2026 July 07/ 08:25: 30am

           धुलिखेल/बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटीमा बसोबास गर्ने ३७ बर्षीया संगीता बुढाथोकीले सरकारले गरेको स्वास्थ्य वीमा कार्यक्रममा सहभागि भई दुई वर्ष देखि सेवा लिईरहनु भएको छ । ३ हजार ५ सय रुपैयाँमा परिवारका पाँच जना सदस्यको एक लाख रुपैयाँको स्वास्थ्य वीमा गराउनु भएकी संगीता र उहाँकै दिदी सिता बुढाथोकीले वीमाको सेवा लिईरहनु भएको छ । 
    ‘वीमा गराएर खुशी मात्रै होईन सन्तुष्ट छौं, आय श्रोत नहुनेहरुका लागि स्वास्थ्य वीमा कार्यक्रम बरदान सावित भएको छ’– संगीता बुढाथोकीले भन्नुभयो । ‘वीमा नगर्नेहरुले वीमा गराएर यो सेवा लिन जरुरी छ’–उहाँले भन्नुभयो । संगीता बुढाथोकी र उहाँकै दिदी सितालाई सुगर, थाईराईड लगायतका रोगहरु छन् । हरेक महिना नियमित रगत लगायतका परिक्षण गरी औषधी खरिद गर्दा प्रति ब्यक्ति ५ हजार भन्दा धेरै खर्च हुने गरेको छ । उक्त खर्च वीमा बापत धुलिखेल अस्पतालले निःशुल्क गरिदिने गरेको छ । ‘हामी आयश्रोत नभएका ब्यक्तिहरुका लागि वीमा कार्यक्रमले आर्थिक र पारिवारीक बोझबाट पन्छाएको छ’– संगीताले भन्नु्भयो–‘सरकारले वीमा कार्यक्रममा समावेश नभएका उपचार पनि समावेश गरिदिए झनै सहज हुनेछ ।’ संगीताले पहिलो वर्षको वीमा कार्यक्रमको सेवा लिई दोश्रो वर्षको समेत नविकरण गराउनु भएको छ । गरिब, असहाय, कम आयश्रोत भएका नागरिक तथा उपचार गर्न नसक्ने नागरिकहरुका लागि स्वास्थ्य वीमा प्रभावकारी रहेको उहाँको अनुभव छ । 
    संगीता र सिता जस्तै बनेपा ३ नाला सुमाराबाट उपचारका लागि आउनु भएकी देवकी दाहालले पहिलो पटकको सेवामै सन्तुष्टि प्राप्त गरेको बताउनु भयो । ‘पैसा तिर्ने र वीमा गरेका विरामीहरुका लागि फरक खालको सेवा छैन, सबैलाई समान ढंगले सेवा दिने धुलिखेल अस्पतालको ब्यवहार चित्त बुझ्यो’–देवकी दाहालले भन्नुभयो–‘हरेक पटक जचाउँन आउँदा लाग्ने पैसा र परिक्षण बापतको रकम भुक्तानीमा हुने खर्च जोगिँदा पनि धेरै राहत महसुस हुँदो रहेछ ।’ पनौती नगरपालिका वडा नम्वर ७ की अनिता श्रेष्ठले वीमा बापतको सेवा प्रभावकारी भए पनि सबै खालको औषधी नहुँदा कहिलेकाँहि समस्या हुने बताउनु भयो । छाला तथा अन्य केहि रोगको उपचार भए पनि औषधी सहज नहुँदा विरामीहरुलाई केहि असहज भए पनि स्वास्थ्य वीमा प्रभावकारी भएको बताउनु भयो । अस्पतालमा विरामी धेरै आउने भएकाले समयमै पालो पाउन मुस्किल भएको उहाँको गुनोसो छ । 
    सरकारले स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी बनाउँदै नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्य अनुरुप धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र दोलखा जिल्लाका विरामीहरुका लागि प्रथम विन्दु तोकेको छ । जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र मेथिन्कोट अस्पताललाई पनि प्रथम विन्दु तोके पनि ति संस्थाहरुले सेवा शुरु नगर्दा धुलिखेल अस्पतालमा विरामीको चाप भएको स्वास्थ्य वीमा बोर्ड काभ्रेकी दर्ता अधिकारी मुना निरौलाले बताउनु