बनेपा/नक्कली नागरिकता मार्फत नेपालीहरुलाई भारतका विभिन्न अस्पताल पु¥याई मृगौला तस्करी गर्ने गिरोह पुनः सक्रिय भएको छ । बनेपा नगरपालिका वडा नम्वर ५ का २८ बर्षिय युवक ५ लाख रुपैयाँमा मृगौला विक्री गरी २०७७ चैत्रमा घर फर्किएका थिए । गरिबी, दबाब र अभावमा मृगौला विक्री गर्नेहरुको संख्या दिनदिनै बढिरहेको छ ।
केहि वर्ष अघि काभ्रेपलाञ्चोक जिल्लाको साविक होक्से, काभ्रे नित्यचण्डेश्वरी, पाँचखाल, देवभुमि बालुवा, अनेकोट, पातलेखेत लगायतका गाविसका केहि स्थान मृगौला विक्री गर्ने गाउँका रुपमा चिनिएको थियो । बीचमा सुस्ताएको जस्तो देखिए पनि तस्करहरुको सक्रियताले सातामा चार जना भन्दा धेरै नेपाली भारतका विभिन्न अस्पतालमा पु¥याई मृगौला विक्री गरिरहेको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले मानव अंग बेचविखनमा संलग्न ब्यक्तिहरुकोे छानविन शुरु गरिएको बताउनु भयो । ‘मानवता विरोधी अपराधको छानविनका क्रममा छौं’–एसपी भुपेन्द्र खत्रीले भन्नुभयो–‘मृगौला विक्री गराउन बाध्य पार्ने गिरोहका बारेमा अनुसन्धान भईरहेको छ । पक्राउ परेकाहरुलाई कानुन अनुसार कारवाही गर्छाै ।’
‘पीडितको जाहेरीका आधारमा मृगौला तस्करीमा संलग्न केहि ब्यक्तिलाई पक्राउ गरेका छौं, आरोपित मध्ये केहिको खोजीकार्य जारी छ’–ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भन्नुभयो–‘बनेपा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बलराम अधिकारी समक्ष सोहि वडाका पीडित २८ बर्षिय युवकले आफ्नो मृगौला तस्करहरुले विक्री गराएको जानकारी पछि प्रहरीले उक्त घटनामा संलग्नहरुको खोजी कार्यमा सक्रियता बढाएको हो ।’ प्रहरीको सक्रियताले तिनै युवाको जाहेरीका आधारमा भुम्लु गाउँपालिका वडा नम्वर ८ घर भएका ३५ बर्षिय राजकुमार भन्ने कुमार परियार र साविक देवभुमी बालुवा गाविस हाल पाँचखाल नगरपालिका वडा नम्वर १० घर भएका ३१ बर्षिय राजकुमार भनिने कुमार परियार पक्राउ परेका छन् । मृगौला तस्करीमा संलग्न मध्ये अन्य केहिको प्रहरीले खोजी गरिरहेको छ ।
पक्राउ गरिएकाहरुले हरेक साता भारतका विभिन्न अस्पतालमा नेपालीलाई नक्कली नागरिकता उपलब्ध गराउँदै आफन्त नाता देखाएर मृगौला विक्री गरिरहेको बताएका छन् । बनेपा नगरपालिका ५ का युवालाई दिपक श्रेष्ठ नामको नागरिकता तयार गरी भारतको कोलकत्ता स्थित यामआरआई अस्पताल मुकुन्दपुरमा कल्पना श्रेष्ठलाई मृगौला दिन लगाईएको थियो । ‘नाताले दिदी हो भन्न लगाएर दिपक श्रेष्ठको नागरिकता दिएर कल्पना श्रेष्ठलाई मृगौला प्रत्यारोपणमा सहभागि गराईयो’–पीडित युवाले भन्नुभयो–‘म समेत तीन जना नेपाली उक्त अस्पतालमा पु¥याईएको थियो । अहिले पनि सातामा चार जना नेपालीलाई भारतका विभिन्न अस्पतालमा पु¥याउने गरेको जानकारी छ ।’ पक्राउ परेकाहरु दुबै जना आफन्त हुन् ।
कसरी हुन्छ मृगौला तस्करी ?
प्रहरी, स्थानीय र जनप्रतिनिधिको सकृयतामा मृगौला तस्करी मध्येका तीन जना पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नम्वर ५ चप्लेटीका २८ बर्षिय युवाले मृगौला विक्री गरेर आएको रकम विभिन्न शिर्षकमा खर्च गरेका छन् । उनका दाजुले पनि ४ लाख रुपैयाँ लिएर २०७२ सालको भुकम्प अघि मृगौला विक्री गरेका थिए । उनी अहिले पात्लेगाउँ स्थित दाहाल डाँडामा बस्छन् । ससुरालीकै जग्गा कमाएर बसेका दाजुको मृगौला विक्री गर्ने दलाल खोजी गरी कानुनी कारवाही गराउने योजनामा थिए । दाजुको न्यायका लागि लड्ने योजनाका साथ भारत पुगेका आफैले मृगौला विक्री गर्न बाध्य भएको प्रहरीमा दिएको जाहेरीमा भनेका छन् । युवाले मृगौला विक्री गरेर प्राप्त गरेको ५ लाख रुपैयाँबाट घर खर्च चलाउँदै गरेको बताए ।
कोशीपारी स्थित भुम्लु गाउँपालिका वडा नम्बर ८ घर भएका सुरेश परियार र उनका भाई कुमार परियार बनेपा नगरपालिका वडा नम्वर ५ मा बंगुर पाल्दै आएका छन् । कुमार आफै पनि मृगौला विक्री गरेर फर्केका हुन् । पाँचखाल नगरपालिका साविक देवभुमी बालुवा गाविस घर भएका कुमार परियार र सुरेश परियार नाताले साढुभाई हुन् । उनिहरु सबैजना पहिले ईट्टा भट्टामा काम गर्दथे । त्यतिबेला देखि नै बनेपा ५ रविओपीका युवासँग चिजजान भएको थियो । तिनै युवालाई पछ्याउँदै बसेका कुमारले युवाको दाईको मृगौला पनि विक्री गराई दिएका थिए । छिमेकी देश भारत पु¥याई मृगौला विक्री गरिदिए बापत उनिहरुले थोरै रकम लिँदै आएका छन् । दलालहरुको यस्तो समुह जिल्लाका विभिन्न स्थानमा सक्रिय छ । सुरेशको नाममा भाई कुमारले हरेक घटनामा जोड्दै आएका थिए ।
२०४९ मसिंर १३ गते साविक रविओपी गाविस ७ हाल बनेपा नगरपालिका वडा नम्वर ५ चप्लेटी घर भएका युवाको बाल्यकाल संर्घषमै वित्यो । ५ दाजुभाई र तीन दिदीबहिनी मध्ये उनि काईलो हुन् । बुबाले सानै देखि पिटेका कारण उनि विद्यालय जान सकेनन् । दाजुहरु पनि विद्यालय जाने अवसर प्राप्त गरेनन् । बुबाकै नाममा भएको ३ रोपनी २ आना जग्गा कमाएर खान पनि धौ धौ छ । बाबुका दाजुभाईका नाममा रहेको ७ रोपनी जमिन अंश लगाउनै बाँकी छ । दाजुहरु पनि आफ्नो आफ्नो गरी खान घर छाडेर हिडेका छन् । जेठो दाजु परिवार सहित काठमाडौमा मजदुरी गर्छन् । माईलो दाजु बालकुमारी तिर काम गर्छन् । साईलो ३३ वर्ष दाजु ससुराली गाउँमा जग्गा कमाएर बसेका छन् । कान्छो भाई ग्रिल पसलमा काम गर्दै अध्ययन गरिरहेका छन् । एकै घरका दुई जनाले मृगौला विक्री गरी जीवन धानिरहेको युवाले बताए ।
७/८ वर्षको उमेरमा उनलले घर छाडे । सिन्धुपाल्चोकको इर्खु भन्ज्याङ्गमा गाई चराउने गोठालेको रुपमा काम गरेर बसे । गोठाले बसेको घरका जेष्ठ सदस्य वित्नु भए पछि उनले त्यो घर छाडे । ४/५ वर्ष पछि उनी काठमाडौको इट्टा भट्टामा काम गर्न थाले । भट्टामा काम नभएको बखत उनी होटलमा भाँडा माझ्दै आएका थिए । केहि समय ग्रिल पसलमा काम गरे । त्यहि समयमा दाजुको ससुराली गाउँकी युवतीसँग प्रेम प¥यो । उनि १८ वर्षकी थिईन युवाले त्यहि उमेरमा विवाह गरे । काठमाडौमा रहँदा दाजु मादक पदार्थ सेवन गर्थे । एक दिन रक्सि खाएर सडकमै लडेको बेला दाजुको पेटमा चिरेको उनले देखे । मृगौला विक्री गरी दाजुले ४ लाख रुपैया ल्याएको त्यहि बेला सुने । दाजुको मृगौला विक्री गर्ने गिरोह पक्राउ गर्न गिरोहसम्म पुगेर जानकारी लिने सोच बनाए । खोज्दै जाँदा थाहा भयो दाजुको मृगौला विक्री गर्ने समुह भक्तपुरको मञ्जुश्री इट्टा भट्टामा काम गर्ने त्यहि कुमार थिए । अरु गिरोह पक्राउ गर्ने योजनामा कुमारसँगको सम्बन्धमा उनी फसे ।
सुरेश अहिले बनेपा ५ मा हर्केको जग्गा भाडामा लिएर बंगुर फार्म संचालन गरिरहेका छन् । कुमार फरार थिए । उनी विरुद्ध अन्य ब्यक्तिहरुको पनि मृगौला विक्री गराएको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएको छ । २÷३ महिना देखि युवा र सुरेशले भेट गरेका थिएनन् । भेटमा पनि सुरेश बोल्दैनन् । नेपाल आएर उनलेले केहि समय ज्यामी काम गरे । सुरेशको श्रीमती विरामी भएको बखत दिएको सापटी १३ हजार रकम युवालाई सुरेशले अझै फिर्ता गरेका छैनन् । तिनै सुरेशले उनलाई दुई किस्तामा मृगौला विक्री गराए बापतको ५ लाख दिएका थिए । पाँच लाख मध्ये १ लाख ५० हजारको हाते ट्रयाक्टर किनेर भाडामा चलाउन दिएका छन् उनले । युवाले १ लाख अन्य सापटीमा दिएका छन् । बाँकी रकम घरमा ओढ्ने ओछ्याउने किनेका छन् । जस्ताको टहरो बनाए । ३ महिनाको सुत्केरी श्रीमती छिन् । पेटमा चिरिएको घाउ दुख्ने डरले गाह्रो गहुँ्रगो काम गर्दैनन् । १९ बर्षकी श्रीमती भएकाले विवाह दर्ता हुँदैन । थप ब्यवसायका लागि उनीसँग नयाँ योजना छैन ।
कुमार र सुरेशले युवाको भक्तपुरको एउटा नीजि ल्याबमा ब्लड टेस्ट गराए । त्यसको केहि दिन पछि उनलाई काठमाडौ पु¥याए । कलंकी पुगे लगत्तै अर्का एक ब्यक्ति गाडीमा चढे । उनी साताको एक पटक नेपालबाट चारजना भन्दा धेरै ब्यक्ति लिएर भारतका विभिन्न अस्पताल पुग्ने गरेका छन् । विरगञ्ज पुगे लगत्तै बोर्डरमा खोला नै खोला पारी पु¥याए । भारत लगेको केहि दिनसम्म