2026 July 07/ 07:16: 01am

    धुलिखेल/अविरल परेको बर्षात्का कारण विपी राजमार्ग अवरुद्ध हुँदा २१ बर्षिया महिलाले सडकमै बच्चा जन्माउनु भएको छ । जन्मिएको बच्चाको बाबु अस्पस्ट भएकाले महिलाले जन्माएको बच्चा छाडेर हिडे पनि अलपत्र परेका यात्रुहरुको सहयोगमा प्रहरीले उद्धार गरेको छ । महिला र बच्चा दुवैको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । 
    ‘सडक अवरुद्ध भएर रोकिएको बसको यात्रुले सडकमै बच्चा जन्माएको सूचना प्राप्त भए लगत्तै प्रहरी उद्धारमा खटियो’–जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रिले भन्नुभयो–‘महिला र बच्चा दुवैको यात्रु र स्थानीयको सहयोगमा सकुशल उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।’ महिला र उनको बच्चाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख एसपी खत्रिले जानकारी दिनुभयो । महिला र बच्चाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सूचना अधिकारी हरि खतिवडाको टोली घटनास्थल पुगेको थियो भने रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, मंगलटार प्रहरी चौकी तथा अन्य सर्वसाधारणले पनि उद्धारका लागि सहयोग गरेका थिए । खोटाङ्ग घर भएकी २१ बर्षिया आशा राईले रोशी गाउँपालिकाको माम्ती खोला नजिकै पाखोमा शनिबार विहान बसबाट पिसाव फेर्न जाँदा बच्चा जन्माएर छाडेको अवस्थामा अन्य यात्रुहरुले फेला पारेका थिए । अलपत्र परेका अन्य यात्रुले बच्चाको साल नाल काटी दुध चुसाएर महिला र बच्चा दुबैको उद्धार गरेका थिए । 
के हो घटना ? 
    २१ बर्षीया आशा राई विवाहित हुन् । आशा हुँदा हुँदै उनका श्रीमानले दुईवटा श्रीमती विवाह गरिसकेका छन् । रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिलबस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लिभिङ्ग टुगेदरमा बस्न थाले । केटा उतै रहे आशा घर फर्कनु भयो । नेपाल फर्किए पछि सँगै बस्ने र विवाह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लिभिङ्ग टुगेदरमा रहेका साथि फर्किएनन् । आशा नेपाल आए लगत्तै खोटाङ्ग पुग्नु भयो ।
    प्रारम्भिक बयानमा आशाले पहिलो एक महिना मिन्स भएको बताउनु भएको छ । त्यसपछि महिनावारी नभएकाले बच्चा भएको शंका लागेर केटालाई फोन गरे पनि वेवास्ता गरेको बताउनु भयो । असार १८ गते शुक्रबार खोटाङ्गबाट काठमाडौ जान आशा बस चढ्नु भएको थियो । लगातारको बर्षातका कारण खोटाङ्गबाट माम्ति आउन रातको १२ बजिसकेको थियो । खाना विचमा खाएर बसमा सबै सुतिरहेका थिए । माम्तिमा खोलाले बस जान नसक्ने भयो । सबै निदाए । विहान ४ बजे आशा उठेर पिसाब फेर्न निस्किईन् । धेरै बेर उनि आईनन् पनि । बस मालिक सन्तोषी राई पनि सिटमै निदाईरहनु भएको थियो । केहि क्षणमा हल्लाखल्ला हुन थाल्यो । आशा बसमा बसिसक्नु भएको थियो । तर बाटो माथी बच्चा थियो । कारमा सवार यात्रुहरुले बच्चाका बारेमा सोधखोज गरे । सालनाल काटे । दुध चुसाउन थाले । केहि क्षण पछि मात्रै थाहा भयो आशाले पिसाव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छाडेर बसमा आएर बसेकी रहिछन् । 
    प्रहरीलाई खबर भयो । रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई पनि खबर भयो । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बच्चा र आमाको स्वास्थ्य परिक्षण गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याउन टोली पठाउनु भयो । सडकमा बच्चा आशालाई नचाहिने हो भने हामी लैजान्छौ भन्नेहरु थुप्रै तयार भए । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले उद्धार सँगै मंगलटार स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरी लैजान सहजीकरण गर्नु भयो । बस मालिक सन्तोषी राईले आमा र बच्चा दुबैको स्वास्थ्यमा ख्याल पु¥याउनु भयो । सडकमै सुत्केरी भएकी आशा अस्पतालमा उपचारार्थ हुनुहुन्छ । प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ । सडक बन्द हुँदा सडकमै बच्चा जन्माएकी आशा काठमाडौ पुगेर के गर्नुहुन्थ्यो ? अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दियो ।