
भुकम्प र कोरोना पछि बाढी पहिरोमा परी जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।
लक्ष्मण तिमल्सिना
धुलिखेल
असोज १० गते देखि परेको अविरल वर्षातका कारण जिल्लामा ७५ जनाले ज्यान गुमाएका छन् भने अझै केहि सम्पर्क बाहिर छन् । अरबौको पूर्वाधारमा क्षति पुगेको छ भने नागरिकहरुको बसोबास गर्ने घर, खेतियोग्य जमिन, आम्दानीको मुख्य श्रोत पशुपालनमा करोडौको क्षति पुगेको छ । भित्र्याउन ठिक्क भएको मकै र धानबाली नष्ट भएको छ भने उब्जनी योग्य जमिन बगरमा परिणत भएको छ ।
प्रहरीले भने बुधबार साँझसम्म ६७ जनाको निधन भएको र ८ जना बेपत्ता भएको जनाएको छ । ७१ जना घाईतेको उपचार भईरहेको बताएको छ । ७ सय ४५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ भने ३ हजार २ स ९९ जनालाई अन्य माध्यमबाट उद्दार गरिएको बताईएको छ । करिब एक हजार सुरक्षाकर्मीहरु खोज तथा उद्दारमा खटिएका छन् ।
पनौती वडा नम्वर १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा क्षति भएको छ । वडा नम्वर १२ मा खानी र क्रसरका कारण धेरै बस्तिहरु जोखिममा परेका छन् । खानीबाट बगाएको लेदोले बस्ति र खेतियोग्य जमिन सबै पुरिएका छन् । खानीमा रहेका मेशिनहरु, टिपरहरु पनि बगाएका छन् । पुल, सडक, स्वास्थ्य भवन, विद्यालय तथा ब्यक्तिका निजी सम्पती सबै बगााएको स्थानीय तहले बताएका छन् । पनौती वडा नम्वर १२ तहसनहस भएको छ । पनौती वडा नम्वर ११ थुम्की डाँडो बगाएको छ । वडा नम्वर १० मा बेथान्चोकबाट बगेको सलान्दुले धेरै क्षति भएको छ । पनौतीमा १८ जनाले ज्यान गुमाएका छन् ।
बेथान्चोक गाउँपालिकामा बाढी र पहिरोबाट ठुलो क्षति भएको छ । भौतिक क्षतिको एकिन गर्न कठिन रहेको अध्यक्ष भगवान अधिकारीले बताए । प्रहरी चौकी समेत असुरक्षित भए पछि प्रहरीहरुलाई हतियार जोगाउन हम्मे हम्मे परेको थियो । उद्दारमा खटिएका प्रहरी नै पहिरोमा परेका छन् । मुख्य सडक र सहायक सडककहरु पहिरोका कारण अवरुद्ध छन् । सडक सूचारुका लागि कार्य भईरहेको छ । हिजोसम्म १२ जनाले ज्यान गुमाएका छन् ।
बनेपा नगरपालिकाकमा तीन जनाको निधन भएको छ । धुलिखेल नगरपालिकाकामा २ जनाको निधन भएको छ । भौतिक सरचना र ब्यक्तिगत सम्पत्तिमा क्षति पु¥याएको छ । सडक र संचारको सम्पर्क भन्दा बाहिर छन् । मण्डनदेउपुर नगरपालिकामा ७ जनाले ज्यान गुमाएका छन् । पाँचखाल र महाभारतमा मानवीय क्षति भएको छैन । खानीखोलामाा एक जनालाई खोलाले बगाएको छ । चौरीदेउराली गाउँपालिकामा १ जनाको निधन भएको छ । भुम्लुमा ३ जनाको ज्याान गएको छ । तेमाल गाउँपालिकामा एकै घरका ८ जना सहित ९ जनाले ज्यान गुमाएका छन् । अझै केहि बेपत्ता छन् । तेमाल गाउँपालिकामा रहेको बृह्त खानेपानी बगाएको छ । विद्युत अवरुद्ध छ । नमोबुद्ध गाउँपालिकाको कानपुर र श्यामपाटीमा पुरिएर पाँच जना मरेका छन् । नमोबुद्धमा संचालित खानेपानी आयोजनाहरु सबैमा क्षति पुगेको छ । रोशी र नमोबुद्ध हुँदै महाभारत जाने पक्की पुल बगाएको छ ।
विपी राजमार्ग क्षतविक्षत भएको छ । रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान गरी नार्के बजार बगाएको छ । नार्के बजार आसपासको क्षेत्र सबै बगाएको छ । रोशी गाउँपालिकामा ७ जनाको निधन भएको छ । १५ शैयाको अस्पताल र फलामेसाँघु बजार, पोटादोभान खेलग्राम, थसिङबेशी पक्किपुल, नार्के बजार पुरै बस्ती, डम्फू पार्क, औद्योगिक ग्राम लगायत पुर्ण रुपमा क्षति भएको छ । सयौ ब्यक्तिका घरहरु ढलेका छन् ।
अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण सरकारी भवनहरु संकटमा परेका छन् । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, संजीवनी स्कुल, माउन्ट प्रिन्सेस होटल, कृषि विकास कार्यालय, कालीजंग गण धुलिखेल, धुलिखेल खेल मैदान, धुलिखेल क्याम्पस लगायतका संरचनाहरुमा क्षति पुगेको छ । बाढी पहिरोमा परी सयौ पशुपंक्षीहरु पुरिएका छन् । पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख पशु विकास अधिकृत डा.निशान्त शर्मा गेलालका अनुसार तत्काल घाईते पशुपंक्षीको उद्धार, उपचार र मृत्यु भएका पशुहरु गाड्नलाई पशु सेवा प्राविधिकहरु परिचालन गरिएको छ भने सम्भव भएका स्थानमा पशु भेटेरीनरी एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरिएको डा. गेलालले जानकारी दिए । तत्काल किसानलाई राहतका लागि सरकारसँग अनुरोध गरिएको उनले बताए ।
पनौती १२, २ र ३, बेथान्चोक ४ र ५, रोशी गाउँपालिका विभिन्न वडाहरु, विपी राजमार्ग असपासका क्षेत्र, नमोबुद्धका केहि स्थानमा राखिएका क्रसर र खानीका कारण मानवीय र भौतिक क्षति धेरै भएको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी र क्रसरले अन्धाधुन्ध प्रयोग गरेका जमिनको संरचना खल्बलिन गई आएको पहिरो र लेदो बगाउँदा बस्ति र खेतियोग्य जमिन डुबानमा परी भौतिक संरचना नस्ट भएका छन् । त्यस्तै गाउँमा अन्धाधुन्ध खनिएका सडक र त्यहाँ प्रयोग गरिएका डोजरहरुले जमिनलाई हल्लाईरहेको अवस्थामा परेको अविरल बर्षातले गाउँ नै बगाएको अध्ययन गरिएको छ । क्षति धेरै हुनुको मुख्य कारण नेता र पहुँचवालाहरुको अबैद्य क्रसर र खानी तथा डोजरे विकास मुख्य भएको स्थानीयहरुले बताए ।