2026 July 07/ 05:58: 06am

एक वर्षमा काभ्रेबाट २,८६४ को श्रम स्विकृति
    धुलिखेल/बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सूचीमा काभ्रेपलाञ्चोक जिल्ला २२ औ स्थानमा पर्छ । बैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७६/०७७ को एक वर्षको अवधीमा श्रम स्विकृति लिनेहरुको संख्या २ हजार ८ सय ६४ रहेको छ । कोभिड १९ को संक्रमण पछि बैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आएको छ । 
    विश्व भरी फैलिएको कोभिड १९ को महामारी पछि बैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपाल फर्कने क्रम बढ्यो । पहिलो चरणमा फैलिएको संक्रमणका कारण नेपाल सरकारले २०७६ चैत्र ९ गते देखि गरेको बन्दाबन्दी पछि विभिन्न देशबाट नेपाल फर्केका व्यक्तिहरुको प्रारम्भिक विवरण नेपाल सरकारले संचालन गरेको सामी परियोजनाले राखेको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिकामा संचालन भएको उक्त परियोजनाको तथ्याङ्क अनुसार धुलिखेल नगरपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ६२, भारतबाट ३१ गरी ९३ जना फर्किएका छन् । मण्डनदेउपुर नगरपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ६४ र भारतबाट ४५ गरी १ सय ९ जना, भुम्लुगाउँपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ३५ र भारतबाट ११ गरी ४६ जना, रोशी गाउँपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ८३ र भारतबाट ३६ गरी १ सय १९ जना नेपाल फर्किएको सिविक फोरमका परियोजना संयोजक बसन्त कुँवरले जानकारी दिनु भयो । सिविक फोरमले सामी परियोजना संचालन गरिरहेको छ । चारवटा पालिकामा मात्रै झण्डै चार सय सर्वसाधारण फर्किएका छन् । कोभिडले नेपालमा मात्रै हैन बैदेशिक रोजगारीको क्षेत्रमा पनि रोजगार गुमेको सर्वसाधारणले बताएका छन् । 
    जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारको लागि संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत २ हजार १ सय २५ र ७ सय ३९ महिला गरी २ हजार ८ सय ६४ जनाले श्रम स्विकृति लिएका थिए । त्यस्तै व्यक्तिगत रुपमा १ सय ५६ पुरुष र ७५ महिला गरी २ सय ३१ जनाले श्रम स्विकृति लिएको तथ्याङ्क रहेको बैदेशिक रोजगार विभागले जानकारी दिएको छ । सामी परियोजनाको कार्य क्षेत्र रहेको ३९ जिल्लाको बैदेशिक रोजगारीमा जाने जिल्लागत विवरणमा काभ्रेपलाञ्चोक जिल्ला २२ औं स्थानमा छ । कोभिड १९ को महामारीको समयमा परियोजनाले सवै रिटर्नी स्वयंसेवकहरु र कर्मचारीहरुले सरोकारवाला निकायहरुसँग फोन, ईमेल तथा अन्य विद्युतिय माध्यमको प्रयोग गरि निरन्तर सम्पर्कमा रही अवस्थाका बारेमा जानकारी राखिरहेको परियोजना संयोजक कुँवरले बताउनु भयो । आप्रवासी श्रोत केन्द्रको सूचना तथा परामर्शकर्ताहरुले आलोपालो रुपमा आप्रवासी श्रोत केन्द्रमा उपस्थित भई आवश्यकतानुसार फोन, ईमेल तथा अन्य विद्युतिय माध्यमको प्रयोग गरि सरोकारवाला निकायहरुसँग निरन्तर सम्पर्क र समन्वयमा रही आवश्यक सेवा प्रदान एवं सहजिकरण गरिरहेको छ । प्रत्येक आईतवार सवै रिटर्नी स्वयंसेवकहरु र कर्मचारीहरुलाई परियोजना संयोजक एवं प्रशासनबाट टेलिफोनको माध्यमले सम्पर्क गरी साप्ताहिक अपडेटहरु लिने–दिने र आवश्यक सुझाव र सल्लाह आदान–प्रदान भइरहेको, ४ वटै स्थानीय तहहरुको सामी परियोजना फोकल पर्सनसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको एवं प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय तह प्रमुख एवं उपप्रमुखहरुसँग आवश्यकता अनुसार सम्पर्क र समन्वयमा रहेको कुँवरले बताउनु भयो । 
विश्वव्यापी महामारी रुप लिईरहेको र नेपालमा पनि महामारीको रुपमा संक्रमण फैलिरहेको कोभिड १९ को कारण परियोजनाको क्रियाकलापहरु कार्यान्वयन निरन्तर रुपमा अघि बढाउन कठिन भएको कुँवरले बताउनु भयो । ४ वटै स्थानीय तहहरुमा बैदेशिक रोजगारीबाट विप्रेषण प्राप्त गर्ने परिवारका विशेष गरी महिला सदस्यहरुलाई समेटी गठन गरेको वित्तिय साक्षरता समुहका सदस्यहरुलाई साप्ताहिक २ घण्टा संचालन भइरहेको बित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागीहरुको उपस्थिति नियमित नभएको उहाँले बताउनु भयो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालद्धारा आयोजना गरेको टेलिफोनको माध्यमबाट प्रदान गर्ने मनोबैज्ञानिक प्राथमिक सहयोग भर्चुअल अभिमुखीकरण कार्यक्रममा परियोजना संयोजक र मनोसामाजिक परामर्शकर्ताहरुको सहभागिता रहेको छ । विकास आयोजना सेवा केन्द्र नेपालद्धारा आयोजना गरेको वित्तिय साक्षरता कक्षा संचालन पुर्नताजगी तालिममा वित्तिय साक्षरता सहजकर्ताहरुको सहभागिता, वित्तिय साक्षरता समुहका सहभागीहरुलाई वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन भइरहेको हप्तामा वित्तिय साक्षरता सहजकर्ताले सहभागीहरुसँग टेलिफोनको माध्यमले कुराकानी गरिरहेको, मनोसामाजिक परामर्शकर्ताहरुले केश फाईल तयार गरी नियमित मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको सेवाग्राहीहरुसँग टेलिफोनबाट फलोअप गरिरहेको,सामी र हेल्भेटासको कार्यक्रम अधिकृतसँग निरन्तर फोन, ईमेल तथा अन्य विद्युतिय माध्यमको प्रयोग गरि सम्पर्कमा रही आवश्यक अपडेटहरु लिने–दिने र आवश्यक सुझाव र सल्लाह आदान–प्रदान भइरहेको कुँवरले बताउनु भयो ।