बनेपा/हंसदा योग आश्रम बनेपा १० जनागालमा स्वामी निलकण्ठ बाबालाई प्रमुख संरक्षकका रुपमा पट्टाभिषेक अर्पण गरिएको छ । आश्रमाधीश स्वामी सचिदानन्द विशुद्धदेवका शिश्य बालयोगी स्वामी निलकण्ठ बाबालाई गुरु पुर्णीमाको अवसर पारी प्रमुख संरक्षकका रुपममा पट्टाभिषेक गराईएको हो । आश्रमाधीश स्वामी सचिदानन्द ब्रम्हलिन भईसक्नु भएको छ ।
पञ्चकन्याहरु, हंसदा योग आश्रम ब्यवस्थापन समितिका सदस्यहरुले निलकण्ठ बाबालाई स्वागत गर्नु भएको थियो । यसअघि आश्रममा ब्यवस्थापक तथा अध्यक्षका रुपमा ऋषिकुमार पञ्चशिलले जिम्मेवारी बहन गर्दै आउनु भएको थियो । बनारसमा २० वर्ष अध्ययन गरेर फर्कनु भएका निलकण्ठ बाबाले आश्रममा रहेर आध्यात्मिक ज्ञानको वकालत गर्नु हुनेछ । आश्रममा कोभिड नहुँदा दैनिक ध्यान र योगका लागि देश तथा विदेशबाट नागरिकहरु आउने क्रम थियो । उहाँहरुले स्वेच्छिक दिनुभएको शुल्कबाट संचालन भईरहेको आश्रममा निर्माण भएका केहि पूर्वाधारहरुमा स्थानीय सरकारले पनि साझेदारीता जनाएको छ । २०४५ सालमा स्वामी सचिदानन्द विश्वदिपले केहि वर्ष पछि सबैको घर घरमा योग पुग्ने र योगकै माध्यमबाट ब्यक्तिलाई निरोगी बनाउनुपर्ने उद्घोष गर्नु भएको थियो । उहाँले जिल्ला जिल्लामा आफ्ना शिष्यहरु पठाएर योगबाट बारेमा सुनाउनु भएको थियो । अहिले पनि स्वामीहरुले अनलाईन मार्फत देश विदेशमा योग र ध्यानको प्रवचन दिईरहनु भएको छ ।
के हो हंसदा योग आश्रम ?
२०३८ सालमा स्वामी रामले जनागालको उक्त स्थानमा स्थानीयहरु बद्रिनाथ आचार्य सहितको टिमसँग २२ रोपनी जमिन लिनु भएको थियो । त्यहि जमिनमा स्वामी रामले २०३८ सालमा केहि भवनहरु निर्माण गर्नु भयो । आश्रमका लागि निर्माण भएका भवनहरुमा ध्यान हुन थाल्यो । योग र ध्यानसँग सम्वन्धित अस्पताल निर्माण गर्ने योजनाका साथ लिईएको जग्गामा अस्पताल बन्न सकेन । उक्त अस्पताल भारतको कस्मिरमा बन्न पुग्यो । खरिद गरिएको जग्गा गोपालबहादुर शाही, प्रभालक्ष्मी दिक्षित र जुना थापाका नाममा पास गरिएको थियो । दरबारबाट सञ्चालित शाहि, दिक्षित र थापाले उक्त स्थानमा थप योजना निर्माण गरी कार्यान्वयन गर्नु भएन । तर पनि जिम्मेवारीका हिसाबले गोपालबहादुर शाहीले उक्त जग्गा र आश्रमको रेखदेख गरिरहनु भयो ।
