धुलिखेल/सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको आफ्नै भू–उपग्रह (स्याटलाइट) जरुरी रहेको बताएका छन् । काठमाडौं विश्वविद्यालयमा आयोजित आइटी मिट २०२४ को उद्घाटन गर्दै मन्त्री गुरुङले देशको सुरक्षा र प्रतिष्ठाको लागि पनि आफ्नै स्याटलाइट आवश्यक रहेको बताएका हुन् । देशको सुरक्षासँग जोडिएको विषयलाई नाफा नोक्सानसँग जोडेर हेर्न नहुने उनको तर्क छ । शनिबार आईटी मिट सकिएको छ ।
दुनियाँका मुलुक आइटीको क्षेत्रमा फाड्को मारिसक्दा पनि नेपालले आफ्नो आकाश सुरक्षित गर्न नसकेको उनको भनाई थियो । आफ्नो प्रतिष्ठा, सुरक्षाको लागि पनि नेपालले आफ्नो स्याटलाइन बनाउन पर्ने उनको जिकिर छ । यस्तै मन्त्री गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि ई–गभर्नेस सुरु गर्नुपर्ने बताएका छन् । स्थानीय सरकारबाट नै आइटीको प्रयोग गरेर ई–गर्भनेस सुरु गर्नुपर्नेमा उनको जोड छ । यसले काम छिटो र पारदर्शित हुने भन्दै मन्त्री गुरुङले भ्रष्टार नियन्त्रणमा पनि सहयोग पुग्ने बताए । यसले राजस्व वृद्धि हुने उनको भनाई छ ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सुचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताए । यस अघिका सरकारले आइटी क्षेत्रलाई महत्व नदिएको आरोप आरोप लगाउँदै उनले यो सरकारले केहि न केहि परिवर्तन गर्ने दाबी गरेका छन् । बाधक रहेका नीति परिवर्तन गरेर समयसापेक्ष बनाउनमा सरकारको जोड रहेको उनले बताएका छन् । कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा उपकुलपति प्रा.डा. भोला थापाले आइटीको क्षेत्रमा सरकारसँग सहकार्य गर्ने बताए ।
कार्यक्रममा प्रा.डा.मनिष पोखरेल, इन्जिनियर पंकजराज दवाडी, काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबका निर्जल भुर्तेल लगायतले आइटी क्षेत्रको सम्भावना, अवसर र चुनौतीका बारेमा आफ्नो धारणा राखेका थिए ।





