धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीको दोश्रो अधिबेशन पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज, पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष दयाराम महतको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको छ । अधिबेशनको बन्द सत्रले सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ ।
कमिटीको अध्यक्षमा विष्णु धिताल, उपाध्यक्ष पुष्पराज राउत, सचिव कृष्णहरी कोईराला र उपसचिवद्धयमा गणेश आचार्य र सरस्वती श्रेष्ठ रहेका छन् । १२ वटै वडाबाट सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी नगर कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् । अधिबेशनमा सम्बोधन गर्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एमालेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनीतिमा खेलेको भूमिका, नागरिकमैत्री शासन र सेवाका लागि बनाएका ऐन, नियम र कानूनले सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको बताए । अविरल वर्षात पछिको क्षतिमा काभ्रेपलाञ्चोक जिल्लाका सबै नागरिकहरु प्रभावित भए पनि धुलिखेल र बनेपा नगरपालिकालाई सरकारले संकटग्रस्त पालिका नबनाएको भन्दै बास्कोटाले तत्काल उक्त पालिकाहरुलाई संकटग्रस्त घोषणा गरी नागरिकहरुलाई आवश्यक राहत र अनुदान उपलब्ध गराउन अनुरोध गरे । नयाँ नेतृत्वका कार्यभार, नेतृत्वले खेल्नु पर्ने भूमिका तथा संगठनहरुको संचालन सक्रिय बनाउन निर्देशन दिदै बास्कोटाले जनता र कार्यकर्ताहरुको हितका लागि हरेक कार्यहरु प्राथमिकतामा राख्न अनुरोध गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य एवं एमाले काभ्रे जिल्ला कमिटीका पूर्व अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य तथा क्षेत्र इन्चार्ज रिता ढकाल, प्रदेश कमिटी सदस्य विमला शर्मा लगायतले एमालेले खेल्नु पर्ने भूमिका र दायित्वका बारेमा धारणा राखेका थिए । सचिव विष्णु धितालले संचालन गरेको कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, जनसंगठनका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरु सहभागि थिए । धुलिखेलमा एमालेका १ हजार ६ सय ५८ जना सदस्यले संगठित सदस्य नवीकरण गरेका छन् । जसबाट १ सय ९३ जना प्रतिनिधिले अधिबेशनको बन्द सत्रमा भाग लिएका थिए ।





