रामहरी श्रेष्ठ/बेथान्चोक
बेथानचोक गाउँपालिका भित्र रहेका नेवाहरुको परम्परागत धर्म, कला, सँस्कृति, मौलिक बाजा लगायत आफ्नो पहिचान संरक्षण गर्ने उद्देश्य लिएर स्थापना भएको संस्था भिमःदेवःनेवाः समाजले बिगत ५ बर्ष देखि योमारी पूर्णिमा अर्थात धान्य पूर्णिमा, उधौली पर्वका दिन भिमसेन महाराजलाई इस्ट देवताका रुपमा पुज्दै भिमसेन जात्रा देखाउदै आएको छ ।
गत बर्षहरु झै यसबर्ष पनि मंसिर ३० गतेका दिन बेथानचोक गाउँपालिका वडा नं २ र ४ को सिमाना पार्थली भञ्ज्याङ्मा रहेको भिमसेन मन्दिरबाट मुल पुजा आरधाना गरी सुरु भएको भिमसेन खट जात्रा बेथानचोक गाउँपालिका हुँदै मुक्तेस्वर महादेव मन्दिर परिक्रमा गरि पुनः मन्दिरमै आइ प्रसाद वितरण गरि समापन गरिएको थियो । भिम देवःनेवाः समाजका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठका अनुसार उक्त भिमसेन जात्रामा बेथान्चोक गाउँपालिका आसपासका छिमेकी नगरपालिकाहरुबाट समेत सहभागिता जनाएका थिए । उक्त जात्रालाई नेवार समुदायको मात्रै नभई पालिकाकै संस्कृति जोगाउनका रुपमा हेरिएको अध्यक्ष श्रेष्ठले बताए ।
जात्रामा नेवारी मौलिक बाजा धिमे, बाँसुरी, लाखे नाच, खैजेडी भजन सहित विभिन्न झाँकी प्रर्दशन गरिएको थियो । जात्रामा बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उापध्यक्ष तारा राना तिमल्सिना, वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नम्बर ३ का वडा अध्यक्ष कुबेर ढकाल, वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामा, पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठ, नेवाः देय दबु काभ्रेका कोषाध्यक्ष चित्र बहादुर श्रेष्ठ, नेवाः देय दबु पनौती नगरका अध्यक्ष पुरुषोतम कर्मचार्य, झिगु नेवा बासुरी खल थानकोटाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उक्त भिमसेन मन्दिर निर्माणका लागी जग्गादाताहरु मुरारी प्रसाद शर्मा, गिता शर्मा, (स्व. ठुलिमैया श्रेष्ठलाई मरणोपरान्त) लगायतलाई सम्मान गरिएको थियो । जात्रामा भिमःदेवःनेवा समाजका धिमे तथा बासुरी, पनौती जात्रा पर्व, पनौती लाखे नाच, लायकु धिमे खल पनौती, फुलचोकी धिमे तथा बासुरी खलः, थानकोट लगायत विभिन्न स्थानबाट झाकी सहित प्रस्तुति लिई जात्रामा सहभागि रहेको थियो ।





