2026 July 07/ 09:43: 15am

    धुलिखेल/तीन दिनको लगातारको विदाको कारण कोरोना भाईरसको परिक्षण कम भएको र पर्वहरुको जमघटमा भिडभाड भएकाले केहि दिन देखि कम देखिएको कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । प्रशासनले निषेधाज्ञाको अवधि र क्षेत्रलाई फरक ढंगले ब्याख्या गरे पनि ब्यक्तिहरुको लार्पवाही संक्रमण बढ्नुको प्रमुख कारण हो । 
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले नागरिकहरुले ब्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण फैलन थालेको बताउनु भयो । पछिल्लो समय धुलिखेल र बनेपाका अस्पतालहरुमा विरामीको चाप बढिरहेको छ । संक्रमणको लक्षण देखिए पनि विरामीहरु परिक्षण गर्न अस्पताल पुगेका छैनन् भने स्थानीय सरकारहरुले पनि परीक्षणलाई प्रभावकारी बनाउन सकेका छैनन् । बुधबारसम्म कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २ सय ६२ पुगेको छ । जसमध्ये जिल्लाभित्र १ सय ८७ जना र बाहिरी जिल्लाका ७५ जना छन् । तीन दिन कम देखिएको संक्रमण मंगलबार एकै पटक ९९ जनामा देखिएको थियो । अझै जिल्लामा झण्डै ५ सय भन्दा धेरै ब्यक्तिहरु सक्रिय संक्रमित छन् । 
    प्रशासनले लगाएको निषेधाज्ञा पालना भएको छैन । पालना गराउन प्रशासन पनि सक्रिय छैन । होटलहरुमा टेक–वे भनिए पनि २५ भन्दा धेरै भेला भएर सँगै बसेर खाना र खाजा खाने काम भईरहेको छ । बजार भिडभाड छ । नजिकिएका चाडपर्वहरु संक्रमण फैलाउन सक्ने माध्यम बन्न सक्ने तर्फ चासो भए पनि मान्न कोहि तयार छैन । पूर्वाधार र जनशक्ति तयार भए पनि संक्रमण फैलँदा नागरिकहरु निरिह बन्ने भएकाले संक्रमण हुनै नदिन तर्फ ध्यान दिनु जरुरी छ । जिल्लामा संक्रमण दर बढेसँगै प्रशासन कार्यालय र मालपोत कार्यालयले भने आलोपालो सेवा दिएका छन् । काभ्रेपलाञ्चोक जिल्ला खोप धेरै प्राप्त गर्ने जिल्लाका रुपमा चिनिएको छ । महाभारत, खानखिोला, चौरीदेउराली, तेमाल, रोशी लगायतका पालिकाहरु धुलिखेल नगरपालिका कोरोना विरुद्धको पूर्ण खोप भएको पालिकाका रुपमा घोषणाको तयारी समेत भएको छ ।