– एक वर्षमा विपद्बाट ३५ ले ज्यान गुमाए
– ४१८९ घर परिवार जोखिममा
मोतीराम तिमल्सिना
बनेपा
मनसुन पूर्व विपद्को पूर्व तयारी गरिएको छ । विगत वर्षमा भएको विपद्को आधारमा यो वर्ष धेरै पानी पर्ने अनुमान सहितको तयारी गरिएको छ । गतवर्ष बाढी पहिरोबाट तीन, आगलागीबाट तीन, करेन्ट, चट्याङ्ग, पानीमा डुबेर र दुर्घटनाबाट निधन हुनेहरुको संख्या ३५ पुगेको छ । विपद्मा सयांै घाईते, विस्थापित हुँदै करोडौंको क्षति पुगेको छ । हरेक वर्ष हुने आगलागी, पौडी खेल्ने क्रममा डुबेर निधन हुने र बाढी पहिरोबाट क्षति हुने क्रम रोकिएको छैन ।
वर्षायाममा बाढी पहिरोलाई प्रमुख जोखिमका रुपमा लिईएको छ । वर्षायाममा नदी तथा खोला किनार र डोजरबाट खनिएको सडकहरुमा प्रायः बाढी तथा पहिरो जाने साथै अन्य ग्रामीण स्थानहरुमा मुख्य जोखिम क्षेत्र पहिचान गरिएको छ । नदी तथा खोला किनार वरपरका वस्तीहरु बाढीले बगाउने, डुबाउने तथा खोलानाला तर्ने क्रममा मानिस बगाउने, बाढी तथा पहिरो गई सडक अवरुद्ध हुनसक्ने सम्भावना छ । अवैद्य संचालन भएका क्रसर तथा मापदण्ड विपरीत सञ्चालन भएका क्रसरहरुका कारण जान सक्ने पहिरो र खोलाका कारण तल्लो तहको बस्तिमा जोखिम बढेको छ । (कहाँ कहाँ छन् जोखिम ? चार्टमा हेर्नुहोला)
बाढी पहिरो सँगै वर्षायाममा चट्याङ्ग अर्काे जोखिमसँगै विपद् हो । वर्षेनी चट्याङबाट मानिस लगायत चौपायाँहरुको मृत्युका घटनाहरु हुने गरेका छन । चट्याङ्गका कारण हुने क्षति न्यूनिकरणका लागि कुनै प्रयास भएको छैन । वर्षात्का कारण सडक अवरुद्ध तथा सडक दुर्घटना हुने सम्भावना छ । मुख्य राजमार्ग अरनिको तथा विपी राजमार्ग बाहेक जिल्लाका मुख्य तथा सहायक सडक खण्डहरु अवरुद्ध हुने सम्भावना हुन्छ । साथै ग्रामिण सडकहरु बर्षाको कारण वन्द हुने तथा सडक दुर्घटना जस्ता कारणबाट सडक अवरुद्ध हुन सक्ने भएकोले श्रोत साधन सहित स्थानिय स्तरमा तालीम प्राप्त व्यक्ति सहित सुरक्षा निकायहरु प्रथम प्रतिकार्यकर्ताको रुपमा विपद् प्रभावित क्षेत्रमा परिचालित हुने, आवश्यक परेमा सवारी साधन डोजर, क्रेन आदी सरकारी कार्यालयहरुमा रहेका एवं यातायात व्यवसायी र निर्माण व्यवसायी संघ मार्फत सहयोग लिइने तयारी गरिएको छ । घटनास्थलको प्रकृति हेरी घाइतेहरुको उद्धारका लागी सडक सुचारु गर्ने कार्यलाई प्राथमिकताका साथ तिव्रता दिइने पूर्व तयारी गरिएको छ ।
सरुवा रोग तथा महामारी फैलन नदिन पहाडी भू–भागमा बसोबास गर्ने स्थानीय जनतामा चेतनाको कमी, बाढीको समयमा खानेपानीका श्रोतमा समेत बाढी पस्ने भएकोले वर्षात्को समयमा बाढीको उच्च जोखिमयुक्त क्षेत्रमा कुनैपनि स्थानमा सरुवा रोगहरु महामारीको रुपमा भित्रन सक्ने हुन्छ । बाढीका कारण द्धितिय विपद्को रुपमा हुन सुक्ने विपद्लाई न्यूनीकरण गर्न सुरक्षा निकाय सहित स्थानिय तह र जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाई शुरुमै रोगहरु नियन्त्रण गरी महामारी फैलन नदिने आवश्यक उपायहरुका बारेमा तयारी गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण यस जिल्लामा जनघनत्व बढी भएका धुलिखेल, बनेपा, पनौती नगरपालिका प्रमुख जोखिमयुक्त क्षेत्र रहेका छन् भने अन्य पालिकाहरुमा समेत संक्रमण फैलने सक्ने संभावना रहेको देखिन्छ । रोकथाम, नियन्त्रण तथा उपचारको लागि जिल्ला तथा स्थानीय तहमा गठित समितिहरुको समन्वयमा कोरोना भाइरसबाट बच्ने सुरुक्षाका मापदण्डको सम्बन्धमा जानकारी तथा सुचना प्रवाह स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सुरक्षित परिचालन क्वारेन्टाइन तथा आइसोलेसनको प्रबन्ध, पिआरटी, आरआरटीको यवस्था, कन्ट्रयाक्ट ट्रेसिङ्ग, संक्रमित स्थानको पहिचान गरि एरिया शिल गर्ने तयारी गरिएको छ ।
