धुलिखेल/परराष्ट्रमन्त्री एवं सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी संस्थापक अध्यक्ष डा. आरजु राणा देउवाले गर्भवती महिलाको नियमित परिक्षण, खानपान, रहनसहन तथा सुरक्षित प्रसुती सेवाका लागि सरकारी तह र समुदाय स्तरबाट सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छिन् ।
महासंघ मार्फत विपत्तिमा परेका काभ्रेपलाञ्चोकका पालिकाहरु मध्ये बेथान्चोक, पनौती, रोशी, तेमाल, नमोबुद्ध र भुम्लु गाउँपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ब्लाङ्गकेट उपलब्ध गराउँदै डा.आरजु राणा देउवाले प्रकोपको पूर्व तयारीमा ध्यान दिन तथा भरपर्दाे सूचना सम्प्रेषणसँगै नागरिकहरुले विश्वासको वातावरण तयार गरी सुरक्षित रहनु पर्ने बताईन् । ‘यो वर्षको विपत्तिका कारण नेपालमा १०६ बिलियन डलर क्षति भएको छ’–डा.देउवाले भनिन–‘भावी पुस्ताले प्रकोपबाट अझै चुनौती सामना गर्नु पर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था आउन नदिन आजबाटै सबै क्षेत्रले प्रकोपको पुर्व तयारी गरिनु पर्छ ।’
बेथान्चोकमा २ सय ३०, पनौतीमा ३ सय १६, रोशीमा १ सय ५३, तेमालमा ७१, नमोबुद्धमा २ सय १७ र भुम्लु गाउँपालिकामा १ सय ३ जना गर्भवती तथा सुत्केरी महिला छन् । उनिहरुका लागि १ हजार ९० थान ब्लाङ्गकेट सुरक्षित मातृत्व सञ्जाल महासंघ मार्फत उपलब्ध गराईएको हो । हिमालय दृश्य रिसोर्टमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री समेत रहेकी डा. देउवाले गर्भवती हुँदा र प्रसुतीको अवस्थामा महिलाहरुले भोग्नु परेका वा ज्यान गुमाउनु परेका कयन घटनाले छोएको मात्रै नभई आफैले भोग्नु परेको कारुणीक अवस्था अन्य महिला दिदी बहिनीहरुले झेल्नु नपरोस भन्ने उदेश्यले निरन्तर अभियान संचालन गरिरहेको बताईन् । नेपालको संविधानमा समेत महिलाहरुको प्रजनन अधिकारका बारेमा उल्लेख गर्न सफलता प्राप्त भएकाले त्यहि अधिकार अनुरुपको कानून र कानूनले गरेको ब्यवस्थालाई कार्यान्वयनमा स्थानीय सरकारले विशेष ध्यान दिनु पर्ने उनको भनाई थियो । महिलाले जन्माउने शिशु उसको ब्यक्तिगत मात्रै नभई राष्ट्र र समाजका लागि योगदान दिने एक नागरिक समेत भएकाले आमा र बच्चा दुबैको सुरक्षा, स्वास्थ्य र अधिकार महत्वपूर्ण हुने डा.देउवाले बताईन् ।
१९९६ मा शुरु भएको उक्त संस्था २००५ मा महासंघ बनेको थियो । निरन्तर सक्रिय रहेको उक्त संस्थाले भुकम्प, कोभिड जस्ता महामारी र विपत्तिमा समेत महिलाहरुका लागि विभिन्न खालको सहयोग उपलब्ध गराएको कोषाध्यक्ष सुनिल श्रेष्ठले बताए । नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले उक्त संस्थालाई ब्लाङ्गकेट उपलब्ध गराएका थिए । कार्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले सुरक्षित मातृत्व सञ्जाल महासंघ मार्फत संकटमा परेका शिशु र महिलाका लागि आवश्यक सहयोग गर्ने गरी कोषको स्थापनामा सहयोग गर्ने बताए । राजनीतिमा महिलाहरुको सक्रियता अझै अपुग रहेको बताउँदै कोषाध्यक्ष श्रेष्ठले कमाईको केहि प्रतिशत सामाजिक कार्यमा खर्चन सके संकटमा परेका नागरिकहरुको उद्धार हुने बताए । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी लक्ष्मी खनालले संचालन गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा, नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, सुरक्षित मातृत्व सञ्जाल महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठ लगायतले विपत्ति र संस्थाको भूमिकाका बारेमा धारणा राखेका थिए । विपत्तिमा परी काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना नागरिकले ज्यान गुमाएका छन् भने विभिन्न संरचनामा क्षति पुगेको छ । केहि अझै बेपत्ता छन् ।





