पनौती/पनौती नगरपालिकाले वडा नम्वर ७ मा रहेका स्वास्थ्य चौकीमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र लायन्स क्लव अफ पनौतीको सहयोगमा तथा पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रत्येक महिनाको दुई पटक पहिलो र तेश्रो शुक्रबार नियमित आँखा उपचार क्लिनिक संचालनमा ल्याएको छ । नगर प्रमुख रामशरण भण्डारीले क्लिनिकको एक कार्यक्रमका बीच बुधबार शुभारम्भ गरेका छन् ।
‘शिविरमा सहभागिहरुका लागि निशुल्क सेवाका साथै आवश्यक भएकाहरुलाई चस्मा र मोतियाविन्दुको निशुल्क उपचारको ब्यवस्था गरिएको छ’–नगर प्रमुख रामशरण भण्डारीले भने–‘विद्यालय तहमा अध्ययन गर्ने कक्षा १ देखि १२ सम्मका करिव ८ हजार भन्दा धेरै विद्यार्थी तथा विद्यालय तह भन्दा बाहिरका नागरिकहरुका लागि पनि आँखाको उपचार सेवामा सहज बनाउने उदेश्यले पहिलो चरणमा महिनाको दुई पटक नियमित रुपमा क्लिनिक संचालनमा ल्याईएको हो ।’ नगर प्रमुख भण्डारीले हरेक नागरिक खानपान तथा अन्य विविध कारणबाट आँखाको समस्या लिएर बस्नु परेको तथा उपचार गर्न नसकेको र उपचार हुँदा पनि आँखाका बारेमा जानकारी कम भएको अवस्थामा शिविरसँगै संचालन हुने सचेतना कार्यक्रम र नियमित क्लिनिकबाट थप लाभान्वित हुने बताए ।
पनौती नगरपालिकाले रेयुकाई आँखा अस्पताल बनेपासँग सम्झौता गरी नगर क्षेत्रमा रहेका नीजि तथा सामुदायिक सबै विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि १२ सम्मका ८ हजार भन्दा धेरै विद्यार्थीहरुको आँखा परिक्षण गर्न शुरु गरेको छ । २ हजार भन्दा धेरै विद्यार्थीहरुको आँखा परिक्षण भईसकेको छ । शिविरमा चस्मा लगाउनु पर्ने तथा मोतियाविन्दुको समस्या देखिएका बालबालिकाहरुलाई नगरपालिकाको सहयोगमा अस्पतालले सेवा उपलब्ध गराउनेछ । नियमित क्लिनिकमा आएका विरामीहरुका लागि पनि अस्पतालले सेवा उपलब्ध गराउनेछ । शिविर तथा क्लिनिकमा दृष्टि विशेषज्ञहरुले आँखा परिक्षण गर्नेछन् । वडा अध्यक्ष सविन ताम्राकारले वडा नम्वर ७ मा रहेको स्वास्थ्य चौकीबाट थप सेवा उपलब्ध गराएकोमा नगरपालिकालाई धन्वयाद दिए । उनले सेवाको निरन्तरता तथा हरेक दिन सेवा उपलब्ध गराउने गरी कार्य गर्ने प्रतिवद्धता जनाए ।
पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनक केसीले नगरपालिकाले सबै नागरिकहरुलाई स्वास्थ्य सेवा अन्र्तगत आँखामा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न रोग लाग्नै नदिने, रोग लागि हालेको अवस्थामा उपचार गर्ने र आँखामा हुन सक्ने रोगका बारेमा सचेतना फैलाउने गरी विद्यालय र समुदाय स्तरमा कार्यक्रम प्रारम्भ गरेको बताए । यसले आम नागरिकहरुलाई आँखा जोगाउन वा आँखालाई स्वस्थ राख्न थप मद्दत पुग्ने स्वास्थ्य शाखा प्रमुख जनक केसीले बताए । सोहि अवसरमा रेयुकाई आँखा अस्पताल बनेपाकी मेडिकल डाईरेक्टर दिक्षा मल्लले पनौती क्षेत्रका नागरिकहरुका लागि नियमित क्लिनिक तथा विद्यालय तहको शिविरबाट लाभान्वित हुने बताईन् । डा.मल्लले नागरिकहरुले उक्त सेवाको फाईदा लिदै आँखा जोगाउन र थप जोखिम हुनबाट बच्न अनुरोध गरिन् । लायन्स क्लव अफ पनौतीका पुर्व अध्यक्ष विवेक भट्टराईले सााजिक अभियानमा लायन्स क्लव सधै समन्वयका लागि तयार रहेको बताए ।
कार्यक्रममा रेयुकाई आँखा अस्पताल बनेपाका महासचिव हिरामणी शर्मा, कोषाध्यक्ष दिनेश कायश्थ, सह सचिव धर्मभक्त प्रधान, पनौती नगरपालिकाका स्वास्थ्य शाखाका पुरुषोतम तिमल्सिना, स्थानीय समाजसेवी राजेश श्रेष्ठ, शिव घुल्लु, वडा सदस्यहरु, स्वास्थ्य चौकीका कर्मचारीहरु तथा अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो । रेयुकाई आँखा अस्पतालकै सहयोगमा बनेपा नगरपालिकाले नाला क्षेत्रमा महिनाको दुई पटक क्लिनिक संचालनमा ल्याएको छ ।





