2026 July 07/ 09:43: 26am

मर्यादित ब्यवसाय लागि छलफल, सडक मानवलाई सहयोग
    बनेपा/बागमती टिपर ब्यवसायी संघको १२ औं स्थापना दिवसको अवसर पारी मानव कल्याण समाजको सेवा घरमा रहेका सडक मानवहरुका लागि सहयोग गरेको छ भने सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । 
    ‘बामगती टिपर ब्यवसायी संघको स्थापना दिवस तथा अन्र्तक्रिया कार्यक्रमले समग्र ब्यवसायका बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ’–अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘ब्यवसायलाई मर्यादित बनाउन भएका समस्याहरु समाधानका लागि सरोकारवालाहरुको सुझावलाई कार्यान्वयन गर्नेछौं ।’ अध्यक्ष लामाले ढुवानीमा भएका समस्यासँगै नीति र विधिमा पनि समस्या भएको बताउनु भयो । दुर्घटना न्युनिकरण गर्न चालकहरुलाई प्रशिक्षित गरिरहेको बताउँदै अध्यक्ष लामाले सवारी साधनहरुको नियमित परीक्षण र नविकरणका लागि राति मात्रै टिपर चल्दा उत्पन्न परिस्थितिका बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भएको थियो । ‘दिउँसो टिपर चल्न पाउँदैन, राति कार्यालय खुल्दैन’–अध्यक्ष लामाले भन्नुभयो–‘सवारी साधनको नविकरणका लागि सवारी साधनको परिक्षण गराएर मात्रै नविकरण गर्नु पर्छ ।’ वीमामा दुर्घटना विमा ३ लाखको मात्रै भए पनि ब्यवसायीहरुले ६४ लाखसम्म तिरेर विरामीलाई बचाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष लामाले दुर्घटना चालकले चाहेर नहुने भएकाले सबै पक्षले सडक अनुशासनलाई कायम राख्नु पर्नेमा जोड दिनु भयो । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले समग्र यातायात क्षेत्रको समस्या समाधानका लागि राज्यका सबै निकायहरु सक्रिय र संवेदनशील हुनु पर्ने बताउनु भयो । राति मात्रै टिपर चल्दा मजदुर र मजदुरका परिवारका साथै सडकमा अन्य सवारी साधन हिड्न नसकेको तर्फ सरोकारवाला निकायले ध्यान दिनु पर्ने प्रमुख केसीले बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले ब्यवसायी र मजदुरलाई कोभिडका कारण समस्या परेको बताउनु भयो । ब्यवसायी र मजदुर दुबै पलायन हुनु पर्दा राज्यको समृद्धीलाई धक्का पुग्ने बैद्यको धारणा थियो । कार्यक्रममा प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले टिपर तथा अन्य यातायात ब्यवसायीहरुले सडक सबैको हो भन्ने भावना राख्न सुझाव दिनु भयो । नियमित कागजात नविकरण, मजदुरलाई प्रशिक्षण, सवारी साधनको मर्मत सम्भार तथा स्पिड नियन्त्रण गरी दुर्घटना न्युनिकरणमा जोड दिनु भयो । एसपी खत्रीले सवारी साधनका कारण हुन सक्ने सम्भावित जोखिम र त्यसको न्युनिकरणका लागि सहकार्य रहने बताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो । 
    अन्तक्र्रिया कार्यक्रममा यातायात ब्यवसायी कम्पनीका अध्यक्षहरु आत्मराम थापा, राजेशसुन्दर सैजु, राजेश श्रेष्ठ, चित्र कुँवर, टिपर ब्यवसायी संघका पुर्व अध्यक्ष शेरबहादुर कुँवर, परिवार नियोजन संघ अध्यक्ष शुभराज जोशी, टिपर ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष सुरेश खत्रि, उपाध्यक्षहरु नविन बैद्य, ठाकुर गौतम, सचिव नरेन्द्र बादे, कोषाध्यक्ष नारायणकृष्ण खत्री, अन्य पदाधिकारीहरु, प्रेट्रोलियम एशोसियसनका अध्यक्ष जनक तिमल्सिना, मजदुर नेताहरु दिपक केसि र जय केसी लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले सडक अनुशासन कायम राख्न सबै पक्ष सक्रिय हुनु पर्ने बताएका थिए । बागमती टिपर ब्यवसायी संघमा झण्डै ८ सय टिपर आवद्ध छन् । टिपर ब्यवसायी संघले सदस्यहरुको हितमा विभिन्न योजना कार्यान्वयन गरेको छ भने दुर्घटनामा घाईते र विरामीका लागि पनि सहयोग गर्दै आएको छ । 

सडक मानवलाई सहयोग
बागमती टिपर ब्यवसायी संघको १२ औ स्थापना दिवसको अवसर पारी मानव कल्याण समाजको सेवा घरमा रहेका सडक मानवहरुका लागि सहयोग गरेको छ । ‘बामगती टिपर ब्यवसायी संघको स्थापना दिवसमा असाहय तथा अभिभावक विहिनहरुलाई तत्काल प्रयोग गर्न सकिने अत्यावश्यक सामानहरु सहयोग गरेका हौं’– अध्यक्ष प्रेम लामाले भन्नुभयो–‘ब्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले यस अघि खाद्यान्न सहयोग गरिएको थियो भने यो पटक लत्ताकपडा, फलामको खाट सहितको बेड सेट उपलब्ध गराईएको हो ।’ मानव कल्याण समाजको भक्तपुरको झौखेल र पलासे सहित धुलिखेलमा शाखा कार्यालयमा सडकमा रहेका सबै खालका मानवहरुको आश्रमस्थल बनेको छ । मानव कल्याण समाज धुलिखेलमा रहेका सडक मानवहरुलाई स्थापनाको अवसर पारी बागमती टिपर ब्यवसायी संघले सहयोग गरेको हो । ३० जोर लुगा, फलामको दुई तल्ले ४ वटा बेड र बेड सेट सहयोग गरेको कार्यालय प्रमुख प्रकाश कायश्थले बताउनु भयो ।
    यस अघि संघले सेवा घरमा खाद्यान्न उपलब्ध गराएको थियो । संघका अध्यक्ष प्रेम लामा सहितका पदाधिकारीहरुले संस्थाका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई उक्त सहयोग हस्तान्तरण गर्नु भएको थियो । सेवा घरमा हाल ४३ जना सडक मानवहरु हुनुुहन्छ । ४१ जना परिवारमा पुर्नस्थापना भईसकेका छन् । ८४ जना सडक मानवहरुको उद्धार गरी उनिहरुको उपचार तथा मानसिक सन्तुलन ठिक आफ्नो परिचय र आफन्त थाहा पाउन थालेपछि परिवारलाई पुर्नस्थापना गर्ने गरिएको संस्थापक अध्यक्ष चौलागाईले बताउनु भयो । अध्यक्ष चौलागाईले नियमित स्वास्थ्य परिक्षणका लागि चिकित्सक, औषधी र घरभाडाका लागि समस्या रहेकाले सहयोगीहरुलाई सेवा घर अवलोकन गरी सहयोग गरिदिन अनुरोध गर्नुभयो । बागमति टिपर ब्यवसायी संघ लगायतका संघ संस्थाहरुको सहयोग निरन्तरताका लागि अध्यक्ष चौलागाईको अनुरोध थियो ।