स्थानीयहरुको सक्रियता शुरु भए सँगै उक्त आश्रममा स्वामी सचिदानन्दलाई आश्रमको जिम्मेवारी प्रदान गरियो । स्वामी रामले सुम्पनु भएको जिम्मेवारीलाई सचिदानन्दले पुरा गर्नु भयो । उहाँले तयार गर्नु भएका शिश्यहरु अहिले विभिन्न स्थानमा हुनुहुन्छ । ति मध्येका निलकण्ठ बाबा एक हुन् । मस्तिकमा समझदारी, काँधमा जिम्मेवारी र ह्दयमा इमान्दारी भन्ने मुल मन्त्र बनाएर आश्रम संचालन गर्नु भएका स्वामी सचिदानन्द विश्वदिप २०५७ सालमा ब्रम्हलिन हुनु भयो । मुलुकमा रजनीतिक परिवर्तन भएसँगै ब्यक्तिका नाममा भएको उक्त जग्गा हंसदा योग आश्रमका नाममा नामसारी भयो । २०६२÷०६३ सालमा ऋषिकुमार पञ्चशिल प्रमुख र प्राणमूर्ति समेतको संयोजनमा आश्रम संचालन भईरहेको छ । स्वामी सचिदानन्दसँग रहनु भएका कल्याणमित्र, सुशिल, निलकण्ठ लगायत अहिले विभिन्न स्थानमा हुनुहुन्छ । ९ वर्षको उमेरमा बाबा सचिदानन्दसँग रहनु भएका निलकण्ठलाई गुरु पूर्णिमाको अवसर पारी स्वामी सचिदानन्द विश्वदेवकै स्थान र हैसियतमा पदस्थापन गरिएको हो ।
आश्रममा योग, ध्यान, प्रवचन, अखण्ड होम र अखण्ड दिप नियमित संचालन भईरहेको संचालक समितिका कोषाध्यक्ष माया बादेले बताउनु भयो । अखण्डदिपका लागि स्वर्गद्धारीबाट बलिरहेको दिप आश्रममा ल्याईएको थियो । त्यतिबेला योग र ध्यानको प्रचार गर्ने उदेश्यले ५५ वटा जिल्लामा चरित्र निर्माण संघ समेत गठन भएको थियो । ‘समाजमा कुनै न कुनै कारण तनाव ब्यहोरेका नागरिकहरु आश्रममा आएर ध्यान र योग गरे लगत्तै सामान्य अवस्थामा फर्कनु भएको छ’–कोषाध्यक्ष माया बादेले भन्नुभयो–‘ब्यक्तिलाई योग र ध्यानको माध्यमबाट तनावमुक्त गराउनु आश्रमको मुख्य उदेश्य हो ।’ आश्रममा योग गराउने हलको ब्यवस्थापन गरिएको छ भने ध्यान गर्न आउनेहरुका लागि अलग्गै कोठाको ब्यवस्थापन गरिएको छ । एक पटकमा ७ जनासम्म बस्न सकिने गरी ध्यानको प्रवन्ध गरिएको छ । विदेशीहरु पनि आश्रममा आएर केहि दिन बसेर फर्कने गरेका छन् । उनिहरु ध्यानमा रहँदा बस्दा आश्रममले गरेको ब्यवस्थापनको खर्च स्वेच्छिक छ । त्यहि स्वेच्छिक खर्चले आश्रम संचालन भईरहेको कोषाध्यक्ष माया बादेले बताउनु भयो ।
आश्रममा शिव मन्दिर बनाउने योजना रहेको संचालक समिति सदस्य बच्चुराम आचार्यले बताउनु भयो । स्थानीयहरुको अथक प्रयास र सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । वडा अध्यक्ष चन्द्रकुमार खड्काले आश्रममा जाने सडक निर्माणका लागि बजेट विनियोजन गरिदिनु भएको छ भने आश्रममा निर्माण भएको सिँढीमा पनि बजेट समावेश गरिदिएको उहाँले बताउनु भयो । आश्रमलाई भु–क्षयीकरणबाट बचाउन तत्काल तारजाली सहितको वाल निर्माण र अन्य केहि संरचना निर्माणको आवश्यकता रहेको अध्यक्ष ऋषिकुमार पञ्चशिलले बताउनु भयो ।
गुरु पुर्णिमाको अवसर पारी आश्रममा यज्ञ हवन, पाँच जना बटुकद्वारा लघु रुद्री, भगवतीको पुजा गरिएको ऋषिकुमार पञ्चशिलले बताउनु भयो ।





