2026 August 06/ 09:02: 56am

टोटल स्टेशन, डिजिविएस जस्ता यन्त्र उपकरणको ब्यवस्था सहित २०३१÷०३२ सालको नक्साका आधारमा रोशी खोलाको अवस्थिति जमिनमा देखिँदा ब्यक्तिले वर्षाै हडप्दै आएको क्षेत्र परेको अवस्थामा स्थानीय तहले त्यसको सहज ब्यवस्थापन गर्न आवश्यक छ । 

मोतीराम तिमल्सिना
भुमेडाँडा, पनौती

    असोज १०–१२ परेको भिषण वर्षात्का कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा पु¥याएको क्षतिको मुल्यांकन सँगै जग्गाहरुको अवस्था साविकमा ल्याउन र नागरिकहरुको जग्गाको अवस्था पत्ता लगाउन पनौती नगरपािलका र नापी कार्यालय काभ्रेले  पनौती नगरपालिका वडा नम्वर १२ रोशी खोला भुमेडाँडा क्षेत्रमा खोला र जग्गाको कित्तााको पुनःस्थापना शुरु गरेको छ । 
    ‘ब्यक्तिले भोगचलन गरिरहेका जग्गाहरुको अवस्था एकीन गर्न सक्ने अवस्था छैन । ब्यक्ति विशेषले आफ्नो जग्गा उपभोग गर्न समस्या निम्तिएको छ । अर्काेतर्फ विकास निर्माणमा प्रयोग हुने ढुंङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ नदी क्षेत्रबाट निकाल्न नसक्दा निर्माण कार्यमा लागत बढ्ने, काममा ढिलाई हुने र स्थानीय तहको राजश्व आम्दानीमा समेत प्रतिकूल प्रभाव परिरहेको छ’–नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले भने–‘स्थानीय तहबाट जग्गा छुट्याउने प्रयोजनका लागि नापी कार्यालयमा प्राविधिक जनशक्तिको माग भईरहेको छ । अर्काेतर्फ रेखाङ्कनको समय, छुट जग्गा दर्ता खुलेको र कार्यालयको जनशक्तिको कार्य चापको तुलनामा कम रहेकाले माग बमोजिमकोे जनशक्ति र सेवा नापी कार्यालयबाट उपलब्ध गराउन सकिएको छैन ।’ 
    भुम्लु गाउँपालिकामा जग्गा नाप जाँचको कार्य भईरहेको छ । भुम्लु गाउँपालिकाको सहकार्यमा शुरु भएको उक्त कार्यलाई निरन्तरता दिँदै नापी कार्यालय काभ्रेपलाञ्चोकले पनौती नगरपालिकासँगको समन्वयमा रोशी खोलामा नाप जाँच लगायतका कार्य प्रारम्भ गरेको छ । पनौती नगरपालिकाको जनशक्ति सहितको आवश्यक श्रोतमा नापी कार्यालय काभ्रेबाट रोशी क्षेत्रमा रोशी खोलाको ले आउट सहितको कार्य प्रारम्भ गरिएको हो । नापी कार्यालय काभ्रेबाट इन्जिनियर नापी अधिकृत गृष्म प्रधान, ईन्जिनियर नापी अधिकृत मदन खत्री, अमिन संगीता बस्नेत र अमिन राकेश मानन्धर खटिएका छन् भने भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट प्रशिक्षक विज्ञान बञ्जारा सहितको टोली सहभागि छ । त्यस्तै पनौती नगरपालिकाबाट अधिकृत छैटौ तहका ईश्वर कार्की सहितको टोलीले डिजिपिएस, ड्रोन, टोटल स्टेशन आदीको प्रयोग गरी अध्ययन गरेको छ । उक्त टोलीले डिजिपिएसबाट कन्ट्रेल पईन्ट स्थापना गरी नापी कार्यालयमा रहेको उक्त क्षेत्रको कित्तानापी नक्साबाट भेक्टर नोड प्राप्त हुने नियन्त्रण विन्दुहरुलाई जमिनमा उतार्दै साविकको खोला, कित्ता र खानी क्षेत्र जमिन देखाउनेछ । १२÷१३ जना प्राविधिकहरुले सोहि क्षेत्रको मात्रै कार्य गर्दा कम्तिमा तीन महिना लाग्ने प्रारम्भिक निश्कर्ष छ । नगरपालिकाले १० जना प्राविधिक जनशक्ति उपलब्ध गराउन नापी विभागलाई समेत बोधार्थ सहितको अनुरोध गरेको थियो । नापी विभागबाट कर्मचारी ब्यवस्थापनका लागि नापी कार्यालय काभ्रेलाई अनुरोध गरे पछि उक्त कार्य प्रारम्भ भएको हो । 
