बनेपा/बनेपामा रहेको शिक्षा सदन माध्यमिक विद्यालयले स्थापनाको ६३ औ बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ मनाएको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमसुन्दर श्रेष्ठको अध्यक्षता रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रमको अवसर पारेर अभिभावक भेला तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सभामा बोल्दै प्रमुख अतिथी शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले शिक्षामा गुणस्तर ल्याउने गरी योजनावद्ध रुपले कार्य गरिरहेको बताए । कार्यक्रममा उपप्रमुख विमला सापकोटा दाहाल, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, निवर्तमान अध्यक्ष दानबहादुर मानन्धर, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले विद्यालयलाई शुभकामना दिएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमसुन्दर श्रेष्ठले अभिभावक, स्थानीय सरकार, शिक्षक कर्मचारी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहयोग र समन्वयमा विद्यालयको गुणस्तरलाई अझै अघि बढाउने बताए ।
कार्यक्रममा विद्यालयका गतिविधिका बारेमा जानकारी गराउँदै प्रधानाध्यापक लक्ष्मण दाहालले आगामी योजनाका बारेमा समेत अभिभावकहरुलाई समेत सक्रिय गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने बताएका थिए । विद्यालयले शिशु कक्षा देखि कक्षा १२ सम्म संचालन गरेको छ । ६ सय भन्दा धेरै विद्यार्थीहरु रहेको उक्त विद्यालयमा फर्निचर, प्रविधियुक्त शिक्षाका लागि आवश्यक पूर्वाधार र अन्य संरचना आवश्यक रहेकाले थप सहयोगका लागि स्थानीय सरकारलाई अनुरोध गरिएको बताए । बनेपा क्षेत्रमा दोश्रो धेरै विद्यार्थी भएको सामुदायिक विद्यालयका रुपमा समेत चिनिएको शिक्षा सदन माध्यमिक विद्यालयले संस्कारयुक्त, प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको बताएका थिए । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्थाहरु, ब्यक्तिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।