मनसुनजन्य प्रकोप तथा कोरोना भाइरसको संक्रमणको प्रबृतिलाई मध्यनजर गरी जिल्ला विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना २०७७ बमोजिम जिल्ला विपद व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले मनसुन पूर्वतयारी कार्ययोजना २०७८ लाई कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेको छ । तीन तहको विपद पुर्व योजना तयारी गरी जिल्लाका सबै स्थानमा रोकथाम, उद्धार र उपचार गर्ने योजना बनाईएको छ । जिल्लाको महाभारत, खानीखोल, चौरीदेउराली, वेथानचोक, रोशी गाउँपालिकाको भु–भागमा मनसुनको समयमा सजिलै आवत जावत गर्न सक्ने अबस्था नहुनु, समुदायस्तरमा जनचेतनाको कमी रहनु, खोज तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा सामाग्रीहरु न्यून हुनु, पक्कि नयाँ कच्ची सडकमा बाढी पहिरोको कारण कटान भई अबरुद्ध, मनसुन सुरुहुनु पुर्ब नै विकास निर्माणको कार्य सम्पर्क हुन नसक्नु, बाटोको कारण बारुण यन्त्र, एम्बुलेन्स आदी सवै क्षेत्रमा पुग्न नसक्नु जस्ता चुनौती रहेकाले विपद ब्यवस्थापनमा संकट देखिएको छ ।
२०७७ बैशाख देखि चैत्रसम्म भएका विपद्
बाढी पहिरोमा तीनको निधन
वर्षायाममा हुने अविरल वर्षाका कारणबाट जिल्लाको बनेपा, मण्डनदेउपुर, भुम्लु, रोशी, तेमाल, महाभारत, बेथानचोक, खानीखोला र चौरीदेउराली गाँउपालिकाहरु प्रभावित भएका छन् । बाढी तथा पहिरोबाट बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिकाहरुमा तीन जना घाईते, तीन जनाको मानवीय क्षति (मृत्यु) भएको छ । बाढी पहिरोको कारणले बेथानचोक गाउँपालिकामा गोठ ४ वटा, रोशी गा.पा. वडा नम्वर ३ र ४ मा ४ घर, बनेपा, मण्डनदेउपुर तथा पनौती नगरपालिकामा समेत गरि ३२ घर पूर्णरुपमा क्षति भएको छ । ४ सय ५ घर परिवार प्रभावित भएका छन् भने १३ चौपायाहरु, ३ सयवटा कुखुराहरु, १३ हजार ५ सय बराबरको सार्वजनिक क्षति, कुल १ करोठ ४३ लाख ८३ लाख बराबरको कृषि उपज, खानेपानी, पुलपुलेसा, सडक, शिक्षा लगायतका क्षेत्रमा समेत क्षति भएको छ ।
आगलागीबाट तीनको मृत्यु
सुख्खा मौसममा आगलागीको प्रकोप जिल्लाको अर्काे समस्या बनेको छ । जनचेतनाको कमी, बारी तथा ख¥यानको झ्यास (घु¥यान) डढाउने क्रममा जंगलमा आगो लगाउने, सलाई, चुरोट, बिँडी जस्ता प्रज्वलनशील पदार्थहरुको लापरवाही प्रयोग, करेण्ट सटको कारणले फाल्गुण देखि जेष्ठसम्म आगलागीका घटनाहरु हुने गरेका छन् । कहिलेकाहिँ राम्रो घाँस र मलको आशमा जानी बुझी आगो लगाई दिने गतिविधिहरु समेत हुने गरेको छ । यसबर्ष १३ वटै स्थानीय तहमा भएका आगलागीको कारणबाट २ सय ३३ घर परिवार पीडितका साथ सामुदायिक जंगलहरु नष्ट भएका छन । जसमध्ये ३ जना मानिसको मृत्यु, ७ जना घाईते, चौपायाँहरु १४ घाईते, ४४ मृत्यु र २ सय ५० वटा कुखुरा मृत्यु भएको छ भने ३३ कच्ची घर, गोठ ४ र ३ टहरा, सामुदायिक वन २ हजार ६ सय ५८ रोपनी क्षति भएको छ । आगलागीबाट २ करोड ६५ लाख ९३ हजार ४ सय बराबरको धन सम्पति क्षति भएको छ ।
विभिन्न घटनामा २९ को निधन
जिल्लामा करेण्ट, हावाहुरी, चट्याङ्गको जोखिम छ । करेण्टको कारण जिल्लामा ३ जना घाईते २ जनाको मृत्यु भएको छ भने चट्याङ्गबाट २ जनाको मृत्यु भएको छ । एक जना घाईते छन् भने ११ घर परिवार प्रभावित भएका छन् । वन्यजन्तुबाट ६ चौपायाको मृत्यु, ९५ हजार बराबरको क्षति, १४ घर परिवार प्रभावित भएका छन् भने पानीमा डुबेर १ जना घाईते, १२ जनाको मृत्यु भएको छ । बिपी तथा अरनिको राजमार्गमा हुने सवारीको चापले सडक दुर्घटना भई मृत्यु तथा घाईते हुने क्रम बृद्धि भएको पाइन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत वर्ष जिल्लामा बार्षिक रुपमा सवारी दुर्घटनामा घाईतेहरुको संख्या २ सय ७५ जना र सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ रहेको छ ।





