५ वर्षमा २ हजार २ सय १२ जनाको मुद्दा
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा २०७३ साउन १ देखि २०७८ बैशाख मसान्तसम्मको पाँच वर्षको अवधीमा १ हजार १ सय ६ जनाले सम्बन्ध विच्छेद गरेका छन् । जसमा २ हजार २ सय १२ जना सहभागी छन् ।
जेठ र असार महिनामा निषेधाज्ञाको अवधिमा समेत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । विवाह गरेको तीन दिनमै सम्बन्ध विच्छेद भएको छ भने विवाह गरेर परिवारसँग बसेको ६३ वर्ष पछि पनि सम्बन्ध विच्छेद गरिएको छ । उमेरका हिसाबले ७८ वर्षका जेष्ठ नागरिकले पनि सँगै बस्न नसकेको भन्दै सम्बन्ध विच्छेद गरेका छन् । एमाले जिल्ला कमिटीको बैठकले नविकरणको कार्य साउन पहिलो साता भित्र सम्पन्न गर्ने गरी सर्कुलर गरेको थियो । ‘जिल्लाभर रहेका संगठित सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको धमाधम अभिलेखिकरणको कार्य भईरहेको छ’–एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘केहि दिन भित्रै सबै कार्य सम्पन्न हुनेछ ।’
जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उप सचिव गोविन्द्रप्रसाद घिमिरेले सम्बन्ध विच्छेद सम्बन्धी पाँच वर्षको प्रारम्भिक अध्ययन गरिएको बताउनु भयो । अध्ययनका क्रममा संख्या, समुदाय, क्षेत्र, उमेर, विवाहको प्रकृति लगायतका विषय तयार गरिएको छ । अध्ययनलाई पू्र्ण रुप दिन अन्तिम तयारी गरिएको छ । जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुलीको संयोजकत्वमा भएको अध्ययनका क्रममा प्राप्त तथ्याङ्कहरुलाई अन्तिम रुप दिन थालिएको श्रेस्तेदार घिमिरेले बताउनु भयो । तथ्याङ्कको हिसाबले जिल्लाको सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा तेमाल गाउँपालिकाका रहेका छन् । मुद्दा दर्ता भएको संख्याका आधारमा हेर्ने हो भने तेमाल सबैभन्दा धेरै र खानीखोलामा सबैभन्दा कम सम्बन्ध विच्छेद हुने गरेको देखिएको छ ।
जातका आधारमा ५७ प्रतिशत आदिवासी जनजाति समुदायका ब्यक्तिहरुको सम्बन्ध विच्छेद भएको छ । अन्य समुदायका ४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । उमेरका हिसावले सबै भन्दा धेरै २० देखि ३० वर्ष उमेर समुहका ब्यक्तिहरुको सम्बन्ध विच्छेद भएको छ । ५७ प्रतिशत उक्त समुहमा सम्बन्ध विच्छेद गर्नेहरु छन् भने ३१ देखि ४० वर्ष सम्मका ३२ प्रतिशत र ४० वर्ष देखि ७८ वर्षसम्मका ब्यक्तिहरु सम्बन्ध विच्छेद गर्नेमा कम छन् । पालिकाका रुपमा सम्बन्ध विच्छेद गर्नेहरुको तथ्याङ्क पनि अदालतले तयार गरेको छ । विवाहको प्रकृतिका आधारमा प्रेम गरेर विवाह गर्ने महिलाहरु ८९.०९ प्रतिशत छन् भने पुरुष १०.०९ प्रतिशत छन् । विवाह गरेको ५ वर्ष देखि १५ वर्ष भित्र अधिकांश सम्बन्ध विच्छेदतर्फ उन्मुख भएको देखिएको छ ।
