– अध्यक्षमा विवेक
बनेपा/व्यवसायीकरण, सवल तथा सुब्यवस्थित सहकारी अभ्यासको लागि सहकारीहरुमा कार्यरत ब्यवस्थापन प्रमुख एवं कर्मचारीहरुको ज्ञान, सीप, अनुभव र क्षमता विकासका लागि साझा थलो ‘को–अपरेटिभ मेनेजर्स क्लब, काभ्रेपलाञ्चोक’ गठन गरेको छ । सहकारीका सदस्यहरुको चाहना र आवश्यकता अनुसार गुणस्तरीय वस्तु तथा सेवाहरु उपलव्ध गराउन प्रवद्र्धनकारी अभ्यासहरु मार्फत कुशल ब्यवस्थापनको माध्यमबाट सहकारीको संस्थागत विकास, सुशासनको प्रत्याभुती गराउन मेनेजर्स क्लब गठन गरिएको अध्यक्ष विकेकराज ठकुरीले बताए ।
विगतमा काभ्रे जिल्लामा कार्यक्षेत्र कायम भई संचालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुमा कार्यरत ब्यवस्थापन प्रमुखहरुको नियमित रुपमा भेला बसी असल अभ्यासहरुको आदानप्रदान गर्ने कार्य हुँदै आएको थियो । क्लबको अवधारणामा अनौपचारिक रुपमा नै कार्यहरु गर्दै आएको थियो । क्लबले काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघसंँगको सहकार्यमा जिल्लामा नै पहिलो पटक काभे्र जिल्लामा रहेका सहकारी संस्थाहरुमा कार्यरत ब्यवस्थापन प्रमुखहरुको कार्यशाला जस्तो महत्वपूर्ण कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरेको थियो ।
जिल्लामा स्थापित विभिन्न विषयगत संघहरुलाई एकै सुत्रमा जोड्नको लागि क्लबले औपचारिकताको आवश्यकता र जिल्लामा रहेका सबै प्रकृतिका सहकारीहरुबिच ऐक्यवद्धताको खाँचो रहेको कुरालाई मनन् गरी सबै प्रकृतिका सहकारीमा कार्यरत कर्मचारीहरुको साझा थलोको निर्माण गर्न व्यवस्थापन प्रमुखहरुको विभिन्न समयमा भएको भेला र वैठकबाट सहकारीको संस्थागत विकास, सुशासन र व्यवसायिकरणका लागि संगठीत संस्थाको परिकल्पना सहित कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेपलाञ्चोक दर्ता भएको ठकुरीले बताउनु भयो । क्लबले सहकारी संस्थाहरुको लागि आवश्यक नीति, विधि र प्रविधिको विकास गर्ने, नयाँ नयाँ सोचहरुको विकास र आधुनिकिकरण गर्न अनुसन्धान तथा विकासका कार्यहरु गर्ने, अनुभव, अभ्यास, अफ्ठ्यारा परिस्थिती, अभियानको चुनौती र आगामी कार्यदिशाका विषयमा छलफल एवं गतिविधिहरु सञ्चालन गर्ने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने, अध्ययन अवलोकन भ्रमण आयोजना गर्ने, सहकारी संस्थामा एकरुपता कायम गर्ने, सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने, राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ र विषयगत केन्द्रीय सहकारी संघ, प्रदेश विषयगत सहकारी संघ, जिल्ला विषयगत सहकारी संघ र राष्ट्रिय सहकारी बैंक तथा स्थानीय तह अन्र्तगतका सहकारी संघहरुसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी संस्था सञ्चालनका लागि आवश्यक नीति, निर्देशिका तथा कार्यविधिहरुको नमूना तयार गर्ने, सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको रोजगारी सुनिश्चितताको लागि पहल कदमी गर्ने रहेको छ ।
क्लबमा उपाध्यक्ष गोपाल दाहाल, प्रमुख कार्यकारी अधिकृत, ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., सचिव ठाकुरनाथ अधिकारी, प्रबन्धक, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि., कोषाध्यक्ष सविना पन्त, प्रमुख कार्यकारी अधिकृत, आयाम बचत तथा ऋण सहकारी संस्था लि र कार्य समिती सदस्य सदस्य सुवाश वैद्य, प्रमुख प्रबन्धक, आभाष बचत तथा ऋण सहकारी संस्था लि., सदस्य यशोदा बोगटी, ब्यवस्थापक, महिला आधारशिला बचत तथा ऋण सहकारी संस्था लि., सदस्य अरुण थापा, प्रमुख कार्यकारी अधिकृत, एक्सपे्रस बचत तथा ऋण सहकारी संस्था लि, सदस्य मनोज रायमाझी, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.सदस्य गंगा दाहाल, ब्यवस्थापक, पञ्चकुमारी बहुउदेश्यीय सहकारी संस्था लि.रहेका छन् ।