भयो । धुलिखेल अस्पतालमा एकै दिन ७÷८ सय विमित ब्यक्तिहरुको परिक्षण गरिएको धुलिखेल अस्पतालका वीमा दावीकर्ता विनोद दाहालले बताउनु भयो । ‘वीमा बोर्डले अस्पतालमा उपचार गराएका विरामीहरुको एक साता भित्र दावी गर्न भनेको भए पनि विरामीहरुको चापका कारण दैनिक १० जना भन्दा धेरै ब्यक्तिहरु त्यहि काममा खटिँदा पनि कठिन परेको छ’–अस्पतालको तर्फबाट दावीकर्ता दाहालले भन्नुभयो–‘विरामीहरुले उपचार गराएर कागजपत्र लैजाने र परिचयपत्र छाडेर जाने गरेका कारण झण्डै २÷३ सय ब्यक्तिहरुको भुक्तानी दावि गर्न कठिनाई हुने गरेको छ ।’ 
    आर्थिक वर्ष २०७७/०७८ मा धुलिखेल अस्पतालमा उपचार गराएका ८५ हजार ७ सय ८९ जना विरामीहरुको दावी भुक्तानी गरिएको भए पनि ५३ हजार ९ सय ९४ जनाको उपचार गराए बापतको भुक्तानी हुन सकेको छैन । ३१ हजार ७ सय ९५ जनाको दावि भुक्तानी बापत वीमा बोर्डले असार मसान्तसम्ममा ९ करोड २५ लाख प्राप्त भएको छ । झण्डै १२ करोड वीमा बापतको भुक्तानी हुन नसकेको अस्पतालका प्रशासकीय निर्देशक रमेश माकजुले बताउनु भयो । अन्य भुक्तानी समेत गरी झण्डै १७ करोड रुपैयाँ वीमा बोर्ड बापतको भुक्तानी हुन नसकेको उहाँले बताउनु भयो । धुलिखेल अस्पतालमा सरकारले कोरोना वीमाको निःशुल्क उपचार गराईरहेको छ । त्यसबापत अस्पताललाई सरकारले उपचार बापतको भुक्तानी गर्ने गर्दछ । ‘वीमा बापतको १७ करोड र कोरोना उपचार बापतको ७ करोड गरी २४ करोड रकम प्राप्त हुन बाँकी छ’–प्रमुख प्रशासकिय निर्देशक रमेश माकजुले भन्नुभयो–‘कोभिडका कारण विद्यार्थी भर्ना गर्न नसकेको तथा अन्य श्रोतहरुको कमि, समयमै भुक्तानी नहुँदा समयमै कर्मचारीहरुलाई पारिश्रमीक दिन सकिएको छैन ।’ 
    विरामीहरुका आफन्तले वीमा कार्यक्रम अझै प्रभावकारी बनाउन अस्पतालले सेवामा सहजीकरण गरिदिन सुझाव दिएका छन् । ‘नाम दर्ता, चिकित्सक भेट्ने, नगद तिर्ने स्थानमा छाप लगाउने, प्रयोगशाला पुग्ने, रिपोर्ट लिन लाईन लाग्ने, चिकित्सकलाई देखाउने, औषधी लिन, पुनः कार्ड लिन तथा विभिन्न प्रयोजनमा लाईन बस्दा बस्दै एक जना विरामी झनै विरामी हुने भएकाले यसलाई सहजीकरण गरिदिन विरामीहरुले अस्पताल प्रशासन समक्ष अनुरोध गरेका छन् । विरामीहरुको सहजताका लागि अस्पतालले अलग अलग विभाग खडा गरी परिक्षण र निःशुल्क औषधी लिने विरामीहरुका लागि शुरुबाटै सहज हुने गरी परामर्श गर्ने योजना बनाएको प्रशासकिय निर्देशक रमेश माकजुले बताउनु भयो । वीमा कार्यक्रम अस्पताल र विरामी दुबैका लागि राम्रो भएको निर्देशक माकजुले बताउनु भयो । २०७२ सालमा वीमा बोर्डले तोकेको औषधीको मुल्यमा धेरै भएकाले मुल्य समायोजन गरिदिनु पर्ने अस्पतालले जनाएको छ । मुल्य समायोजन नहुँदा विरामीहरुका लागि आवश्यक पर्ने औषधीहरु सहज रुपमा प्राप्त हुन सकेको छैन । विरामीहरुले एक लाख रुपैयाँको अप्रेसन तथा अन्य खालको सेवा उक्त वीमा गरे बापत प्राप्त गर्नेछन् । काभ्रेपलाञ्चोक जिल्लामा ३० हजार ७ सय ५७ परिवारका झण्डै ९० हजार ब्यक्ति विमित भएको दर्ता अधिकारी मुना निरौलाले जानकारी दिनुभयो ।