खानीखोला गाउँपालिकामा १.८९ प्रतिशत, महाभारतमा २.२९ प्रतिशत, बेथान्चोक ३.६८, भुम्लु ५.२७ प्रतिशत, मण्डनदेउपुर ५.३७ प्रतिशत, चौरीदेउरालीमा ५.३७ प्रतिशत, रोशी गाउँपालिकामा ६.८६ प्रतिशत, तेमाल गाउँपालिकामा ७.३६ प्रतिशत, पाँचखालमा ७.७५ प्रतिशत, धुलिखेलमा ८.७५ प्रतिशत, बनेपामा ९.२४प्रतिशत, नमोबुद्धमा १०.०४ प्रतिशत, पनौतीमा १०.५४ प्रतिशत, र अन्य जिल्लाका १५.६१ प्रतिशत मुद्दा दर्ता भएका छन् ।
जातका आधारमा आदिवासी जनजाति बादी भएर दर्ता भएका मुद्दाहरुको संख्या ५७.६ प्रतिशत रहेको छ । बाहुन समुदायमा बादी भएका २०.४८ प्रतिशत, प्रतिवादी भएका १४.२१ प्रतिशत, दलित समुदायमा बादी ६.१६ प्रतिशत र प्रतिवादी रहेका ६.३६ प्रतिशत र अन्य समुदायका बादी १.९९ प्रतिशत र प्रतिवादी १.८९ प्रतिशत रहेका छन् ।
शारिरीक तथा मानसिक यातनाका कारण सम्बन्ध विच्छेद गर्नेहरुको संख्या ८२ प्रतिशत रहेको छ । ८२ प्रतिशत महिलाहरुले आफुलाई शारिरीक र मानसिक यातना भएकाले सम्बन्ध विच्छेद गर्नु परेको बयान दिएका छन् । अदालतले तयार गरेका ३१ वर्ष प्रश्नावलीमा सहभागि सम्बन्ध विच्छेद गर्नेहरुले त्यस्तो उत्तर दिएका हुन् । खान लगाउन नदिएका कारण ६८.६९ प्रतिशत, ३ वर्षसम्म छाडेर बसेकोमा १२.९ प्रतिशत, दोश्रो विवाह गरेका कारण ४.७ प्रतिशत, अन्य महिला वा पुरुषसँग यौन सम्बन्ध राखेका कारण १.३९ प्रतिशत महिलाहरुले सम्बन्ध विच्छेद गरेको बताएका छन् । म्याद तामेली गर्न गएको अवस्थामा ७ सय ९० दिनसम्म हुन नसकेको देखिएको छ । ५७ प्रतिशत मुद्दामा ७ दिन भित्र तामेली भए पनि केहि मुद्दाहरु समयमै तामेली हुन नसकेको देखिएको छ । ९ सय ८६ वटा मुद्दा समयमै तामेली हुँदा पीडितहरुले समयमै न्याय पाउन सकेको देखिएको छ । दर्ता भएका मध्ये ६७ प्रतिशत मुद्दा मिलापत्रका आधारमा टुङ्गिएका छन् ।
सम्बन्ध रहँदा जन्मिएका बालबालिकाहरु सम्बन्ध विच्छेद पछि बाबु आमा दुबैले राख्न नचालेको संख्या १९ प्रतिशत छ । ६ प्रतिशत मात्रै अभिभावकहरु दुबैले आफ्ना सन्तान राख्न पाउँ भनेका छन् भने ४१ प्रतिशत बादी र ३४ प्रतिशत प्रतिवादीले दावी गरेका छन् । सम्बन्ध विच्छेदका लागि दर्ता भएका मध्ये ५२ प्रतिशतले माना चामल दावी गरेका छन् भने ४८ प्रतिशतले माग गरेका छैनन ।
प्रविधी, विकास र चेतनासँगै विकृति विसंगतिका कारण सम्बन्ध विच्छेदका घटनामा बढोत्तरी भएको छ । समाजमा खलल पु¥याउने गरी हुने घटनाहरुले सम्बन्ध विच्छेदलाई प्रशय दिएको छ ।





