विक्रम सम्वत २ हजार सालमा बनेपामा सहकारीको स्थापना गर्ने बनेपाका राजदास बादे भए पनि सरकारी तथ्यांकहरुले २०१३ सालमा चितवनमा खुलेको सहकारीलाई पहिलो मानेको छ । बनेपा नगरपालिका र काभ्रेपलाञ्चोक जिल्लाबाट इतिहास जोगाउन संस्थागत पहल हुन सकेको छैन ।
मोतीराम तिमल्सिना
बनेपा
देशभर सहकारीमा देखिएको समस्या समाधान गर्न संसद्ले बनाएको सांसद् सुर्य थापा संयोजक रहेको संसदीय समिति सक्रिय छ । सहकारीको इतिहास नै फरक परेका तथ्यहरु उक्त समितिले फेला पारेको छ ।
नेपालको ईतिहासमा हालसम्म चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख छ । संसदीय समितिले उक्त तथ्य गलत भएको पत्ता लगाएको छ । सहकारीको इतिहास अहिले पनि आधिकारिक छैन । सरकारी तथ्यांकमा पहिलो पटक साहुहरुको ऋणबाट मुक्त हुन २ हजार सालमा पूर्व १ नम्वर बनेपामा बैंक र को–अपरेटिभ सेसाईटीका नाममा जनतालाई ऋण मुक्त गराउने अभियान सरकारले नै शुरु गरेको तथ्यहरु फेला परेका छन् । सहकारी सम्बन्धी अध्ययन गरिरहेको समितिले उक्त विषयमा थप सूचना र तथ्याङ्कहरु संकलन गरिरहेको छ । ‘त्यस बखतको नेपाल पुस्तक’को भाग २ मा (१९८६–१९९७) साल भाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोक जिल्लामा तत्कालिन सरकारले को–अपरेटिभ संस्था खोलेको उल्लेख छ । बनेपामा ती संस्थाहरु खोल्न पर्ने अनेक कारणहरु मध्ये ठोस कारण थियो–बनेपाका अति लोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा ऋषिदेखि कुटीर उद्योगको केन्द्र, यातायातको सुविधा, पूर्व पहाडको ढोका जस्तो र बनेपाकालीहरुको औधोगिक मनोबृत्ति । राजदास बादे श्रेष्ठ बनेपामा लोकिप्रिय नेता र समाजसेवी मात्रै थिएनन् । लाएण्ड भोर्गेज बंैक र को–अपरेटिभ सोसाईटीबाट त्यहाँका दुःखी जनताले उठाउन सक्ने फाईदा पनि उनले राम्रो मर्म बुझेका थिए । मे.ज. विजय र प्रो.भिमबहादुर भन्दा पनि उनी बढी इच्छुक थिए । ती संस्था बनेपामा चाँडो खोलाईन र चलाउन ।
नव गठित लाएण्ड भोर्गेज बैंक (साहुको ऋण चुक्ता गरी हलुका ब्याज लिने गरी जमिन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र को–अपरेटिभ सोसाईटी भन्ने नयाँ अड्डाका हाकिममा गोविन्दप्रसाद गोर्खाली, उनको मातहतमा हरिबहादुर प्रधान, अजिरमान श्रेष्ठ, मुखियामा रामकृष्ण श्रेष्ठ, कारिन्दा हरिकृष्ण मल्ल र पालेहरु तुरुन्त नियुक्ति भएका थिए । वीरगञ्जका भक्तबहादुर श्रेष्ठ बनेपामा खुलेको बैंक र को–अपरेटिभ सोसाईटीका मेनेजेर थिए । बनेपामा २ हजार सालको भदौ महिनामा उक्त बैक र सोसाईटी खुल्ने कुराले पूर्व नम्वर १ का गरीब जनता खुशी भएका थिए । खेतबारी बन्धकी राखी अति चर्काे ब्याजमा काडेका जनताको ऋण सरकारका तर्फबाट तिरी, साहुको हात परेका जमीन उनिहरुलाई फकाई दिने र कृषि, घरेलु इलमीलाई आवश्यक बीज अथवा औद्योगिक कोरा जिनिस सुपथ मोलमा किन्ने र उनिहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रबन्ध मिलाई दिने यी संस्थाका मुख्य काम थिए । विक्रम् सम्वत २ हजार सालमा गठित ती दुई संस्था २०१६ सालको भूमिसुधार ऐन भन्दा क्रान्तिकारी भएको उक्त पुस्तकको पृष्ठ संख्या २४२ मा उल्लेख गरिएको छ ।
उक्त बैंक र को–अपरेटिभ सोसाईटी २००५ चैत्र १ गते देखि बन्द गरिएको उल्लेख छ । उक्त बैंकमा काम गर्ने कर्मचारीहरु असिस्टेन्ट हरिबहादुर प्रधानके र इन्पेक्टर अंजीरमान सिं प्रधानकेलाई ५ सय ५० रुपैयाँ दिने गरी २००६ साल जेठ १० गते निर्णय भएको थियो । कम्याण्डरी किताब खाना दर्ता फाँट हाकिम कारिन्दाले पुर्जी हेरी लाएण्ड मोर्टगेज बैंकका तपसिलका जवानहरुलाई २००५ साल चैत्र १ गते देखि खारेज भएकोमा सो जवानलाई राष्ट्रिय आर्थिक योजना समितिको काममा लाई राख्नु भन्ने हुकुम थियो । नानी मे.ज.विजय शम्शेर जबराले उक्त पत्र लेखी पठाएका थिए । सहकारीको इतिहास कायम गराउन अहोरात्र सक्रिय सहकारीकर्मी दिपक पौडेल हुन् । उनी समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य (२०७४–२९७६) थिए । उनी जिल्ला र राष्ट्रिय स्तरमा निरन्तर यो अभियानमा लागिरहे तर उनको कुराको सुनुवाई हुँदै भएन । तत्कालिन समयमा काभ्रेपलाञ्चोक जिल्लाकै केशव बडाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष थिए । अहिले पनि उनि सहकारी अभियानमा सक्रिय छन् ।
बनेपामा सहकारी स्थापना र त्यसको शुरुवात तथा निरन्तरताका बारेमा साहित्यकार, इतिहासविद मोहन दुवाल ज्ञाता हुन् । उनीसँग सोहि सम्वन्धी तथ्यहरु पनि छन् । बनेपाको शिर मेमोरियल अस्पताल स्थापनामा पनि उनै राजदास बादेको सक्रियता थियो । बनेपाको सहकारी स्थापना र त्यस पछिका अवस्थाका बारेमा शुभ अधिकारी, पूर्व अध्यक्ष, जिल्ला सहकारी संघ, रामहरी केसी, पुर्व अध्यक्ष, काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ, कन्चनचन्द्र बादे श्रेष्ठ, प्रदेश सभा सदस्य लगायत छन् । कञ्चनचन्द्र बादे राजदासका भतिज हुन् । राजदासका सन्तान राजनीतिमा छैनन् । राजदासका भाई गोपालदासका छोरा हुन् कञ्चन । राजदासका तीन भाई नै राजनीतिमा सक्रिय थिए ।
को हुन् राजदास बादे ?
भारतमा अंग्रेज शासनबाट स्वतन्त्रताका लागि माहात्मा गान्धिको आब्हानमा भएको शान्तिपूर्ण आन्दोलनमा नेपालबाट बनेपाका राजदास बादे र हंशराज श्रेष्ठको. गान्धीसँग सम्पर्क हुन पुग्यो । फलस्वरुप दुबै जनाले स्वदेशी कपडा (खद्दर) तयारी र पहिरनमा जोड दिए । त्यसबाट कयौ परिवारलाई रोजगारीको मौका मिल्यो । आयमुलक स्वदेशी ब्यवसाय प्रर्वद्धनका साथै शिक्षा प्रचार गर्न र राजनीतिक जागरण ल्याउन सक्रिय भूमिका खेल्न थाले । नेपालमा पनि जहाँनिया निरंकुश जहानियँ शासन अन्त्य गरी प्रजातन्त्र ल्याउने काममा राजदास सहभागि भए ।
राजदास बादे सामाजिक सुधारक थिए । समाज सुधारका बाधक विभिन्न अन्धविश्वास, कुरीतिहरु र विकृतिहरु हटाउनु वान्छनीय छ भन्ने कुरामा उहाँमा विश्वास थियो । बादेकै सक्रियतामा बनेपामा ब्यवहार सुधार गुठी स्थापना भएको थियो । २००४ सालमा छिमेकी मित्रराष्ट्र भारत अंग्रेजहरुको शासनबाट स्वतन्त्र भए पछि नेपाली जनतामा पनि निरकुंश राणाशासन विरुद्ध लडी प्रजातन्त्र ल्याउने शिलसिलामा राजदास बादे राजनीतिमा सक्रिय थिए । २००६ सालमा नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय हुन बादेले विशेश्वरप्रसाद कोईराला, मातृकाप्रसाद कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग निकटता बढाए । २ हजार सालमा खोलेको सहकारी २००५ सालमा सरकारले बन्द गरी काठमाडांै सारे पछि बादेले बनेपालीलाई उच्च शिक्षा दिलाउन आवश्यक ठानी काठमाडौका विभिन्न विद्यालयमा पढाउन अभिभावकहरुलाई उत्प्रेरणा दिएका थिए ।
२००१ सालमा बनेपाको लायकु दरवारमा प्राथमिक स्तरको अनौपचारिक स्कुल पनि खोलेका थिए । बनेपाको पुलबजारमा सार्वजनिक पक्की टहरामा औपचारिक प्राथमिक सह शिक्षालय (घरेलु आधार स्कुल) स्थापना गर्न र आवश्यक शिक्षाको ब्यवस्था गर्न राजदास बादेको सक्रियता रह्यो । विद्यार्थीहरुलाई पनि अधिकारका लागि आन्दोलनमा पठाउने, आय आर्जनका लागि हाते चर्खाद्वारा कपास काट्न लगाउने अभियान शुरु गरेका थिए । राजदास बादेका उल्लेख्खनीय कार्य मध्ये राणाकालीन विर्ताप्रथा र शोषण विरुद्ध लड्नु थियो । विर्ताका नाममा राणा परिवारहरुले अनाधिकार र अनुचित तरिकाले कयौ जनता तथा किसानहरुको शोषण गर्ने गर्थे । बनेपा उपत्यकाका धेरै खेत जग्गाहरु सुरशमशेर जवराको विर्ता भनी किसानबाट वाली, तिरो र अन्य विभिन्न प्रकारका कर, झाराहरु लिने गर्थे । यहि विर्ता प्रथा विरुद्ध उनि निरन्तर लडिरहेका थिए । २००७ साल पछि प्रजातन्त्रको विकास र सुदृढिकरणका लागि आम निर्वाचन र जननिर्वाचित सरकारको स्थापनाको सपना पुरा भएको अनुभव गर्न नपाउँदै २०१४ सालमा पार्टीकै कार्य सम्वन्धी यात्राकाके सिलसिलामा हवाई दुर्घटनामा परी उनको निधन भएको थियो । उनी नेपाली काँग्रेसका केन्द्रिय कार्य समितिमा सदस्य थिए । राजदास बादेले छिमेकी देश भारतमा प्रजातान्त्रिक सरकार बनिसकेकाले त्यसकाो फाईदा उठाउँदै त्यहाँबाट हातहतियार नेपालमा भित्र्याउन सजिलो हुने भएकाले पूर्वी नाका हुँदै काठमाडांैमा हातहतियार ओसार्ने काममा समेत सहयोग गरे । बनेपामा उनकै रेखदेखमा बुलाल र हर्षलाल ख्वाखल बादेको घरमा यस्तै हतियारहरु जम्मा गरी बैठक कोठामा घाममा सुकाउने र सफा गर्ने गरिएको थियो । राजदासका भाईहरु धनदास बादे श्रेष्ठ आफ्नो नीजि गाडी आफै चलाउने भएकाले र नीजको अन्य चालकहरुसँग निकटतम सम्वन्ध भएकाले तिम हतियारहरु गोप्यताका साथ काठमाडौ पु¥याउन सजिलो थियो । यहि अभियोगमा २००७ सालमा राजदास बादे, भाई धनदास बादे श्रेष्ठ र हतियार राख्ने घर धनी हर्षलाल ख्वाखल बादे श्रेष्ठलाई गिरफ्तार गरिएको थियो । राणा शासन विरुद्ध राजनीतिक कृयाकलापमा लागेको अभियोगमा उनिहरु तिनै जनालाई थुनामा राखिएको थियो भने राजदास बादेको घरमा प्रहरीले खानतलासी गरेको थियो । उक्त कुरा नेपाली काँग्रेस काभ्रेद्वारा मधु आचार्य सभापति भएका बखत प्रकाशन गरिएको पुस्तक विचार दर्पणमा हरिभक्त प्रधानले काभ्रे काँग्रेस र राजदास बादे श्रेष्ठ शिर्षकमा लेखेका छन् । राजदास बादेले जनताको स्वास्थ्य सेवा गर्ने सिलसिलामा एडभान्टिस्ट मिसन अस्पताल बनेपामा खोल्न लगाउन प्रारम्भिक अवस्थामा लायकु दरवारमा क्लिनिक खोल्न लगाई डाक्टरहरुलाई विना घरभाडा आफ्नै घरमा बसन सहयोग गरेका थिए ।
भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनका हस्ती अग्रज योद्धा, राणा शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका प्रजातान्त्रिक योद्धा, सामाजिक अभियान्ता, प्रजातन्त्र सेनानी समेत रहेका राजदास बादे काभ्रेपलाञ्चोक जिल्लामा मात्रै नभई राष्ट्रिय राजनीतिमा समेत परिचित थिए । तत्कालिन सरकारले पनि बनेपामा राजदास भने पछि विश्वास गरेका हुन्थे । राजदासका बाबु भिमबहादुर बादे श्रेष्ठ थिए । उनको तीन छोरा मध्ये जेठा थिए राजदास । तिनै जनाको निधन भई सकेको छ । पछिल्लो समय गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको थियो । राजदास बादे, धनदास बादे र गोपालदास बादे । राणाद्वारा फाँसीको सजाय सुनाई सर्बस्वहरण समेत सुनाईएको थियो । भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनको नेतृत्व गरी बनेपालाई राणाहरूको बिर्ताबाट मुक्ति दिलाएका थिए राजदास बादेले । राजदास बादेकै नेतृत्व र अगुवाईमा खेतबारी बन्धकी राखी अति चर्काे ब्याजमा काडेका जनताको ऋण सरकारका तर्फबाट तिरी, साहुको हात परेका जमिन उतिहरुलाई फकाई दिन बनेपामा सहकारी र बैंक खोल्ने अभियानको नेतृत्व गरेका थिए । त्यो २००० सालको कुरा थियो ।
राजदास र धनदासका सन्तान कोहि पनि राजनीतिमा सक्रिय भएनन् । गोपालदास बादेका छोरा कञ्चनचन्द्र बादे राज्य मन्त्री भए । अहिले बागतमी प्रदेश सभा सदस्य छन् । पार्टीमा प्रदेश तहका महामन्त्री छन् । राजदास बादेका नाममा गठन भएको स्मृति समिति समेत अहिले निश्क्रिय छ । नेपाली काँग्रेसले पनि उनका बारेमा खास महत्व दिएर सम्झन चाँहदैन । नयाँ पुस्ताले त उनका बारेमा खासै जानकारी समेत पाएका छैनन् ।
सहकारी जोगाउन ‘उर्दी’
बनेपा नगरपालिकाको नियमन क्षेत्र भित्र रहेका र कार्य क्षेत्र अन्यत्र भई बनेपा नगरपालिकामा पनि सेवा संचालन गरिरहेका सवै प्रकृतिका सहकारी संस्थाहरुको सुशासन, सुदृढीकरण र पारदर्शिताका लागि बनेपा नगरपालिकाले सहकारी संस्थाका छाता संगठन तथा अन्य सरोकारवाला निकायहरु समेतको सहकार्यमा विभिन्न मितिमा विभिन्न कार्यक्रमहरु गरिरहेको छ । सोहि कार्यक्रम अनुसार सहकारीहरुले बनेपा नगरपालिकाको नियमन क्षेत्र भित्र रहेका र नियामक निकाय संघ वा प्रदेश भए पनि बनेपा नगरपालिका भित्र सेवा सन्चालन गरिरहेका सवै सहकारी संस्थाहरुलाई ‘साकोस अनलाईन प्रणाली’मा आवद्ध हुन अल्टिमेटम सहितको सूचना प्रकाशन गरेको छ ।
सहकारी सदस्य सूचना सेवा सम्वन्धी अन्य कुनै व्यवस्था नभए सम्म नगरको नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुलाई जिल्ला वचत संघबाट सन्चालन भएको सदस्य सूचना सेवामा आवद्ध हुन, आ.ब. २०८०÷०८१ का लागि नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुको स्वःमूल्याकन गरी नतिजा सार्वजनिक गर्ने म्याद साउन २५ गते सम्म थप गर्ने निर्णय गरेको छ । भोली शुक्रबारसम्म स्वमूल्यांकनको नतिजा नगरपालिकामा अनिवार्य बुझाई सक्न निर्देशन दिईएको छ । सहकारी संस्थाहरु र नगरबीच हुने पत्राचारहरु २०८१ भाद्र १ गतेबाट साकोस अनलाईन प्रणालीबाट गर्ने जानकारी गराएको छ । प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले नगरपालिकाको नीति निर्देशन कार्यान्वन नगरेसम्म त्यस्ता सहकारी संस्थाहरुको नविकरण, सिफारीस लगायत वडा कार्यालय र नगरपालिकाबाट हुने कुनै पनि कार्य नगर्नेे, नगराउने साथै सहकारी संस्थाको कुनै गतिविधिमा वडा र नगरको तर्फबाट सहभागिता नजनाउने र नियमित रुपमा त्यस्ता सहकारीको जानकारी नगरबासीलाई गराउने, त्यसबाट पर्ने जाने समस्या प्रति सम्वन्धित सहकारीका सन्चालक तथा सोही संस्थाका सम्वन्धित अन्य पक्षहरु स्वयम् जिम्मेवार हुनुपर्ने बताएका छन् ।
साकोस अनलाईन प्रणालीमा संस्थाहरुले सहकारीको पूरा नाम (नेपालीमा र अंग्रेजीमा), ठेगाना मुख्य कार्यालय रहेको (जिल्ला, नगरपालिका÷गाउँपालिका), अध्यक्षको नाम थर र फोन नं., कार्यालयको टेलिफोन नं., सहकारी संस्थाको शुरुको दर्ता नं., बनेपा नगरपालिकाको व्यवसाय दर्ता नं., ईमेल ठेगाना, खाता सन्चालन भएको बैंकको नाम, खाता नं., नियामक निकाय, कार्यक्षेत्र, सहकारी सूचना केन्द्र सदस्य नं. (काभ्रे जिल्ला वचत संघबाट प्राप्त भएको) सबै कागजात समावेश गर्नु पर्ने छ । सहकारी दर्ता प्रमाण पत्र, प्यान दर्ता प्रमाण पत्र, नगरपालिकामा व्यवशाय दर्ता गरेको प्रमाण पत्र, कार्यक्षेत्र खुलेको विनियमको पाना, कार्यालयको बोर्ड समेत देखिने गरी खिचेको कार्यालय रहेको भवनको फोटो, कार्यालय भाडामा भए घर भाडाको सम्झौता, आफ्नै भवन भए जग्गाको लालपूर्जाको फोटोकपी समेत समावेश गराउनु पर्नेछ । नगरपालिकाले उक्त निर्देशन र निर्णय सबै वडा कार्यालयहरुमा पठाएको छ ।





