2026 July 07/ 09:43: 28am

    धुलिखेल/सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र कार्यक्रम प्रति जिल्लाका विभिन्न स्थानीय तहमा नागरिकहरुको आकर्षण बढेको छ । परिचयपत्रका लागि विवरण संकलन तथा फोटो खिचाउने कार्यक्रममा नागरिकहरुको उत्साह देखिएको हो । 
    साउन मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मार्फत संचालन भएको टोलीले रोशी, खानीखोला, महाभारत, बेथान्चोक, भुम्लु, चौरीदेउराली, तेमाल गाउँपालिकामा अभियान सम्पन्न भएको छ भने नमोबुद्ध र धुलिखेल नगरपालिकामा पनि अभियान सम्पन्न भएको छ । बनेपा बाहेक पाँचखाल, मण्डनदेउपुर, पनौती र जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने अभियान संचालन भईरहेको छ । भदौ महिनाभर जिल्लाको सबै अभियान सम्पन्न गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनारले बताउनु भयो । अभियान संचालन भएका पालिकाहरुमा नागरिकहरुको उत्साहजनक सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुनारले बताउनु भयो । 
    अभियान अन्र्तगत २०७७ फागुन २७ गते पहिलो पटक रोशी गाउँपालिकामा शुरु भएको थियो । सोहि पालिकामा लक्ष्य अनुसार ९२ प्रतिशत नागरिकहरु अभियानमा सहभागी भएका थिए । १२ हजार ७ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि तस्विर खिचाएका छन् भने खानीखोलामा ४ हजार ९ सय ६८ जनाले फोटो खिचाएका छन् । महाभारतमा ७ हजार ६ सय ८९, बेथान्चोकमा १० हजार ९७, भुम्लुमा ९ हजार ६ सय ३, चौरीदेउरालीमा ७ हजार ८ सय ९६, तेमालमा ९ हजार २९ जनाले तस्विर खिचाएका छन् । नमोबुद्ध नगरपालिकामा १८ हजार ६ सय ९५ जना, धुलिखेलमा १८ हजार ३ सय ५८ जनाले तस्विर खिचाएका छन् ।