गते बालिकालाई यौन ब्यवसायमा संलग्न गराएको कसैको उजुरीका आधारमा सिभिल पोशाकका प्रहरी गएर बालिकाको उद्धार गरियो ।
त्यस अघि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८१ भदौ ५ गते मानव बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्र्तगतको मुद्दा दर्ता भएको थियो । अदालतले उक्त मुद्दामा संलग्न भनिएका अभियुक्तहरुलाई थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । उनिहरुले बालिकाहरुलाई जर्बजस्ति रुपमा होटल तथा रेस्टुरेन्टमा वेटरका रुपमा राखी यौन कार्यमा संलग्न गराएको अभियोग छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शहरी तथा ग्रामिण ईलाका शहरोन्मुख क्षेत्रमा यस्ताखालका विकृत्ति फैलन थालेको स्थानीयले बताएका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८० फागुन १० गते मानव बेचविखन तथा ओसार पसारमा मुद्दा दर्ता भयो । अन्तिम फैसला २०८१ बैशाख १६ गते भयो । जसमा अभियोग दावी नपुग्ने ठहर भयो । प्रहरीले बदलावको भावनाबाट केहि मुद्दाहरु दर्ता गरेको नागरिक समाजका प्रतिनिधिहरुले विश्लेषण गरेका छन् । २०८० असोज १६ गते र २०८० भदौ ४ गते दर्ता भएका दुईवटा मुद्दामा पनि अदालतले अभियोगमा दावी नपुग्ने ठहर गरेको छ । २०८० जेठ २५ गते गते दर्ता भएको मुद्दामा अभियोगमा आंशिक दावी पुग्ने फैसला भएको छ । २०८० बैशाख १२ गते दर्ता भएको मुद्दा अझै फैसला भएको छैन । २०७८ फागुन २२ पछि एकै पटक २०८० बैशाखमा मात्रै मुद्दा दर्ता भएको थियो । २०७८ सालमा एउटा, २०७७ सालमा एउटा र २०७६ सालमा २ वटा मात्रै मुद्दा दर्ता भएको अदालतको रेकर्ड छ । पाँच वर्षको अवधीमा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरुको तथ्यांक ११ वटा मात्रै रहेको भण्डारीले जानकारी दिईन् । ११ वटा मध्ये ५ वटामा दावी नपुग्ने, एउटा फैसला हुन बाँकी, एउटामा आंशिक र अन्य केहिमा दोषि देखिएका छन् ।
पछिल्लो समय बैदेशिक रोजगारमा लैजाने एजेन्टहरुले पनि मानव तस्करी गर्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ । पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।
विवाह गरेको नाटक गरी विदेश पु¥याउने, सरोगेट मदर बनाउने, छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएको घटना भएको प्रहरीले बताएको छ । स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा मानव बेचविखन हुने गरेको प्रहरीले बताएका छ । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिने गरेको एसपी खड्काले बताईन् । बेचबिखन रोक्न समाजमा चेतना फैलाउन, विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउन, पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन, समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न, रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउन सबै क्षेत्र सक्रिय हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।