2026 July 07/ 09:43: 28am

    पनौती/विश्व सम्पदा सूचीमा प्रस्तावित पनौती नगरपालिकाको प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिँदै त्यसको प्रचारप्रसार सम्बद्र्धनमा पनौती संग्राहलयलाई अझै ब्यवस्थित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । 
    इन्द्रेश्वर महादेव मन्दिर परिसरमा राखिएको पनौतीको संग्राहलयलाई नगरपालिकाले अझै ब्यवस्थित बनाउने र पनौतीको चिनारीलाई विश्वमै फैलाउने गरी कार्य भईरहेको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । ऐतिहासिक सामाग्रीहरुको संकलन र त्यसको ब्यवस्थापनमा नगरपालिकाले संग्राहलयलाई ब्यवस्थित बनाउन सहयोग गरिएको प्रमुख न्यौपानेले बताउनु भयो । संग्राहलयको ब्यवस्थापनका लागि आन्त्रिक र बाह्य पर्यटकहरुको प्रवेश शुल्कलाई प्रमुख श्रोतका रुपमा विकास गर्ने उद्देश्यले गरिएको तयारीमा कोभिड १९ को प्रभाव परेको प्रमुख राजेन्द्र महाजुले बताउनु भयो । विद्यार्थी सहुलियत, आन्तरिक पर्यटक र विदेशीहरु मध्ये सार्क मुलुक र सार्क मुलुक बाहिरका पर्यटकहरुका लागि अलग अलग शुल्क राखिएको छ । त्यहि शुल्कका आधारमा संग्राहलयलाई ब्यवस्थित बनाउने र नियमित गर्ने योजनामा कोभिड १९ कै कारण असर पु¥याएको माहाजुले बताउनु भयो । जिल्लाको पहिलो संग्राहलयका रुपमा पनौतीको संग्राहलयलाई लिन सकिन्छ । धुलिखेल नगरपालिकाले पनि धुलिखेलको ऐतिहासिकता र प्राचीनतासँगै पुरातत्व सम्पदाको संरक्षण गर्ने उद्देश्यले संग्राहलय निर्माणको कार्य शुरु गरेको छ । 
    पनौतीको संग्राहलयमा १२ बर्षे मकर मेला, ब्रम्हायणी मन्दिर, संकटा जात्रा, काठको मूर्ति, मयुर नाच, ढुङ्गे धारा, नेवारी सम्पदा, कृष्णको मूर्ति, देवी नाच लगायतका सम्पदाहरुको जानकारी गराउने आशयका सामानहरु राखिएका छन् । संस्कृतविद् तुयुकाजी ताम्राकारले पनौतीको ऐतिहासिक र धार्मिक महत्वका बारेमा बु्झाउन सके पनौतीको धार्मिक पर्यटन मार्फत समृद्धी हुने बताउनु भयो । इतिहासको खोजी गरी पुस्तकहरु प्रकाशन गर्दै आउनु भएका साहित्यकार सुर्यप्रसाद लाकोजुले पनौतीको मकर मेला, इन्द्रेश्वर महादेव मन्दिर तथा अन्य धार्मिक र सांस्कृतिक पहिचानले पनौती सम्पदाको धनी देखिन्छ । सम्पदाको धनी पनौतीको संरक्षण, सम्वृद्धन र प्रर्वद्धनका लागि पनौती र जिल्लाले नै अगुवाई लिनुपर्ने लाकोजुले बताउनु भयो । पनौतीका सबै जात्राहरु संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले जात्रा तथा पर्व संचालन मुल ब्यवस्थापन समिति गठन गरी ब्यवस्थित गर्न शुरु गरेको अध्यक्ष कृष्णधन कर्माचार्यले बताउनु भयो । इनार, धारा, पाटी पौवा तथा अन्य सम्पदाहरु मासिदै गएका छन् । नयाँ पुस्तालाई प्राचीनताका बारेमा जानकारी गराउन प्राचीन सभ्यताको संरक्षण आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । 
    २०६६ सालमा पनौती नगरपालिकाको विशेष पहलमा स्थापना भएको संग्राहलयले लोप हुन लागेका सम्पदाहरु संग्रह गरेको छ । इन्द्रेश्वर पुनर्निर्माण गर्दा उत्खनन भएका सम्पदाहरु राखिएका छन् । स्थानीय नागरिकहरुले पुराना सामाग्रीहरु संग्रहका लागि उपलब्ध गराउन थाल्नु भएको छ । मठ मन्दिरका सामाग्रीहरु स्थानीयहरुले प्राप्त गरेको अवस्थामा संग्राहलयमा उपलब्ध गराउन शुरु गरिएको छ । पाटन संग्राहलय, लुम्बिनी विश्वविद्यालय, राष्ट्रिय संग्राहलयसँगको समन्वयमा संग्राहलयलाई अझै ब्यवस्थित गर्ने प्रयास भएको छ । ५÷६ सय वर्ष पुराना सामाग्रीहरु राष्ट्रको सम्पति हो । अतितको सम्झना, पुर्खाहरुको योगदानलाई हस्तान्तरण गर्न संग्राहलय आवश्यक रहेको महाजुले बताउनु भयो । 
    माघ १ गते देखि शुरु हुने मकर मेलाको तयारीसँगै संग्राहलयलाई अझै ब्यवस्थित र सूचनामुलक बनाउने कार्य शुरु भएको छ । मकर मेलाका लागि आउने दर्शनार्थीहरुका लागि पनौती चिनाउने खालका सामाग्रीहरु संग्राहलयमा राखिने तयारी गरिएको छ । मकर मेला तयारी ब्यवस्थापन समिति, पनौती नगरपालिका, सरोकारवाला निकाय तथा स्थानीय संघ संस्था र ब्यक्तिहरुले संग्राहलयलाई सबल र सक्षम बनाउन समन्वय गरिरहेको ब्यवस्थापक महाजुले बताउनु भयो ।