2026 July 07/ 05:58: 06am

धुलिखेलमा विरामी र स्वास्थ्यकर्मीलाई दुध र दुग्धजन्य सामाग्री
    धुलिखेल अस्पतालमा कोरोना संक्रमित विरामी र स्वास्थ्यकर्मीहरुका लागि प्रदेश दुग्ध विकास बोर्ड र भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा दुग्ध र दुग्धजन्य पदार्थ वितरण गरिएको छ । त्यस्तै पनौती नगरपालिकाले कृषक तथा दुग्ध संकलक केन्द्रहरुलाई अनुदानमा सामाग्री उपलब्ध गराएको छ । 
    विश्व दुग्ध दिवसको अवसर पारी जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको छ । दुग्ध तथा दुग्धजन्य पदार्थको नियमित सेवन, कोरोना भाईरस विरुद्ध दीर्घ जीवन भन्ने नारा तय भए पछि जिल्लामा कोरोना भाईरसबाट संक्रमितहरुका लागि दुग्ध र दुग्धजन्य पदार्थ उपलब्ध गराउन उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष टिकाबल्धव सापकोटाले बताउनु भयो । ‘दुग्ध ब्यक्तिको शरिरमा सबै खालका रोगहरुसँग लड्न सक्ने शक्ति भएको पदार्थ हो, यसको नियमित सेवन जरुरी छ, विश्वभर फैलिएको महामारीमा विश्वले यसलाई आत्मसाथ गरेको छ’–प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष टिकावल्धब सापकोटाले भन्नुभयो–‘विश्व दुग्ध दिवसको अवसर पारी प्रदेश अन्र्तगतका केहि अस्पतालमा रहेका कोरोना संक्रमित विरामी तथा विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि दुग्ध र दुग्धजन्य पदार्थ उपलब्ध गराएका हौं ।’
    धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिका वडा नम्वर २ मा रहेको सेतिदेवी दुग्ध उत्पादक सहकारी समेतको समन्वयमा ४ सय लिटर फ्रेस दुग्ध, ४० केजी घिउ, ४० केजी पनिर, २० केजी चिज, १ सय बट्टा पेडा र १ सय बट्टा रसगुल्ला उपलब्ध गराईएको थियो । त्यसको अलावा भेटिरिनरी अस्पताल मार्फत १ सय लिटर फ्रेस दुग्ध अस्पताल र धुलिखेल नगरपालिकाको सञ्जिवनीमा क्वारेन्टाईनमा रहेका संक्रमित विरामीहरुका लागि उपलब्ध गराईएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. मोगोलप्रसाद शाहले बताउनु भयो । ‘दुग्धको नियमित सेवनले कोरोना भाईरस नियन्त्रणमा सहयोग पुग्छ’–उहाँले भन्नुभयो–‘हरेक दिन प्रत्येक ब्यक्तिले २ सय ५० एमएल दुग्ध सेवन गर्नु आवश्यक छ । विश्वले दुग्धको नियमित सेवनका लागि हरेक नागरिकहरुलाई प्रोत्साहन गरेको छ ।’ 
    सोहि कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल अस्पतालका निर्देशक रमेश माकजु, नेपाली सेना कालीजंग गणका गणपति मिलन थापा, डिएस्पी हरि खतिवडा, प्रदेश दुग्ध विकास बोर्डका सुमन कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा धुलिखेल अस्पतालका निर्देशक रमेश माकजुले विपत्तिबाट संकट भए पनि धेरै कुराको अनुभव भएको बताउनु भयो । अस्पतालले भेन्टिलेटर, आईसियु, सामान्य वार्ड तथा जनशक्तिको थप ब्यवस्थापन गर्ने उहाँले बताउनु भयो । ट्रमा लगायतको सुविधा हुन नसक्दा धेरै नागरिकको ज्यान जाने गरेको बताउँदै उहाँले अस्पतालले विपत्तिमा धेरै कुराको अनुभव सहितको अभाव भएकाले त्यसलाई पुर्ति गर्न हरेक क्षेत्रको सहयोग रहेकाले धन्यवाद ब्यक्त गर्नु भयो । विरामीको उपचारसँगै स्वस्थ खाना र वातावरण आवश्यक भएकाले अस्पतालले त्यस्तो विषयमा सम्झौता नगर्ने उहाँले बताउनु भयो ।