2026 July 07/ 07:16: 02am

नमोबुद्ध, पिपलटार/कृषि र पशुपालन ब्यवसायबाट ब्यक्तिको जीवन मात्रै नभई वडा, नगर र जिल्ला समृद्ध बनाउन सकिने अठोट लिएर एलिस्का कृषि फार्म शुरु गरेका नमोबुद्ध नगरपालिका वडा नम्वर ८ पिपलटारका ३२ बर्षीय युवा दिपेशचन्द्र तामाङ उदाहरणीय बनेका छन् ।
    सामान्य किराना पसल हुँदै धान कुट्ने मिल शुरु गरी ब्यवसायको प्रारम्भ गरेका दिपेशचन्द्रले गाउँको अन्न बाहिरीन थाले पछि बाख्रा पाल्ने योजना बनाएका थिए । धान मिल संचालन गरी गाउँमा विक्री हुने धान संकलन गर्ने र कुट्ने अनि चामल विक्री गरेका दिपेशचन्द्रको मिलमा काठमाडौं देखि चामलको माग हुने गरेको छ । ‘गाउँमा विक्री गर्ने राखिएको धान संकलन गरी चामल विक्री हुँदा दोहोरो फाईदा रहेछ’–युवा दिपेशचन्द्र तामाङले भने–‘धान विक्री हुँदा आउने पैसा र चामल विक्री गर्दा आउने पैसामा अन्तर मात्रै छैन ढुटो समेत थप आम्दानीको श्रोत बनेको छ । गाउँमा कुखुरा पाल्ने कृषकहरुका लागि भुस पनि त्यहि मिलबाट उपलब्ध हुने गरेको छ ।’ बुबा शिक्षण पेशामा आबद्ध भए पनि छोराको योजना र ब्यवसायमा हतपत्त विश्वास भएको थिएन । अहिले ब्यवसायको सहयोगी छन् ।
    दिपेशचन्द्रले मिलसँग बाख्रापालन ब्यवसाय शुरु गरे । शुरुमा थोरै बाख्राबाट शुरु गरेको फार्ममा यतिखेर ५० वटा माउपाठा छन् । केहि दिनमा ९० वटा पुग्ने दिपेशले बताए । ६५ वटा मध्ये १५ वटा खसी केहि दिन अघि निषेधाज्ञाकै अवधिमा विक्री गरी आम्दानी गरेका दिपेशले ब्यवसायको चक्र बनाएका छन् । एउटा ब्यवसायको सम्बन्ध अर्काेसँग जोडेर आम्दानी र खर्चसँगै प्राप्त मुनाफालाई थप लगानी गरिरहेका छन् । बाख्रापालनमा खोर निर्माण तथा बाख्रा खरिदका लागि झण्डै २० लाख लगानी भएको छ । बाख्रापछि उनले भैसी फार्म शुरु गरे । उनको फार्ममा अहिले ८ वटा भैसी छन् । भैसी र गाईको फार्म शुरु गरेसँगै तरकारी खेति शुरु गरेका दिपेशचन्द्रको दैनिकी विहान देखि साँझसम्म फार्महरुको रेखदेखमै वित्ने गरेको छ । ‘भैंसीको दुध कम आउँछ तर पनि महङ्गो छ, गाई पनि पालेपछि दुबै दुध मिसाएर विक्री गर्दा फाईदा हुन्छ’–दिपेशचन्द्रले भने–‘गर्दा के नहुने रहेछ र ? गाई भैंसीको दुध मात्रै होईन त्यहाँबाट उत्पादन हुने मल कृषिका लागि उपयुक्त छ ।’ खेतीका लागि फार्म महत्वपूर्ण सहयोगी बनेको छ । पशुपालनका लागि उनले जग्गा भाडामा लिएर घाँस लगाउन शुरु गरेका छन् । नत्र तराईको तयारी भुस्साकै भर पर्नुपर्ने बाध्यता छ । 
    उनले शुरु गरेका फार्ममा सकेसम्म पालिका वरपरकै बस्तुहरु मात्रै राखिएको छ । हावापानी सुहाउँदो बस्तुहरु हुँदा सहज हुने उनको विश्वास छ । आफै प्राविधिक नभए पनि प्रविधि अनुसार साथीहरुको सहयोगमा कृषि र पशुपालनका प्राविधिकहरुले उनको फार्ममा सहयोग पु¥याएका छन् । समय–समयमा आउने विभिन्न खालका रोगहरुको नियन्त्रण गर्न दिपेशचन्द्रले उनिहरुकै साथ पाएका छन् । ७ रोपनी आफ्नो जमिन भए पनि बाँकी ३२ रोपनी जमिन भाडामा लिएर ५० वटा टनेल राखेका दिपेशचन्द्रले गोलभेडा खेती गरेका छन् । यस अघि दुई सिजन गोलभेडा विक्री गरेका दिपेशचन्द्रलाई गुणस्तरीय सामान उत्पादन गर्दा मुल्य नपाईला भन्ने डर छैन । तर स्थानीय सरकारप्रतिको गुनासो भने अथाह छ । गोलभेडाको टनेल निर्माणका लागि तराईबाट बाँस खरिद गरिएको छ । स्थानीय सरकारले एउटा टनेलको लागि प्लास्टिक समेत उपलब्ध गराएको छैन । भाडामा लिएको जग्गाको बार्षिक रकम बुझाउनु पर्छ । दैनिक १० जना ब्यक्तिहरु उनको फार्ममा रोजगारमा छन् । 
    रोशी खोला देखि फार्मसम्म ५ सय मिटर लामो दुरीको पानी आफ्नै लगानीमा तानेर सिंचाई गरिरहेका दिपेशचन्द्र जस्ता युवा कृषकलाई सहुलियत ऋण बैकले त दिएन दिएन स्थानीय सरकारले पनि कुनै खालका अनुदान उपलब्ध गराएको छैन । ‘अनुदान लिनका लागि मात्रै खेती शुरु गरेको हैन, नमुना फार्म निर्माण गरी थोरै रकम कमाउन विदेशिनु पर्ने युवाहरुका लागि स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिन चक्रखालको सबै प्रकारका ब्यवसाय शुरु गरेको हुँ’–दिपेशचन्द्रले भने–‘हरेक ब्यवसायमा सफल र सन्तुष्ट छु ।’ दिपेशचन्द्रले उक्त फार्ममा ब्यक्तिगत ऋण लिएर झण्डै १ करोड लगानी गरिसकेका छन् । फार्ममा गरिएको ब्यवस्थापकीय लगानीले युवाहरुको सशक्तिकरण, सिप विकासमा सहजीकरण र राज्यले उपलब्ध गराउने सहुलियत अनुदान सहि स्थानमा खर्च हुन सके दैनिक विदेशिएका युवाहरुलाईं रोक्न सकिन्थ्यो कि भन्ने उदाहरण दिपेशचन्द्रबाट देखिएको छ ।