धुलिखेल/नेपालमा बार्षिक विषादीको आयात बढिरहेको छ । नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने तरकारी तथा खाद्य बालीहरुमा प्रयोग हुने विषादीका कारण ब्यक्तिको स्वास्थ्य र वातावरणमा असर परेको तथ्यहरुले देखाएका छन् ।
किटनाशक, ढसीनाशक, झारनाशक, जैविक विषादी र अन्य गरी काभ्रेपलाञ्चोक जिल्लामा ५३ हजार २ सय ५० केजी विषादी र २६ हजार ३ सय ३० लिटर तरल विषादी खपत भएको छ । सिन्धुपाल्चोकमा २० हजार ८ सय ७५ केजी विषादी र ११ हजार ४ सय ७२ लिटर विषादी खपत भएको छ । पञ्जीकृत विषादीको सूचि तथा विषादी खपत तथ्यांक २०८० अनुसार नेपालमा बार्षिक १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार ९ सय ६८ रुपैयाँको विषादी आयात भएको छ । बार्षिक ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी आयात भएको छ । आर्थिक वर्ष २०७९/२०८० को उक्त तथ्यांक विगतका वर्षहरुमा भन्दा धेरै हो । सन् २०२०/२०२१ मा ७ लाख ८३ हजार १ सय ९३ केजी विषादी आयात भएको थियो । विशेषगरी ७ प्रकारका विषादीहरु नेपालमा धेरै खपत हुने गरेको छ । पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरूले खासै विषादी प्रयोग गर्दैनन तर बजार नजिकका क्षेत्रहरूमा त्यसको प्रयोग व्यापक छ । नेपालमा औसत ३९६ ग्राम (खास विष) प्रति हेक्टर विषादी प्रयोग हुने गरेको छ । बाली विषेश हेर्दा विषादी प्रयोगको अवस्था तरकारीमा भयानक छ । १६०० ग्राम हेक्टरमा तरकारीमा धेरै विषादी प्रयोग गरिएको छ ।
विशेषगरी सर्लाही, काभ्रे, धादिङ्ग, मकवानपुर तथा तराईका केहि जिल्लाहरुमा यसको प्रयोग भईरहेको छ । तरकारी पछि चियामा २१०० ग्राम हेक्टर, कपासमा २५६० ग्राम हेक्टर प्रयोग भएको छ । विषादी व्यवस्थापन सम्वन्धि कानुनी व्यवस्था अनुसार जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ र जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ जारी भए पनि ब्यवस्थित प्रयोग हुन सकेको छैन । विषादीको प्रयोग न्यूनीकरण गर्न विषादी ब्यवसायीहरुको अनुगमन, द्रुत विषादी परिक्षण, प्रयोगशाला संचालन, कृषक पाठशाला संचालन, प्रांगारिक तथा जैविक विषादी प्रयोग सम्बन्धी प्रचार प्रसार आवश्यक रहेको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताए । प्रादेशिक निकाय, संघीय तहबाट समेत नीतिगत निर्णय तथा ब्यवस्था हुन नसक्दा विषादीको प्रयोग बढिरहेको उनले बताए ।





