महाभारत/महाभारत गाउँपालिकामा वर्षेनी २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने ५० भन्दा धेरै जोडी छन् । १६ वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या ३५ भन्दा धेरै छ ।
कक्षा ७ देखि नै बालबालिकाहरुका विवाह गरेर जाने, अध्ययन छाड्ने, कम उमेरमा विवाह गर्ने, विवाह र जन्म दर्ता नहुने समस्या त छँदै छ कम उमेरमा विवाह गर्दा देखिने स्वास्थ्य अवस्थाका बारेमा सचेत गराउँदा पनि बालविवाह कम हुन सकेको छैन । मोबाईलको प्रयोगसँगै बालबालिकाहरु कुलतमा फसिरहेका छन् । महाभारत गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालय र ९ वटा आधारभुत विद्यालय छन् । १७ वटै विद्यालयबाट बर्षेनी अध्ययन छाडेर बालबालिकाहरु मोबाईलबाट भागी विवाह गर्ने गरेका छन् । विद्यालय, अभिभावक, सुमदाय र गाउँपालिका, वडा तथा विभिन्न निकायहरुको पहल जारी छ तर पनि बालविवाह न्यूनीकरण हुन सकेको छैन । ‘हरेक वर्ष बालविवाह तथा कानुन विपरित २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने जोडीहरुको संख्या बढिरहेको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने–‘बालविवाह न्यूनीकरणका लागि यो वर्ष देखि बालबालिकाहरु नै परिचालन गर्न शुरु गरिएको छ । पहिलो चरणमा बालबालिकाहरुलाई बाल विवाह के हो ? बालविवाहका कारण हुन सक्ने जोखीम तथा त्यसका असरका बारेमा विद्यालय स्तरीय बक्तृत्वकला गरिएको छ । यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जोडिएको छ ।’ अध्यक्ष जिम्बाले बालविवाह रोक्न विद्यालय स्तरीय सचेतना कार्यक्रमका साथै अभिभावक शिक्षाका लागि प्रयत्न गरिएको बताए ।
गोकुले माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम तिमल्सिनाले महाभारत र खानीखोला तथा सिन्धुली तथा आसपासका जिल्लामा बालविवाह डरलाग्दो अवस्थामा पुगेको बताए । विद्यालयले अनेकन पहल गरेको भए पनि बालविवाह न्यूनीकरण हुन नसकेको उनले बताए । भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णदास श्रेष्ठले बालविवाह न्यूनीकरणको प्रयत्न भए पनि कठिन भएको बताए । भैरव माध्यमिक विद्यालयबाट पनि बर्षेनी २/३ जनाले बालविवाह गर्ने गरेका छन् । विद्यालयले उनिहरुलाई सम्झाउँदै, फकाउँदै पुनः विद्यालय ल्याउने र नियमित अध्ययनका लागि पहल गरेको छ । तर पनि उनिहरु मोवाईलबाट सम्वन्ध बनाउने अनि भाग्ने गरेको प्रधानाध्यापक श्रेष्ठले बताए । मंसिर १३ गते मात्रै कक्षा ७ मा अध्ययन गर्ने बालक र बालिका विवाह गरेर भागेका छन् । उनिहरु अभिभावक र विद्यालयको समेत सम्पर्कमा छैनन् ।
सचेतनाको कमी, मोबाईलको गलत प्रयोग, संस्कार तथा रीतिरिवाज नाममा कुरिती र कुसंस्कारको मान्यता, अशिक्षा, बेरोजगार तथा बैकल्पिक उपायको खोजी नभएका कारण विकट क्षेत्रमा बर्षेनी बालविवाह र २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या बढेको स्थानीय शिक्षकहरुले बताएका छन् ।





