2026 August 05/ 03:34: 09pm

मोतीराम तिमल्सिना
रोशी, काभ्रे

    रोशी गाउँपालिकामा असोज १०–१२ सम्म परेको अविरल बर्षातका कारण विपी राजमार्गका अधिकांश स्थानमा क्षति पुगेसँगै ११ सय घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । १२ जनाले ज्यान गुमाएका छन् । 
    स्थानीय सरकारले नागरिकहरुको खोज तथा उद्दारसँगै घाईतेहरुको उपचार तथा मृत्यु भएका ब्यक्तिका आफन्तलाई ५० हजार र संघ सरकारको तर्फबाट २ लाख रुपैया राहत उपलब्ध गराएको छ । ‘विपत्ति पछि तत्काल नागरिकहरुको खोज, उद्दार, उपचारसँगै मृत्यु भएका ब्यक्तिका सदस्यहरुलाई राहत उपलब्ध गरायौं’–गाउँपालिका अध्यक्ष दिनेश लामाले भने–‘अहिले हामी पुर्नस्थापना र पुर्ननिर्माणमा जुटेका छौं ।’ १ हजार २ सय घर परिवारलाई तिहार अघि नै १५ हजारका दरले राहत उपलब्ध गराउने गरी कार्य प्रारम्भ भएको छ । १ सय घर धुरीले नगद १५ हजार राहत प्राप्त गरिसकेको अध्यक्ष लामाले बताए । संघ सरकारले पनि पूर्ण क्षति भएका घर परिवारलाई ५ जना सदस्य भएमा १५ हजार र त्यस भन्दा धेरै भएमा २० हजार राहत उपलब्ध गराउन परिपत्र गर्दै निकासा समेत गरिसकेको छ । 
    अस्थायी सेल्टर निर्माणका लागि विस्थापित परिवारका लागि ५० हजार राहत उपलब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्य भईरहेको अध्यक्ष लामाले बताए । ‘अत्याधिक वर्षा, जलवायु परिवर्तन, भुकम्पले थिलथिलो पारेको जमिन, जथाभावी खनिएका नाली विनाका सडक, खोलाको अतिक्रमण तथा दोहन, मापदण्ड विपरित संचालन भएका खानी तथा क्रसर, प्लटिङ्ग लगायतका विभिन्न कारण विपत्तिले जनधनको क्षति हुन पुग्यो’–अध्यक्ष लामाले भने–‘रोशी गाउँपालिका क्षेत्र भित्र रहेको विपी राजमार्गको ८० प्रतिशत क्षेत्र खोलाले कटान गरेको छ ।’ सडक विभाग र स्थानीय सरकारको समेत समन्वयमा तत्काल अस्थायी ट्रयाक खोलेको भए पनि बर्षातको समयमा उक्त सडक सूचारु हुने सम्भावना नरहेको अध्यक्ष लामाले बताए । 
    ‘उद्घाटन नै नगरिएका तथा संचालनमा नआउँदै करोडौ रुपैया खर्च गरेर बनाएका महत्वपूर्ण पूर्वाधारहरु डम्फु पार्क, १० शैयाको अस्पताल र औधोगिक ग्रामको प्रशासनिक भवन तथा त्यस भित्र निर्माण गरिएका केहि संरचनाहरु पूर्ण रुपमा ध्वस्त गराएको छ’–अध्यक्ष लामाले भने–‘ब्यक्तिहरुका नीजि आवास तथा विद्यालय, खानेपानी, कृषि, पशुपालन, स्वास्थ्य संस्था, वडा कार्यालय र अन्य संरचनामा समेत बाढी र पहिरोबाट ठुलो क्षति भएको छ ।’ २९ वटा विद्यालयमा क्षति पुगे पनि मर्मत गरेर संचालनमा आउने २६ वटा छन् भने ३ वटा विद्यालय पूर्ण रुपमा क्षति भएको छ । तत्कालै अस्थायी सिकाई केन्द्र निर्माण गरी तिहार पछि विद्यालय संचालनमा ल्याउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव भन्तनाले जानकारी दिए । ‘अस्पताल तथा स्वास्थ्य संस्था, विद्यालयमा पुगेको क्षतिबाट नागरिकहरुले प्राप्त गर्न नसक्ने सेवालाई तत्काल सूचारु गर्ने गरी कार्य प्रारम्भ गरिएको छ’–प्रमुख प्रशासकीय अधिकृत शिव भन्तनाले भने–‘कर्मचारी, प्रहरी प्रशासन, विभिन्न संघ संस्था तथा स्थानीय जनप्रतिनिधिहरु २४ सै घण्टा सक्रिय भई नागरिकहरुलाई परेको विपत्तिमा मल्हम लगाउने कार्य भईरहेको छ ।’ 
