2024 October 15/ 02:12: 58am

धुलिखेल/शिलान्यासको ९ वर्ष पछि विशेश्वर प्रसाद कोईरालाको शालिक धुलिखेलमा अनावरण गरिएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले विपी राजमार्गको मुख्य प्रवेशद्धार नजिकै शालिक निर्माणका लागि शिलान्यास गरेका थिए । पार्टी सभापति समेत रहेका पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक कार्यक्रमका साथ शालिक अनावरण गरे । 
    शालिक अनावरण पछि आयोजित कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा नेपाली काँग्रेस प्रतिपस्र्धी पार्टी नेकपा एमालेसँग सहमतिको सरकार गठन गरिएको बताए । ‘काँग्रेस र एमालेको सरकार गठन गरे पछि साना साना दलहरुको चहलपहल सकिएको छ’– सभापति देउवाले भने–‘नेपाली काँग्रेसले मुलुकको विकासका लागि सबै दलसँग समन्वय र सहकार्य गर्नेछ ।’ कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विशेश्वर प्रसाद कोईरालाका छोरा शशांक कोईरालाले काँग्रेस भित्रको एकता कायम राख्न सके मुलुक निर्माणका लागि काँग्रेस पहिलो शक्ति हुने बताएका थिए । 
    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको वी.पी.राजमार्ग २०५२ सालमा जापान सरकारको सहयोगमा निर्माण शुरु गरिएको थियो । २०७२ सालमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त सडकको प्रवेशद्धारमा उनको शालिक अनावरण गरिएको हो ।