2026 July 07/ 09:43: 29am

– असोज ३ गते भित्र वडा र  ९ गते भित्र पालिकाको अधिबेशन
– प्रत्यक्ष अध्यक्ष र सदस्य निर्वाचित पछि अन्य पदाधिकारी चयन, उप सचिवको पद थपियो

    बनेपा/नेकपा एमाले काभ्रेको जिल्ला कमिटी बैठक पार्टी कार्यालय बनेपामा अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पूर्व मन्त्री गोकुल बास्कोटाले आगामी कार्ययोजना सहित पार्टी स्थायी कमिटीद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन प्रस्तावका बारेमा जानकारी गराउनु भएको थियो । 
    ‘बैठकले विधान संशोधनका लागि जिल्ला कमिटी सचिव नारायण पाण्डेको संयोजकत्वमा सुझाव संयोजन कमिटी गठन भएको छ’–अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘जिल्ला कमिटीको बैठकले आगामी असोज ३ भित्र जिल्लामा रहेका १३ वटा पालिकाका १ सय ३५ वटै वडाको अधिबेशन सम्पन्न गर्ने र असोज ९ भित्र पालिका स्तरको अधिबेशन सम्पन्न गर्ने निर्णय भएको छ ।’ त्योसँगै जिल्ला स्तरीय जनसंगठनहरुको जिल्ला स्तरीयभेला, प्रशिक्षण र जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने निर्णय भएको जिल्ला कमिटी सदस्य राजन भुर्तेलले जानकारी दिनुभयो । विधान संशोधन सुझाव कमिटीमा संयोजक नारायण पाण्डे, सदस्यहरुमा रिता ढकाल, राजन भुर्तेल, सुदर्शन थापा, हरिशरण दाहाल र कुमार भट्टराई रहनु भएको छ । संगठित सदस्यहरुको जारी नविकरण अभियान र नयाँ सदस्यता वितरण कार्य अन्तिम चरणमा पुगेकाले भदौको पहिलो साता भित्र सबै पालिकाहरुबाट प्राप्त सदस्यहरुको नामावली टुङ्गयाउने निर्णय भएको जिल्ला कमिटी सचिव नारायण पाण्डेले बताउनु भयो । 
    बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत विद्यान संशोधनमा गरिएको प्रस्तावका बारेमा जिल्ला कमिटी सदस्यहरुलाई जानकारी गराउँदै सुझाव माग गरिएको थियो । विधानको परिभाषामा भएका संशोधन, पार्टी सदस्यता, केन्द्रीय निकाय, केन्द्रीय कमिटी, महाधिबेशन प्रतिनिधि परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, सामुदायिक कम्प्युनिष्ट मञ्च, प्रदेश कमिटी, स्थानीय कमिटी, संगठन कमिटी र संक्रमणकालिन पार्टी संगठन, अधिबेशन, संघीय संसद्, प्रदेश सभा र स्थानीय तह, आयोगहरु, विभागहरु, निर्वाचन प्रणाली लगायतका विषयमा छलफल भएको थियो । संशोधन गरिएको विद्यानको प्रस्तावमा सामुदायिक कम्युनिष्ट मञ्च सम्बन्धी हालको ब्यवस्थालाई हटाउने प्रस्ताव गरेको छ भने जेष्ठ कम्युनिष्ट मञ्चमा ७० वर्ष उमेर पार गरेका नेताहरुको हकमा जेष्ठ कम्युनिष्ट मञ्चको सदस्यता प्रदान गर्ने प्रस्ताव गरिएको छ । जो जुन तहको कमिटीमा वा निकायबाट रिटायर्ड भएको हो उसलाई सोहि तहको कमिटीले जेष्ठ कम्युनिष्ट मञ्चको सदस्यता प्रदान गर्ने र सोहि तहको जेष्ठ कम्युनिष्ट मञ्चमा संगठित गर्ने प्रस्ताव गरिएको छ । 
    संशोधन गरिएको विद्यानको प्रस्तावमा स्थानीय कमिटी अन्र्तगत प्रतिनिधिसभा, प्रदेश सभा निर्वाचन क्षेत्रमा आवश्यकता अनुसार निर्वाचन क्षेत्र समन्वय कमिटी निर्माण गर्ने प्रस्ताव गरिएको छ । स्थानीय कमिटीमा यस अघिकै अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिवको ब्यवस्थामा थप एक जना उप सचिव थप गरिएको छ । अधिबेशनका प्रतिनिधिहरु सदस्य रहने गरी सम्बन्धित स्थानीय तहमा अधिबेशन प्रतिनिधि परिषद् गठन गर्ने प्रस्ताव गरिएको छ । प्रदेश कमिटीको अवधी ४ वर्ष, जिल्ला र पालिकाको ३ वर्ष र वडाको हकमा २ वर्ष अवधीको कमिटी रहनेछ । यसअघि प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी निर्वाचित हुने ब्यवस्थालाई हटाउँदै पार्टीले अध्यक्ष र सदस्यहरु अधिबेशन वा महाधिबेशनबाट निर्वाचित भए पछि अन्य पदाधिकारीहरु कमिटीले निर्वाचित गर्ने ब्यवस्था गरेको छ । निर्वाचनमा प्यानल बनाउन बन्देज गरिएको छ । समावेशिताको ब्यवस्था बमोजिम सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधि सुनिश्चित गर्ने ब्यवस्था गरेको छ । जिल्ला कमिटीको बैठकमा एमालेको आन्तरिक विवादका कारण तीन जना अनुपस्थित रहेका थिए । 
    बैठकले जिल्ला भित्रका आम नागरिकहरु बालिग मताधिकार प्राप्त भएकालाई जिल्ला निर्वाचन कार्यालयमा आवश्यक प्रकृयामा सामेल भै फोटो खिच्न अह्वान गर्ने र पहल गर्न पार्टी पंक्ति लाग्ने पारिचालन गर्ने, सबै पालिका र वार्ड कार्यालय ब्यवस्थापन गर्ने, जिल्ला कार्यालयको कार्यालय सचिवको जिम्मेवारी हरिकुमार मैनाली र कार्यालय सहायक सुन्दर खड्कालाई दिने निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । जिल्ला कमिटी सदस्य पूर्व जनप्रतिनिधि र राजनैतिक आन्दोलनको योद्धा शिवराज भेटवालको असामयिक निधनमा बैठकले श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरेको छ भने कोभिड र बाढी पहिरोमा परि दिवंगत भएका सबै जिल्ला र देशबासीहरुमा बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना र विरामीहरुमा स्वास्थ लाभको कामना गरेको छ ।