    विपत्ति पछिको क्षतिको पूर्ण विवरणका लागि इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि लगायत कर्मचारीहरु घर घर मुचुल्का गर्न पुगेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज प्रहरी निरिक्षक कृष्ण गिरीले बताए । ‘जिल्लाबाट प्राप्त निवेदनको ढाँचा अनुसार पीडितहरुको घर घर पुगेर मुचुल्का गर्ने कार्य शुरु भएको छ’– प्रहरी निरिक्षक कृष्ण गिरीले भने–‘महिला, सुत्केरी, गर्भवति, जेष्ठ नागरिक, दीर्घ रोगी, अपाङ्गता भएका ब्यक्तिहरु, विरामीहरुलाई संकटमा सारथी बन्ने गरी आवश्यक राहत तथा पुर्नस्थापनाका लागि समेत तथ्यांक संकलन गरिएको छ ।’ विपदमा घर परिवार र कागजात समेत गुमाएका नागरिकहरुका लागि तत्कालै स्थानीय सरकारको सिफारिस र प्रहरीको मुचुल्काका आधारमा प्रतिलिपी लिन सहज गराउने गरी कार्य प्रारम्भ गरिएको गिरीले बताए । ‘प्रहरी आफै विपत्तिमा प¥यो
    ‘केहि दिन भित्रै मुचुल्का गर्ने कार्य सम्पन्न हुनेछ’–भन्तनाले भने–‘मुचुल्कामा ब्यक्तिका घर परिवार, खेतिपाती, पशुपंक्षी तथा अन्य विवरण समेत प्राप्त हुने गरी सुचनाहरु संकलन हुनेछन् । उक्त सूचनालाई वडा कार्यालयमा सर्वदलिय समिति मार्फत विपद ब्यवस्थापन समितिको बैठक मार्फत निर्णय गरी पठाईएका फाईलहरु मात्रै गाउँपालिका मार्फत जिल्लामा पठाईनेछ । वडाबाट आएका फाईलहरुलाई पनि गाउँपालिकाको तर्फबाट क्रस चेक गरेर मात्रै अन्तिम रुप दिईनेछ । हामी पीडितहरुको नाम नछुटाउने र गै्रह् पीडितहरुलाई समावेश नगर्ने कुरामा सचेत छौं ।’ 
    रोशी गाउँपालिकामा अधिकांश वडाहरुमा क्षति पुगेको छ । तत्कालका लागि खानेपानी मुख्य समस्याका रुपमा देखिएको छ । नागरिकहरुलाई मनोपरामर्श सेवा आवश्यक छ । ‘गाउँपालिकामा संचालित सामी र सिएमसी कार्यक्रम मार्फत मनोपरामर्श सेवा उपलब्ध गराउन शुरु गरएिको छ’–गाउँपालिका अध्यक्ष दिनेश लामाले भने–‘नागरिकहरु आफ्ना सम्पति र सन्तान क्षति भए पछि मानसिक रुपमा विक्षिप्त हुन पुगेका छन् ।’ खानेपानीका सबै मुहान क्षतविक्षत छन् । केहि बस्तिहरु विस्थापित हुन पुगेका छन् । सडक सञ्जाल अझै जोडिन सकेको छैन । रोशी गाउँपालिकामा रहेको महाभारत जोड्ने पक्कि पुल बगाएको छ । ५ वटा झोलुङ्गे पुल बगाएका छन् । विद्यूत्त सेवा अवरुद्ध छ । अझै केहि वडामा विजुली बाल्न सकिएको छैन । पैदल यात्रा गर्न कठिन भएका स्थानमा सडक खुलाउने प्रयत्न जारी छ । विस्थापित नागरिकहरुलाई पुर्नस्थापनामा समस्या छ । विशेषगरी रजवास, नार्के, कालढुंगा, फलामेसाँघु लगायतका स्थानका नागरिकहरुलाई पुर्नवासमा समस्या रहेको अध्यक्ष लामाले बताए । गाउँपालिकामा केहि संघ संस्था र दातृ निकायहरुले राहत र पुर्नस्थापनाका लागि सहयोग गरिरहेको अध्यक्ष लामाले बताए । विश्व खाद्य कार्यक्रम मार्फत रोशीका १ हजार २ सय घर परिवारलाई नगद १५ हजार रुपैया उपलब्ध गराउने गरी सम्झौता गरिएको छ । 
    गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवाले नागरिकहरुको विपत्तिमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताए ।