‘दुई तिहाईको हुर्मत लिंदै झुम्रा बटुलेर पुतली’
पूर्व मन्त्री गोकुल बास्कोटाले दु्ई तिहाई नजिकको सरकार आफ्नै पार्टीको विवादका कारण हट्नु परेको बताउँदै झुम्राहरु बटुलेर बनाएको पुतली सरकार पुरा समय टिक्नु पर्ने बताउनु भएको छ । पाँच वर्षलाई स्थायी सरकार बन्ने जनताका बीचमा गरिएको बाचा पार्टी भित्रकै अवरोधका कारण पुरा हुन नसकेको बास्कोटाले बताउनु भयो ।
‘परमादेश सरकारको स्थायीत्वको पक्षमा छौं’–पूर्वमन्त्री बास्कोटाले भन्नुभयो–‘एमालेको एकता कायम हुन्छ तर भँडुवाहरुलाई जान बाटो खुल्ला छ ।’ काभ्रेपलाञ्चोक जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा नै विजयी प्राप्त गरी आगामी चुनावमा पनि एमाले जिल्लाको पहिलो पार्टी बन्ने बास्कोटाले दाबी गर्नु भयो । काभ्रेपलाञ्चोक जिल्लाको विकासका लागि केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको बजेटको प्रसंशा गर्दै बास्कोटाले परमादेशद्वारा लोटरी लागेर बनेको काँग्रेस नेतृत्वको सरकारले थप बजेट विनियोजनका लागि सुझाव दिनुभयो । महाभारत ट्रेल, मदन भण्डारी विश्वविद्यालय, सुर्यविनायक धुलिखेल सडक खण्ड र धुलिखेल दोलालघाट सडक खण्ड, काभ्रेका महत्वपूर्ण परियोजना अन्र्तगत ललितपुर लाकुरीभन्ज्याङ्ग नमोबुद्ध सडक, बनेपा पनौती खोपासी सडक तथा अन्य पूर्वाधारहरु, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाई, विद्यालय निमार्णमा उल्लेख्य प्रगति भएको बताउनु भयो ।
पार्टीको विवादका सन्दर्भमा बोल्दै एमाले नेता समेत रहेका पूर्वमन्त्री बास्कोटाले एमाले ध्वस्त बनाएर कमण्डलु बोकेर जनताको घरमा जान खोजेका ब्यक्तिहरुलाई जवाफ दिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । ‘एमाले काभ्रेको अध्यक्ष अशोक ब्याञ्जु मात्रै हो, कसैलाई भ्रम नहोस्’–नेता बास्कोटाले भन्नुभयो’–धमाधम संगठित सदस्य नविकरण शुरु भएको छ । ६० जनाको कमिटीले गरेको निर्णय अबैद्यानिक भएर ३ जनाको कमिटी बैद्यानिक हुन्छ ?’ माधव नेपाल आएर तीन जनाको बैठक बस्नुपर्ने कस्तो बाध्यता ? त्यो पनि एमालेका कार्यकर्ताहरुसँग डराएर लुक्नु पर्ने ? बैठक बस्न आएका माधव नेपाललाई कालो झण्डा देखाउने डरमा युथफोर्सका कार्यकर्ताहरुबाट लुक्न नेपाललाई प्रहरीले स्पाईनल इन्जुरी अस्पताल तर्फ लगेको थियो । काभ्रे एमालेमा माधव नेपाल समुहका जिल्ला कमिटीमा तीनजना मात्रै छन् । बाँकी सबै कमिटी ओली समुहमा छन् । अहिले ९ हजार संगठित सदस्यको नविकरण र थप नयाँ सदस्य वितरण भईरहँदा नविकरण रोक्न नेपाल समुह सक्रिय भएको छ ।
प्रेस चौतारी नेपाल काभ्रेले साउन १५ गतेको अवसरमा सामुहिक खिर, सदस्यता वितरण, महासंघमा चौतारीबाट विजयी भएकाहरुलाई सम्मान तथा बधाई र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । सोहि कार्यक्रममा बास्कोटाले चुच्चे नक्सा, छिमेकी देश चीनसँग पारहवन सम्झौता तथा राष्ट्रबादी काम गरेकै कारण सरकारबाट हट्नु परेको दाबी गर्नु भयो । संचारमाध्यम र संचारकर्मीको निष्पक्ष भूमिकामाथी प्रश्न उठाउँदै पूर्व मन्त्री बास्कोटाले नेपालमा बार्गेनिङ्ग पत्रकारिता, पार्टी पत्रकारिता र प्रोजेक्ट पत्रकारिता फस्टाउँदै जाँदा कोभिड जस्तो महामारीमा पनि श्रमजीवी पत्रकारहरु गलहत्याउन पुगेको बताउनु भयो । श्रमजीवी पत्रकारहरुको पारिश्रमिक बृद्धि गर्दा, बृत्ति विकासका लागि अभियान शुरु गर्दा सरकार निरंकुश भएको देख्ने संचारकर्मी र संचारमाध्यमहरुको चेत अझै नखुलेको उहाँको दावी थियो । केपी ओली नेतृत्वको सरकारलाई एमसीसी संसदमा प्रस्तुत गर्नै नदिनेहरुले एमसीसीको बारेमा ब्याख्या गरेको विषय मिडियाका लागि चासो नभएको बास्कोटाले बताउनु भयो । ‘हिजो राष्ट्रघाती देखिएको एमसीसी आज राष्ट्रवादी हुन सक्छ ?’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘अरुलाई थापेको पासोमा आफै परेपछि थाहा भयो होला विराआई के हो ? एमसीसी अब के हुन्छ ?’
कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले काभ्रेको विकासका लागि संघ र प्रदेश सरकारबाट विनियोजन बजेट पर्याप्त भएको बताउनु भयो । न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड जस्तो महामारीमा पनि संचारमाध्यमहरुले संचारकर्मीहरुलाई तोकिएको पारिश्रमीक समेत उपलब्ध नगराएर श्रम विरुद्ध कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, खानीखोला अध्यक्ष कृष्ण खुलाल, मण्डन देउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, चौतारी काभ्रेका संस्थापक अध्यक्ष सुरेश हुमागाई, जिल्ला अध्यक्ष भुवन रायमाझी, नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष विनोद न्यौपाने, चौतारीका जिल्ला सह संयोजक रामसुन्दर आचार्य, सचिव जगत तामाङ लगायतले प्रेसले दिने सन्देशमा पूर्ण ब्यवसायीकता आवश्यक भएको बताएका थिए ।
चौतारीको भब्य कार्यक्रम
खिर खाने कार्यक्रमको अवसर पारी चौतारीले सदस्यता वितरण गरेको थियो । सदस्यतासँगै सदस्यहरुलाई परिचयपत्र र टिसर्ट वितरण गरी सांगठनिक प्रशिक्षण दिईएको थियो । अध्यक्ष भुवन रायमाझीले संगठनले कोभिड महामारीका बेला विपद् कोषको स्थापना, साथीहरुको उपचारमा सहयोग र समन्वय गरेको बताउनु भयो ।