    पनौती नगरपालिकामा विपत्तिका कारण ५ सय ८६ घर पूर्ण क्षति भएका छन् भने ९ सय ४४ वटा घर आंशिक क्षति भएका छन् । डोजर, टिपर लगायतका धेरै सवारी साधनहरु पुरिएका छन् । बगाएका छन् । ११ हजार ६ सय ३७ हजार रोपनी जग्गामा भएको बालीनाली सहितका जग्गाहरुमा बाढी पसेर क्षति पुगेको छ । विकास निर्माणका लागि प्रमुख ढुङ्गा, गिट्टी जस्ता नदीजन्य र खानीजन्य पदार्थको उत्पादन तथा निर्यात रोकिँदा नगरपालिकाको विकास निर्माणमा समेत प्रत्यक्ष प्रभाव परेको छ । साथै उल्लेखनीय मात्रामा राजश्व उठी पनौती नगरपालिकाको विकास निर्माणमा खर्च हुँदै आएकोमा बाढीका कारण खोलाको बाहक क्षेत्र, साविक वाटो, स्थानीय जनताले भोग गरिरहेको कित्ताको अवस्थिती र खानीको कित्ता सबै लोप भएका कारण आएको समस्या उक्त नापी टोलीको प्रतिवेदन पछि समाधान हुने अपेक्षा गरिएको पनौती नगरपालिकाले जानकारी दिएको छ । 
    पनौती नगरपालिकाले उक्त क्षेत्रमा खटिएका १० जनाको जनशक्तिलाई खाने बस्ने लगायतका आवश्यक ब्यस्थापनमा सहयोग गरिरहेको छ । आवश्यक यन्त्र भाडामा लिएर शुरु गरिएको उक्त क्षेत्रको नाप जाँचमा स्थानीयहरुको सहयोग भईरहेको छ । भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले आवश्यक पर्ने मेथोडोलोजी चुज गर्न र त्यसका लागि आवश्यक पर्ने नियन्त्रण विन्दु स्थापनामा सहयोग गरेको छ भने आवश्यक उपकरण सहित काममा खटिएका कर्मचारीहरुलाई प्रशिक्षण सहित विज्ञ जनशक्ति उपलब्ध गराएको छ । नापी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक जनशक्ति खटाउँदै कार्यालयको काम समेत हेर्ने जिम्मेवारी प्रदान गरेको छ । नगरपालिकाबाट नियुक्ति भएका १० जना प्राविधिक कर्मचारीहरुलाई कित्तानापी नक्सा अनुसार खोला, ब्यक्तिका कित्ताहरु र खानीका कित्ताहरु लेआउट गर्ने कार्य भईरहेको छ । नापी कार्यालयका कर्मचारीहरु कार्यालय समय बाहिर मात्रै उक्त क्षेत्रमा खटिएका छन् भने नगरपालिकाबाट खटिएका १० जना प्राविधिकहरुले गरिरहेको कामको सहजीकरण गरिरहेका छन् । 
    नापी टोलीले उक्त क्षेत्रमा कित्ताको पुनःस्थापना शुरु गरे लगत्तै स्थानीयहरुले सहयोगको प्रतिबद्धता ब्यक्त गरेको भए पनि विगतमा भोगचलन गरिरहेको जग्गा यताउता पर्न सक्ने सम्भावना देखिएको छ । जग्गाको मुल्य अनुसार साविकको नक्साको परिशुद्धता, जमिनको ले–आउटको विश्वसनीयता तथा स्थानीय जग्गा धनीहरुको स्विकार्यताका सन्दर्भमा नगरपालिका र वडा कार्यालयले आवश्यक समन्वय र सहजीकरण गरिरहेका छन् । टोटल स्टेशन, डिजिविएस जस्ता यन्त्र उपकरणको ब्यवस्था तथा २०३१÷०३२ सालको नक्साका आधारमा रोशि खोलाको अवस्थिति जमिनमा देखाउँदा त्यसको विश्वसनीयता र स्वीकार्यता प्राप्त गर्न चुनौती रहेको निश्कर्ष निकालिएको छ । तर त्यसको विकल्प नभएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । उक्त कार्यमा डिजिटल नापी बनेपा कार्यालयले समेत आवश्यक सहयोग र समन्वय गर्ने गरी छलफल भएको छ । नापी कार्यालय काभ्रेपलाञ्चोकले निर्धारित समय अगावै उक्त क्षेत्रको खोला र कित्ताको पुनस्थापना गर्नेछ । 
    बेथान्चोक, रोशी गाउँपालिकाले पनि खोला क्षेत्र र कित्ताको पुनःस्थापना गरेर मात्रै पुनर्निर्माणको कार्य प्रारम्भ गर्नुपर्छ ।