बनेपा/पतंजलि योग केन्द्र काभ्रे अन्तर्गतका विभिन्न केन्द्रहरुमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बनेपा न.पा. वडा नं. ३ नालामा गत असोज १ गते देखि ३ गते सम्म ३ दिने वृहत योग शिविरको आयोजना गरिएको थियो । शिविरको उद्घाटन बनेपा न.पा.३ का वडाध्यक्ष रमेश दाहालले गरेका थिए । शिविरमा पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले प्रशिक्षण दिएका थिए । शिबिरमा योगका विद्यार्थीहरु वृद्धवृद्धा, किसान लगायत सयौँ व्यक्तिहरुले योग अभ्यास गरेका थिए । कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले लगायत जिल्लाका पदाधिकारीहरु नगरका संयोजकहरु र नाला भेगका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी पतंजलि योग साधना काभ्रे अन्तर्गत चौकोट योग साधना केन्द्रको दोस्रो वार्षिक उत्सव पनौती नगरपालिकाका उप–प्रमुख गीता वञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उप–प्रमुख वञ्जाराले चौकोट योग साधना केन्द्रको लागि नगरपालिकाबाट बजेट व्यवस्था गर्ने र योगहलको लागि तत्कालै पुनर्निर्माण गर्न पहल गरिदिने बताए । कार्यक्रममा विशिष्ट अतिथी पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले योग जागरणको लागी स्थानिय तहसँग सहकार्य गर्नु आवश्यक रहेको र यसले घरघरसम्म पनि योगको विस्तार हुने बताए । उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका पूर्व उप–प्रमुख विमला शर्मा, धुलिखेल नगरपालिका ५ नं. वडाका वडाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्ष अनु श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य चौकोट योग साधना केन्द्रका सह–संयोजक ललिता के.सीले वार्षिक प्रतिवेदन सचिव गौरीनाथ प्रधानले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सभापतित्वको चौकोट योग साधना केन्द्रका संयोजक सुर्यकमल श्रेष्ठले गरेका थिए । कार्यक्रममा चौकोट योग साधना केन्द्रको व्यवस्थापनमा निरन्तर सहयोग गर्ने गौरीनाथ प्रधान र निरन्तर योग साधना गर्ने ८७ वर्ष उमेरका सुन्तली थापा राउतलाई सम्मान गरिएकको थियो । उक्त कार्यक्रममा पतंजलि योग समिती काभ्रेका सल्लाहकारहरु, पदाधिकारीहरु, बनेपा, पनौती र धुलिखेल नगरका अध्यक्ष एवं पदाधिकारी सहित सदस्यहरु र उल्लेखनिय योग साधक साधिकाको सहभागिता रहेको थियो ।
त्यसैगरी पतंजलि योग समिती काभ्रे, श्रृष्टिकान्त लोकेश्वर योग साधना केन्द्र नाला तथा नेपाल हृदय रोग निवरण प्रतिष्ठान नाला उप–शाखाको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नं ४ स्थित नालामा विश्व मुटु दिवसको उपलक्ष्यमा एक दिवसीय निःशुल्क योग शिविर तथा मुटु बचाउ सम्बन्धि चेतनामूलक प्रवचन कार्यक्रमको आयोजना गरेको छ । नाला बजारमा प्रभातफेरी पछि आयोजित कार्यक्रमको प्रमुख अतिथी बनेपा नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र नेपाल हृदय रोग प्रतिष्ठानका केन्द्रिय सदस्य अशोक कुमार श्रेष्ठ, नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रका सभापती टिका भक्त भोछिभोया, पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायस्थले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व हृदय रोग प्रतिष्ठान नाला ईकाईका संयोजक लक्ष्मी नारायण श्रष्ठले गरेका थिए । विविध कार्यक्रमको जानकारी पतंजलि योग समिति काभ्रेका सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिए ।