2026 April 30/ 01:05: 59pm

धुलिखेल/चौतारा नगरपालिका वडा नम्वर १ कि १८ बर्षीया पुजा तामाङ २०७२ साल साउन १ गते घरबाट हराईन् । साउन ४ गते मात्रै प्रहरीकोमा उनि हराएको उजुरी दर्ता भयो ।
    आर्थिक वर्ष २०७१/२०७२ देखि काभ्रेपलाञ्चोक जिल्लामा हराएका ब्यक्तिहरुको खोजतलासका लागि ६ सय ८७ वटा निवेदन दर्ता भयो । जस मध्ये ४ सय ७८ वटा घटनामा ब्यक्ति फेला परेको जानकारी प्राप्त भयो । अझै २ सय ९ जना ब्यक्ति परिवार, आफन्त तथा प्रहरीको सम्पर्कमा समेत नआएको प्रहरी तथ्याङ्कमा रेकर्ड छ । आन्तरिक तथा पारिवारीक र सामाजिक समस्याका कारण ब्यक्तिहरु हराउने क्रम बढ्दो छ । विशेषगगरी भर्खरका बालबालिका, उमेर नपुग्दै चञ्चले स्वभावका केटाकेटीहरु र उमेर पुगेका केहि जेष्ठ नागरिक तथा अधबैशे महिला पुरुष धेरै हराउने गरेको प्रहरीमा परेका निवेदनहरुले देखाएको छ । हराएका ब्यक्तिहरुको अवस्था कस्तो छ जानकारी समेत छैन । परिवार र प्रहरीले खोजतलास जारी राखेको भए पनि त्यसको भेउ पाउन सकिएको छैन । सशस्त्र युद्धमा यस्तो बेपत्ता भएको अवस्थामा राज्य वा विद्रोहि पक्षले बेपत्ता बनाएको भन्दै राहत लिन जिल्ला प्रशासनमा उजुरी दर्ता हुने गरेको थियो । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएकाहरु मध्ये केहिको अवस्था अझै त्यस्तै छ । पारिवारीक पृष्ठभूमि र भूमिकाका आधारमा समेत त्यस्ता ब्यक्तिहरुको अझै पहिचान हुन नसकेको हो । कसले बेपत्ता बनायो ? भन्ने सूचना समेत नभएका केहि ब्यक्तिहरुले राज्यबाट राहत प्राप्त गरिरहेका छन् ।
    आर्थिक वर्ष २०७१÷०७२ मा महिला ७५, प्ुरुष ११, बालक २३ र बालिका २३ जना हराएका थिए । सोहि वर्ष हराएका मध्ये महिला ५८, पुरुष ९, बालक १९ र बालिका १७ जना फेला परेका थिए । १ सय ३२ जना हराएको उक्त वर्षमा १ सय ३ जना मात्रै फेला परेको प्रहरीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा महिला ८७ जना हराए । महिला हराउने क्रम पछिल्लो वर्ष झनै बढ्यो । ८७ बाट ९० जना महिला हराए । आर्थिक वर्ष २०७४÷०७५ मा आईपुग्दा १ सय १६ जना महिला हराए । चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा मात्रै ३१ जना महिला हराईसकेका छन् । हराएका महिलाहरु फेला पर्ने क्रम पनि कम छ । जिल्लामा १ सय १८ महिला अझै बेपत्ता छन् भने १६ जना पुरुष, १२ जना बालक, २४ जना बालिका हराईरहेका छन् । पछिल्लो अवधीको ६ महिनासम्मको एकमुष्ट हराउनेको संख्या २ सय ९ पुगेको छ । महिलाहरु हराएर फेला पर्दा समेत प्रहरीकोमा जानकारी आउँदैन । त्यसकारण पनि महिलाहरु हराएर भेटिनेको संख्या धेरै देखिएको प्रहरीले बताएको छ ।
    २०७२ साउन ६ गते हराएकी काभ्रे पोखरीचौरीकी गोमा चौलागाई, ५५ बर्षिया शोभा नेपाली, १८ बर्षिया कल्पना बस्नेत, ४९ बर्षिया अनरुद्रमाई ठकुरी अझै बेपत्ता छन् । २०७२ सालमा हराएका ब्यक्तिहरुको अवस्था के छ ? हराएका भेटिएकी छैनन् ? फेला परेको भए कुन स्थानबाट कस्तो अवस्थामा फेला परे ? त्यसको जानकारी छैन । पछिल्लो समय हराएका ब्यक्तिहरुले आत्महत्या गरेका खबरहरु प्राप्त भएका छन् । दशैंमा कुशादेवीबाट हराएकी एक महिला सुनकोशी नदिमा फेला परिन् । महिलाहरु विवाह गरेर अन्यत्र गएको, बालबालिकाहरु स्वदेशमा भए मजदुरीमा वा आफु खुशी विवाह गरेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा हराएका ब्यक्तिहरुको खोजतलासका लागि पत्राचार गरिएको छ । अन्य जिल्लामा समेत हराएका ब्यक्तिहरुको खोजी भए पनि फेला परेको अवस्था छैन ।