युवालाई एउटा कोठामा राखेर अरु फरार भए । भारत पुगे पछि तिनै युवाले अलपत्र परेकी एउटी युवतीलाई नेपाल फर्काउन सहयोग गरे । उनिसँग साथमा पैसा नभएकाले चार दिनसम्म खान पाएनन् । भागेर नेपाल आउने तयारीमा रहेका युवाले फोन गरेर आफुलाई त्यहाँ पु¥याउने समुहका सदस्यहरुलाई धम्क्याए । केहि दिनपछि उनलाई लिन नौला मान्छे आए । धम्क्याए । मृगौला दिनुपर्छ भने पछि उनि आत्तिए । विकल्प केहि थिएन । नेपाल नै घर बताउने प्रदिप बैद्य मार्फत कल्पना श्रेष्ठलाई मृगौला दिन उनको नक्कली नागरिकता बनाईदिए । दिपक श्रेष्ठको नामबाट जारी नागरिकता लिएर उनले मृगौला विक्री गरे । केहि दिनको अस्पताल बसाई पछि प्रदिप बैद्यकै घरमा तीन महिना बसे उनी । भारतको मुकुन्दपुर र ठकुरीयामा त्यो अस्पताल रहेछ । धेरै पहिचान गर्न सक्दैनन उनि । तीन महिना पछि नेपालमै पैसा आउने भन्दै उनलाई घर फर्काई दिए । घर आएको केहि समय पछि सुरेश परियारले दुई किस्तामा उनलाई पाँच लाख बुझाए । तर प्रहरीको अनुसन्धानमा सुरेश निर्दाेष देखिएका छन् ।
दाजुको मृगौला विक्री गर्ने गिरोह पक्राउ गर्ने योजनामा भारत पुगेका उनी आफै मृगौला विक्री गर्न बाध्य भए । फर्केर आफन्तलाई समेत भन्न सकेनन् । माईतीमा लगेर छाडिएकी श्रीमती घर फर्काए । गर्भवती श्रीमती छाडेर उनी भारत पुगेका थिए । सानो जस्ताको टहरा बनाए । आमालाई सबै घटना बताएपछि डाँको छाडेर रुनु भयो । तत्कालै आमाले वडा अध्यक्ष बलराम अधिकारीलाई भेटन पुग्नु भयो । प्रहरीलाई तत्कालै खबर भयो तर उनि लामो समयसम्म फरार थिए । २०७७ चैत्र महिनामा उनी भारतबाट फर्किएका थिए । त्यसलगत्तै उनले ग्रिल पसलमा काम गरे । त्यहाँ पनि नियमित पैसा नभए पछि घर फर्किए । दुःख गर्दा पनि पैसा कमाउन नसके पछि प्रलोभन र दबाव दुबैमा मृगौला विक्री गर्न बाध्य भएको उनले बताए । ६÷७ वर्ष अघि मृगौला विक्री गरेर फर्किएका दाजुले त्यस्तो काम गर्नु हुँदैन भन्नु भएको भए पनि उनले रोक्न सकेनन् । भारतबाट भागेर आउँदा मार्देलान् भन्ने डर भयो । परिवार पाल्नैै धौ–धौ भएका उनले विक्री गरेको मृगौलाबाट प्राप्त पैसामा खरिद गरेको ट्रयाक्टरबाट मासिक आउने केहि रकम मुख्य श्रोत बनेको छ । उनी अहिले दलालहरुलाई कारवाही गरी पीडितहरुलाई सहयोगको अपेक्षामा छन् । स्वास्थ्यमा समस्या नदेखिएको भए पनि भारी बोक्न र गाह्रो काम गर्न डराई रहन्छन उनी ।
प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले उक्त घटनाका बारेमा सुक्ष्म अनुसन्धान गरिरहेको बताउनु भयो ।





