2026 July 07/ 08:26: 12am

‘बिरामी बचाउन धुरु धुरु रोयौं’ 
    ‘त्यो दिन सम्झन चाहन्नँ । अक्सिजन सकिए पछि विरामीहरुको चिच्याहट शुरु भयो । हामी विरामीसँगै चिच्याउनुको विकल्प थिएन । अक्सिजन सकिएर भेन्टिलेटरमा राखिएका विरामीहरु चिच्याउन थालेका थिए । कतिसम्म भने अक्सिजन पनि आलोपालो चलाउनु पर्ने अवस्था आयो । 
    बिरामीसँगै हामी पनि धुरुधुरु रोयौं । यस्तो विषम परिस्थितिमा पनि निरन्तर विरामीको सेवा गरि नै रह्यौं’–धुलिखेल अस्पतालको कोभिडको आईसियुमा कार्यरत नर्स अनिषा न्यौपानेले भन्नुभयो–‘कोभिडका विरामी आउँदा शुरुमा आफै आत्तिएको अवस्था थियो । विस्तारै विरामीसँग खेल्दै गयौं दोश्रो चरणको संक्रमणमा भएको अक्सिजनको अभावले विरामीसँग रुनुको विकल्प थिएन ।’ धुलिखेल अस्पतालले जुलाई २९ लाई कोभिड डे बनाउन शुरु गरेको छ । जुलाई २९ का दिन अस्पतालमा भर्ना भएका कोभिडका विरामी डेढ महिनाको लामो उपचार पछि निको बनाएर घर फर्काउन सकेको उपलक्ष्यमा पु¥याउने स्वास्थ्यकर्मी, अस्पतालका अन्य क्षेत्रका ब्यक्तिहरुलाई धन्यवाद दिएको छ । बैदेशिक रोजगारबाट फर्किदै गर्दा बाटोमै विरामी परेका सिन्धुली घर भएका ४७ बर्षीय विरामीलाई कोभिडसँगै अन्य रोग पनि थियो । साथै कोभिड रोकथामका लागि सक्रिय ब्यक्तिहरुको अनुभव आदान गरेको थियो । 
    संक्रमण रोकथामका लागि भएका प्रयास, समस्या र आगामी दिनको योजनाका बारेमा अस्पतालले गरेको तयारीका बारेमा जानकारी गराईएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले विगतका अनुभवलाई आगामी दिनमा अझै सुधार गर्दै लैजाने बताउनु भयो । ‘गुमाएका ब्यक्तिहरुलाई सम्झेर लम्पसार पर्ने भन्दा पनि बचाउन सकिएका मान्छेहरुलाई सम्झेर खुशी हुँदै अघि बढ्नुपर्छ’–कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले भन्नु भयो–‘तेश्रो चरणको संक्रमण फैलियो भने त्यससँग लड्ने गरी तयारीमा छौं ।’ धुलिखेल अस्पतालमा दोश्रो चरणको संक्रमणमा उपचारको क्रममा १ सय ४२ जनाको कोभिडका कारण निधन भएको डा. दिपेश ताम्राकारले बताउनु भयो । उपचारका लागि भर्ना भएका ७ सय ७३ जना मध्ये २४ जना आफ्नै ब्यवस्थापनमा अन्यत्र गएका थिए भने २० जनालाई रिफर गरिएको थियो । ५ सय ४९ जना निको भएर फर्किएका छन् भने अझै ३८ जना अझै उपचारार्थ छन् । अघिल्लो चरणमा ५ सय ३४ जना भर्ना भएकोमा ४१ जनाको निधन भएको थियो । ४ सय ९३ जना निको भएर फर्किएका थिए । २९ जनालाई आईसियुमा राखेर उपचार गर्नु परेको डा. दिपेश ताम्राकारले बताउनु भयो । कोभिडका बेला अस्पतालबाट होम आईसोलेसनमा रहेका विरामीहरुलाई परामर्श दिएको, एसएमएस तथा अन्य माध्यमबाट सहयोग पु¥याएको डा. आभा श्रेष्ठले बताउनु भयो । सोहि अवसरमा डा. शिव ओम चौरासिया, स्रिजेश पराजुली लगायतले कोभिड १९ मा विरामीहरुको सेवामा काम गर्दा भोगेको अनुभव सहभागीहरु बीच ब्यक्त गर्नु भएको थियो । विरामी र विरामीका आफन्तहरुले कोभिडसँग जुध्न गरेको अनुनय विनयबाट पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो र परिवारको भन्दा विरामीलाई निको बनाउने दायित्व निर्वाह गरेको अनुभव सुनाउनु भयो । 
    सोहि अवसरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा लगायतले धुलिखेल अस्पतालले महामारी नियन्त्रण गर्न खेलेको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । कोभिड संक्रमणबाट नेपालमा पहिलो पटक धुलिखेल अस्पतालमा उपचारार्थ विरामीको निधन भए पछि शुरु भएको अत्यासलाग्दो महामरीको दोश्रो चरणको संक्रमणमा पनि अस्पतालले नागरिकहरुलाई यथेष्ठ सेवा उपलब्ध गराएको बताउनु भयो । कार्यक्रममा काठमाडौ विश्वविद्यालयका डिन डा. राजेन्द्र कोँजुले महामारीमा आफु रोई रोई स्वास्थ्यकर्मीहरुले पु¥याएको सेवा, निरन्तर पिपिई भित्र बसेर ७२ घण्टा पु¥याएको सेवा, विकास हुँदै गएको प्रविधि र नयाँ रोगको नयाँ औषधीमा हुनु पर्ने अपडेटका बारेमा ध्यान दिन अनुरोध गर्नुभयो । पछिल्लो समय स्वास्थ्यकर्मीलाई सन्तुष्ट बनाईराख्न गर्नुपर्ने ब्यवस्थापनका बारेमा समेत चुनौती बन्दै गएको बताउनु भयो । अस्पतालका सर्भिस निर्देशक डा.राम गुरुङ्गले जस्तोसुकै विपत्तिमा पनि स्वास्थ्यकर्मीले उपलब्ध गराउनु पर्ने सेवा धुलिखेल अस्पतालले दिएको बताउनु भयो । अस्पताललाई महामारीका बेला सहयोग पु¥याएको भन्दै अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले जुलिया माकजु मार्फत माकजु परिवारलाई सम्मान गर्नु भएको थियो ।